ताजा अपडेट »

आदिवासी दिवसको सप्ताहव्यापी कार्यक्रममा हाफ म्याराथन सम्पन्न

सोमबार, २० साउन २०७६

साउन २०,

बुटवल । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् रुपन्देहीले २५ औं विश्व आदिवासी दिवस विविध कार्यक्रम सहित सप्ताहव्यापी रुपमा मनाउने क्रममा (आज) सोमबार बुटवलमा हाफ म्याराथन दौडको आयोजना गरिएको छ ।

१० किलोमिटर दुरीको हाफ म्याराथनमा गोर्खा एकेडेमिका सुरज परियार प्रथम भएका छन् । परियारले ड्राइभरटोलदेखि बुटवल आदर्शनगर स्थित थकाली सेवा समाजको हलसम्मको निर्धारित १० कि.मि. दुरी २९ मिनेट ३० सेकेण्डमा पुरा गरेर प्रथम भएका हुन् । यसैगरि अर्का धावक तिलोत्तमा-१५ का किरण पुनले निर्धारित दुरी २९ मिनेट ५५ सेकेण्डमा पुरा गरि दोश्रो हुँदा गोर्खा ऐकेडेमीकै दुर्गा बहादुर गाहाले निर्धारित दुरी ३० मिनेट ५ सेकेण्डमा पुरा गरि तेस्रो हुन सफल भए । युवा धावक दीपक क्षेत्रीले ३० मिनेट १५ सेकेण्डमा दुरी पार गर्दै सान्त्वना भए । प्रथम, द्वित्तिय र तृतिय हुनेले क्रमश ५ हजार, ३ हजार र २ हजार नगद सहित प्रमाण पत्र र मेडल पाउने छन् । विजेता खेलाडिहरुलाई साउन २४ गते रजत मूल समारोहमा पुरस्कार प्रदान गरिने म्याराथन दौड्का संयोजक चित्रलाल तुलाचनले जानकारी दिए ।

हाफ म्याराथनमा २ सय धावकहरु सहभागी भएका थिए । दिवसकै अवसरमा महासंघले लुम्विनी प्रादेशीक अस्पताल बुटवल, भीम अस्पताल भैरहवा, जेनस अस्पताल बुटवलमा बिरामीहरुलाई फलफूल वितरण, विद्यालयस्तरमा चित्रकला प्रतियोगिता समेत आयोजना गरिएको अध्यक्ष शंकर गाहाले जानकारी दिए । हरेक अगष्ट ९ लाई विश्वभरका आदिवासी जनजाति समुदायले विश्व आदिवासी दिवसको रुपमा मनाउँदै आइरहेका छन् । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् रुपन्देहीले यहि साउन २४ गते बुटवल मण्डप बुटवलमा मूल समारोहको आयोजना गरेर रजत दिवस मनाउँने तय भएको महासंघका जिल्ला सहसचिव इन्द्र राइले जानकारी दिए ।