भैरहवा । केही दिन पहिला बुटवलको राजमार्ग क्षेत्रमा तेस्रोलिङ्गी यौनकर्मीको एक भिडियो बाहिर आयो । बुटवलमा रात्रिकालीन समयमा सडकमा यौन पेशामा लागेका तेस्रोलिङ्गीहरूको समस्यामा आधारित भिडियोमा प्रहरी पनि देखिएका थिए । भिडियो सार्वजनिक भए सँगै अहिले बुटवलमा यौन पेशामा लागेका तेस्रोलिङ्गीलाई प्रहरीले धपाउन सुरु गरेको छ ।
यौनपेशामा लागेकी तेस्रोलिङ्गी महिला “क” (परिवर्तित नाम) ले कोभिडको समयमा काम पनि गर्न नपाएको र कुनै निकायबाट राहत पनि नपाएको गुनासो गरिन । “बल्ल बल्ल ज्यान जोगाए अहिले केही सहज हुँदा पनि प्रहरीले काम गर्न दिएको छैन ।” उनले भनिन्
समाजको मूलधारमा अझै पनि आउन नसकेका कतिपय तेस्रोलिङ्गी महिलाहरू यौनकर्म गरेर नै आफ्नो र परिवारको गुजारा चलाई रहेका थिए । कोभिड–१९ को मारमा परेका यो समुदायको यौनपेशा त्यसै पनि धरापमा परेको थियो, अहिले प्रहरीले बाटोमा बस्नै नदिए पछि थप समस्या आएको उनिहरुको गुनासो छ । ओपन सोसाइटी फाउण्डेसन अन्तर्गत एक्लोलाई सहारा दिने बृक्ष समूह कार्यक्रम संयोजक एवम् मानवअधिकारकर्मी रेशमा न्यौपानेको भनाई छ । “यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरू अरु काम गर्नै जान्दैनन् भनेको हैन, तर समाजमा अझै पनि समावेशी तरिकाले काम गर्ने वातावरण छैन त्यहि भएर पनि कतिपय तेस्रोलिङ्गी रोजाइ बनेको छ यौन पेशा ।” भैरहवामा आयोजित एक कार्यक्रममा न्यौपानेले भने ।
यौनिक तथा लैङ्गिक अल्पसंख्याकहरुलाई अहिले पनि गाँस, बास, कपासको साथै शिक्षा र रोजगारीकै समस्या रहेको छ । कोभिडको समयमा रोजगारीको अभाव हुदा कतिपय यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदाय डिप्रेशनमा गएको र आत्महत्याको प्रयास समेत गरेको उनले बताए । नेपालभरिमा १४ जनाले आत्महत्याको प्रयास गरे । रुपन्देहीमा पनि बैकल्पिक पेशा नभएकै कारण २ जनाले आत्महत्याको प्रयास गरे पनि उनिहरुलाई जेनतेन जोगाईएको थियो ।
रुपन्देहीमा ४७ जना तेश्रोलिङ्गी महिला यौनकर्मि रहेको रहेको न्यौपानेको भनाई छ । उनिहरु रहरले भन्दा पनि बाध्यताले पेशामा लागे पनि पुरुष तेश्रोलिङ्गीको हकमा त्यो सुविधा पनि नरहेको न्यौपानेको भनाई छ । “हामीहरु पनि सामान्य महिला र पुरुषहरु जस्तै काम गरेर खान चाहान्छौ, तर हाम्रो सामाजिक संरचना अझै पनि समावेशी छैन । अझै पनि कतिपय रोजगारदाताले तेश्रोलिङ्गीलाई रोजगारी दिन लाज मान्ने गरेका छन् ।” न्यौपानेले भने ।
मंगलबार भैरहवामा आयोजित “यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको वर्तमान अवश्था र कोभिड–१९ को समयमा भोग्नु परेको चुनौती र समस्या” कार्यक्रममा बोल्दै न्यौपानेले कोभिडको महामारीमा नागरिकता नभएकै कारण सिद्धार्थनगर नगर पालिकाले उनिहरुलाइ राहत सामाग्री नदिएको गुनासो गरे । “नगरपालिकाले ३५ हजार बराबरको राहत सामाग्री बाड्यो यो पालिकाको प्रंशसनिय कार्य हो तर कतिपय नागरिकता नभएकै कारण राहत पाएनन्, यो कति सम्मको उचित हो ?” उनले भने । भैरहवालाई कार्यक्षेत्र बनाएर धेरै जना यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरु रहेको र सबैलाई पालिकाले समान व्यवहार गरि दिनु पर्ने उनको धारणा छ ।
यस्तै तथ्यांकमा पनि सरकारले तेश्रोलिङ्गीलाई बिभेद गरेको तेश्रोलिङ्गी पुरुष बिनोद बिसिको गुनासो छ । सरकारले कोभिड संक्रमितको बारेमा जानकारी दिदा महिला यति र पुरुष यतिजना भनेर तथ्यांक दिई रहदा तेश्रोलिङ्गी कतिजना संक्रमित भएको भन्ने तथ्यांक लुकाएको उनले आरोप लगाए । “रुपन्देहीमा मात्रै ४ जना तेश्रोलिङ्गीहरु संक्रमित भए तर उनिहरुको तथ्यांक कतै आएन, यस बिषयमा सञ्चारकर्मिले पनि कतै सोधखोज गरिदिएनन् ।” बिनोदले गुनासो पोखे ।
यस्तै एक्लोलाई सहारा दिने बृक्ष समूहका अनुगमन तथा मूल्यांकन संयोजक टिकाराम भुसालका अनुसार सरकारले यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुको बारेमा कानुनमा उल्लेख गरे पनि ब्यवहारमा लागु गरेको छैन । “सरकारले यस्ता समुदायको बारेमा कानुनमा उल्लेख त गरेको छ तर कार्यान्वयन चाहि गर्दैन, समलिङ्गी विवाहको मान्यता नदिई भेदभाव कायम राखेको छ ।”उनले भने । यसले गर्दा यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुलाई समाजको मुलधारमा ल्याउन सर्वप्रथम अन्य नागरिक झै उनिहरुको गाँस, बास, कपास, शिक्षा र रोजगारीको उचित प्रवन्ध गर्नु पर्ने उनिहरुको भनाई थियो । रुपन्देहीमा ८ देखी १० हजार जना यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदाय रहेका छन् ।
प्रतिक्रिया