माघ ११,
आज शुक्रबार बस्न लागेको प्रतिनिधिसभा बैठकमा मुठभेडको सम्भावना देखिएको छ । आजको बैठकमा चिकित्सा शिक्षा विधेयक प्रस्तुत गर्ने एक मात्र कार्यसूची रहेको छ ।
सोमबार र मंगलबारका ५ बैठक प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका कारण कार्यसूची प्रस्तुत हुन नपाई स्थगित भएपछि शुक्रबार दिउँसो १ बजेका लागि अर्को बैठक आह्वान भएको होे । आजको बैठकमा सत्तापक्षले जसरी पनि विधेयक प्रस्तुत गर्ने रणनीति लिएको छ । नेकपा नेता योगेश भट्टराईले कांग्रेसले बैठक अवरोध गरी मन्त्रीलाई रोस्ट्रममा जान नदिए मन्त्री बसेकै स्थानबाट विधयेक प्रस्तुत गरिने बताएका छन् । सरकारका प्रबक्ता तथा सूचना तथा संचार मन्त्री गोकुल बास्कोटाले पनि बिधेयक फिर्ता नहुने र संसदीय प्रक्रियाबाट पास हुने स्पष्ट पारेका छन् ।
तर कांग्रेस जुनसुकै हालतमा विधयेक रोक्ने योजनामा छ । आफ्ना पूर्वसभापतिहरू गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा रहेका अस्पताल संघीय सरकार मातहत गठन आदेश नदिएसम्म संसद अवरुद्ध गर्ने कांग्रेसको रणनीति छ । सभामुख कृष्णबहादुर महराको भूमिका पार्टी नेताकोजस्तो भएकाले माफी नमागेसम्म संसद चल्न नदिने अर्को अडान पनि कांग्रेसले थपेको छ ।
कांग्रेस युवा नेता गगन थापाले सभामुखको भूमिका तटस्थ र सरकार जिम्मेवार नभए संसद् बैठकमा मुठभेड हुन सक्ने बताएका छन् । अस्तिको अवस्था दोहोरिन नदिन सभामुखले बैठक सुरु हुनुअघि बिपक्षीलाई आश्वस्त पार्नु पर्ने बताएका छन ।
मुठभेडको तयारीलाई मध्यनजर गर्दै संसद् सचिवालयले शुक्रबारको बैठकमा मर्यादापालकसमेत थपेको छ । हाल एक सय ३१ मर्यादापालक रहेकामा ३०० जना थप्ने भएको हो । आवश्यक परे रोस्ट्रमअघि मर्यादापालकको डबल रो राख्ने तयारी छ । कांग्रेस सांसद ६३ जना रहेका छन् ।
प्रतिक्रिया