ताजा अपडेट »

बिन लादेनका छोरा हम्जाको मृत्यु भएको अमेरिकाको दाबी

विहीबार, १६ साउन २०७६

साउन १६,
काठमाण्डौं । अल कायदाका संस्थापक ओसामा बिन लादेनका छोरा हम्जा बिन लादेनको मृत्यु भएको अमेरिकी गुप्तचर अधिकारीहरुले दाबी गरेका छन्।

अमेरिकाले हम्जा बसेको स्थानबारे जानकारी दिनेलाई १० लाख डलर पुरस्कार दिने समेत घोषणा गरेको थियो। साउदी नागरिक हम्जाको नागरिकता गत मार्चमा खोसिएको थियो। ओसामा बिन लादेनको मृत्युपछि हम्जाले अमेरिका र उसका सहयोगी देशहरुमा आक्रमण गर्न आह्वान गर्दै भिडियो र अडियो सन्देश सार्वजनिक गर्ने गरेका थिए। सन् २०११ मा पाकिस्तानमा रहेका ओसामा बिन लादेन अमेरिकी विशेष सुरक्षा टोलीको सैन्य अपरेसनमा मारिएपछि हम्जाले जिहादीहरुलाई उनको बुवाको हत्याको बदलास्वरुप आक्रमण गर्न आह्वान गरेका थिए।

हम्जाको मृत्युबारे अमेरिकी राष्ट्रपतिसँग प्रश्न गर्दा उनले केही टिप्पणी गरेनन्। ह्वाइट हाउसका सल्लाहकारले पनि यसबारे केही बोलेका छैनन्। ओसामाको पतनपछि हम्जालाई नै धेरैले अल कायदाको उत्तराधिकारीका रुपमा लिने गरेका थिए। हम्जा इरानमा नजरबन्दमा रहेको हल्ला चले पनि उनी अफगानिस्तान, पाकिस्तान वा सिरियामा रहेको आशंका गरिएको थियो।