गुल्मी । ‘अस्पताल भित्र हामीलाई भेट्न जान नदिई पनि बुवाले अस्ती म्यासेन्जर चलाउन सक्ने बेलासम्म डाक्टरलाई भन्नु अब जिल्ला फर्किनु पर्यो भनेर लेख्नु भएको थियो ।’ हिजो काठमाण्डौंमा निधन भई आज गुल्मीमा शव लिएर आइपुगेका गुल्मीकोगुल्मीदरवार गाउँपालिका अध्यक्ष अशोक कुमार थापाका जेठा छोरा सरोजकुमार थापाले भने ।
छोरा थापाका अनुसार गुल्मीदरबार गाउँपालिका अध्यक्ष अशोककुृमार थापा गत चैत्र २७ गते फोक्सो र दमको बिमारीले ग्रस्त भई उपचारका लागि काठमाण्डौं हिँडेका थिए । त्यहाँ पुगेपछि प्रहरी अस्पतालमा भर्ना गरिएको थियो । त्यस अस्पतालमा ३७ दिनपछि स्वास्थ्य अवस्था ठिक भएर काठमाणडौं स्थित छोराको घरमा फर्केका अध्यक्ष थापाले गाउँपालिकामा आफ्नो जिम्मेवारी प्रतिको चिन्ताले पटक–पटक जिल्ला फर्किने कुरा गर्दै आएको छोरा सरोजकुमारले बताए ।
‘१० दिनअघि उहाँलाई फेरी निमोनियाँको समस्या आएपछि जावलाखेलमा रहेको ब्लड अस्पतलामा लगियो । उहाँ अँस्तीसम्म म्यासेन्जरमा म जिल्ला फर्किन्छु भन्नु भएको थियो मसँग,उहाँले बोल्न सक्ने बेलासम्म डाक्टरसँग पनि जिल्ला फर्किने कुरा गर्नु भएको रहेछ् । अस्तीदेखि उहाँलाई भ्यान्टिलेटरमा राख्न थालियो , त्यसपछि कुरै हुन सकेन ’–छोरा सरोज कुमारले भने । गुल्मीदरबार गाउँपालिकाको विकास निर्माण , जनताको समस्या र अपेक्षा सम्बोधन गर्न अध्यक्ष थापाले आर्थिक वर्ष २०७८÷०७९ को गाउँसभामा बजेट प्रस्तुत गर्न गाउँपालिका उपाध्यक्ष मिना भण्डारी र प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण पाण्डेसँग समन्व्य गरेको छोरा थापाले बताए ।उहाँले चौथो वर्षको गाउँसभा प्रत्यक्ष सम्बोधन गर्ने धोको राखेपनि स्वास्थ्य अवस्था गम्भीर बनेपछि आउन नसकेर भर्चूअल माध्यमद्वारा सम्वोधन गर्नु भएको थियो’– छोरा थापाले भने ।
स्वर्गिय थापाको शव नेपाली कांग्रेस गुल्मीको पार्टी कार्यालय तम्घासमा ल्याई आज श्रद्धाञ्जली अर्पण गरिएको थियो । श्रद्धाञ्जली सभामा नेपाली कांग्रेसका अलवा , अन्य राजनीतिक दल,संघ–संस्थाका प्रतिनिधि र विभिन्न गाउँपालिकाका जनप्रतिनिधिहरु पनि स्र्वगिय थापाप्रति श्रद्धाञ्जली अर्पण गर्न पुगेका थिए । नेपाली कांग्रेस गुल्मीका पार्टी सचिव खिलध्वज पन्थीका अनुसार साविक दरबार देविस्थान गाविस चारपालमा पिता गंगाबहादुर थापा र माता कर्मकुमारी थापाको कोखबाट थापाको २००४ साल असार १ गते जन्म भएको थियो । संयोग जन्मेको ७४ वर्ष पछिको असार महिनाकै अन्तिम दिन अर्थात ३१ मा निधन हुन पुगेको छ ।
उनी बाबु आमाका माइला छोरा हुन् । उनका दाजु यमबहादुर थापा , भाई ईन्द्रबहादुर थापा भएको सचिव पन्थीले बताए । स्वर्गिय थापाका चार छोराहरु सरोज, सन्तोष , सागर र शैलेश थापा हुन् । श्रीमतिको नाम तेजकुमारी थापा हो । सचिव पन्थीले भने –‘ स्वर्गिय थापा हामी सबैको अभिभावक हो । उहाँले नेपालको प्रजातान्त्रिक आन्दोलनमा ज्यानको प्रवाह नगरी निरन्तर लडिरहनु भयो । उहाँले नेपालको सामाजिक रुपान्तरणका लागि खेलेको भूमिकाप्रति नेपाली कांग्रेस गुल्मीले सधैव सम्मान गर्नेछ । ’
पार्टी सभापति भुवनप्रसाद श्रेष्ठले स्वर्गिय थापाका पिता र उहाँका भाई रणबहादुर थापाले २०१८ साल देखि नेपाली कांग्रेसले प्रजातन्त्र प्राप्तिका लागि सुरु गरेको क्रान्तिदेखि छोरा थापाले समेत पछिल्लो राजनैतिक परिवर्तन सम्म अथक योद्धाको भुमिका निभएको बताए । सभापति श्रेष्ठले भने–‘ उहाँ नेपालको प्रजान्त्रिक आन्दोलनको उहाँ एउटा अथक योद्धा हो । उहाँले निकै अफ्ठ्यारो र असहज परिस्थितिमा गुल्मीदरवार गाउँपालिकाको नेतृत्व सम्हालेर त्यहाँको विकास निर्माण कार्यलाई उचाईमा पुराउँदै आउनु भएको थियो , उहाँप्रति उच्च सम्मान प्रकट गर्दछौं र भावपुर्ण श्रद्धाञ्जली ब्यक्त गर्दछौ ।’
गुल्मीदरबार गाउँपालिकाका सबै दलका अगुवादेखि सर्वसाधरणसम्मले थापाको निधनले सिंङ्गो गाउँपालिकाले अभिभावक गुमाउनु परेको र उहाँको रित्तताले गाउँ सुनसान बनेको बताए । कांग्रेस सभापति श्रेष्ठका अनुसार थापा गुल्मी क्षेत्र नम्वर १ का क्षेत्रिय पार्टी सभापति थिए । साविक जिल्ला विकास समितिको ७ नम्वर ईलाका समिति सदस्य समेत थिए ।
स्वर्गिय थापाले गुल्मीको ऐतिहासिक चारपाला दरबारको पुनरनिर्माण गर्न अग्रणी भुमिका खेल्दै आएका थिए । गाउँपालिका अध्यक्षमा विजयी भए पछि त्यहाँको विकास निर्माणले फड्को मार्दै आएको थियो । उनले बिशेष गरि जनताको स्वस्थ्य सेवामा बिशेष जोड दिएका थिए । बिशेष गरि जेष्ठ नागरिक , गर्भवती महिला र विपन्न वर्गलाई स्वास्थ्यको पहुँच घर–घरमा पुराउन उनले निकै पहल गरेका थिए ।
‘उहाँका योजना पूरा भए , उद्घाटन अधुरै रह्यो’
गुल्मीदरबार गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण पाण्डेले गुल्मीदरबार गाउँपालिकालाई खरको छानामुक्त गाउँपालिका घोषणा गर्न उहाँ आत्तुर रहेको र अब छिट्टै घोषणा गर्ने बेलामा उहाँको निधन भएको बताए । ‘असार १० गते चौथो बर्षको आठौं गाउँसभालाई भर्चुअल माध्यमद्धारा सम्बोधन गर्नु भएको थियो । असार २४ गते कार्यपालिकाको बैठक उपाध्यक्ष मिना भण्डारीको अध्यक्षतमा बस्ने बेलामा पनि उहाँले विभिन्न बिषयमा हामीलाई नीति निदेर्शन दिनु भएको थियो’– पाण्डेले भने –असार २८ गते सम्म उहाँ हाम्रो नियमित सम्पर्कमा हुनुहुनुहुन्थ्यो र असार मशान्तको रकम भुक्तानीमा कमी कम्जोरी नहोस् भनेर चिन्ता प्रकट गर्नुहुन्थ्यो ।’
प्रमुख प्रशासकिय अधिकृत पाण्डेका अनुसार अध्यक्ष थापाले बिशेष गरि स्वास्थ्य कै क्षेत्रमा बढि जोड दिने गरेको , बालशिक्षा कार्यकर्ताहरुलाई सरकारले तोकेको न्युनतम पारिश्रमिक निर्धारण गर्न निर्देशन दिएको , वडा नम्वर–४ बिरबासको स्वास्थ्यचौकी भवन निर्माण कै चरणमा रहे पनि अन्य सबै वडाका स्वास्थ्य चौकी भवन सम्पन्न गरेको , १५ शैयाको अस्पताल निर्माणको काम सुरु गराएको , गाउँपालिकामा थुप्रै खानेपानी योजना सञ्चालन गरि ८० प्रतिशत जनताको घरमा एक घर एक धारा कार्यक्रम सम्पन्न भई सकेको , मोटरबाटो लगायतका पुर्वधार विकास पनि ८० प्रतिशत सम्पन्न गरेका भइसकेका छन् ।
अध्यक्ष थापाले ‘शिक्षक विद्यार्थीसंग गाउँपालिका’,‘बालबालिका र जेष्ठ नागरिक संग गाउँपालिका ’ जस्ता कार्यक्रम अगाडी सारेर शिक्षा र स्वास्थ्यमा सहज पहुँच पुर्याउन जोड गरेको पाण्डेको भनाई छ । स्वर्गिय अध्यक्ष थापा राजनीतिक रुपले मात्र नभई समाजसेवीको क्षेत्रमा समेत गुल्मीदरबार गाउँपालिकाका साझा अभिभावक र सबैका सम्मानित पात्र थिए । उनको स्वर्गरोहणले सिङ्गो गाउँपालिका शोकाकुल र सुनसान बनेको छ ।
उनको पार्थिव शरिमा नेपाली कांग्रेस गुल्मीका सभापति श्रेष्ठ , पुर्वसभापति सुरेशचन्द्र भुसाल, उपसभापति बिष्णुप्रसाद बलाल लगायतले पार्टीको चारतारे झण्डा ओढाएर सम्मान ब्यक्त गरे पछि गुल्मीदरबार गाउँपालिकाले केन्द्र रहेको स्थान गौडाकोटमा श्रद्धाञ्जली सभाको आयोजना गरेको थियो । आजै थापाको रिडीमा अन्त्येष्टि गरिएको छ ।
प्रतिक्रिया