ताजा अपडेट »

सतप्रतिशत पूँजीगत खर्च गरेको लुम्बिनी प्रदेशको दावी

शुक्रबार, ०१ साउन २०७८

भैरहवा । लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७७/०७८ मा ९९ दशमलव ४२ प्रतिशत पूँजीगत खर्च गरेको दावी गरेको छ । प्रदेश सरकारका प्रवक्ता तथा आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले लुम्बिनी प्रदेश सरकारले इतिहास रचेको दावी गरेका छन् ।अधिराज्य भरि नै लुम्बिनी प्रदेश सरकारले पूँजीगत खर्चतर्फ करिब सत प्रतिशत खर्च गर्न सफल भएको चौधरीको दावी रहेको छ । प्रदेश सरकारले चालु खर्च तर्फ ७७ दशमलव ५६ प्रतिशत र ९९ दशमलव ४२ प्रतिशत पूंजिगत खर्च गरि औषतमा ८८ दशमलव ७६ प्रतिशत बजेट तथा कार्यान्वयनमा गरि ईतिहास रचेको उनको भनाई थियो ।

बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री चौधरीले पूंजिगत तर्फ संघिय सरकार मात्र नभई बाँकी ६ प्रदेशले पनि यत्तिको खर्च गर्न नसकेको जिकिर गरे । आर्थिक वर्ष २०७७/०७८ मा पूँजीगततर्फ बिनियोजित रकम १८ अर्व ६१ करोड९९ लाख ५२ हजार मध्ये १८ अर्व ५१ करोड २७ लाख २७ हजार ६ सय ८२ रुपैया अर्थात ९९ दशमलव ४२ प्रतिशत खर्च भएको मन्त्रालयको भनाई छ ।

आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले कार्यक्रमको भौतिक प्रगति तर्फ उत्साहजनक प्रगति भएको र साउन महिनाको दोश्रो साताभित्रै प्रदेश सरकारले यसको समिक्षा गरि समग्र तस्विर जनसमक्ष ल्याउने बताए । उनले सडक, सिंचाई, पुल जस्ता पूर्वाधार निर्माण, कोभिड–१९को नियन्त्रण र उपचार, प्रदेशको आवधिक योजना निर्माण र कार्यान्वयनमा उल्लेखनीय उपलब्धि हासिल भएको समेत बताए ।

साथै महत्वपूर्ण कानूनहरुको निर्माण र कार्यान्वयन, २० वर्षे दिर्घकालीन योजना निर्माणको प्रक्रिया प्रारम्भ, लगानी सम्मेलनको बृहत तयारी, एक घर एक धारा जस्ता महत्वपूर्ण कार्यक्रमहरु गरिएको छ । मन्त्री चौधरीले आर्थिक वर्ष २०७५/०७६ मा पूँजीगततर्फ बिनियोजन भएको १६ अर्व ६२ करोड ४३ लाख ९८ हजार मध्ये ६१ दशमलव १९ प्रतिशत र आर्थिक वर्ष २०७६/०७७ मा बिनियोजन भएको १८ अर्ब ५७ करोड ६४ लाख ७९ हजार मध्ये ७९ दशमलव २५ प्रतिशत खर्च भएको जनाए ।