काठमाडौँ । चिनियाँ खोप उत्पादकहरू सिनोभ्याक र सिनोफार्मले विश्वव्यापी खोप वितरण कार्यक्रम कोभ्याक्समा हस्ताक्षर गरेका छन्। कोभ्याक्सले विपन्न देशहरूलाई खोप वितरण गर्ने लक्ष्य राखेको छ।
ग्लोबल अलायन्स फर भ्याक्सीन्स एन्ड इम्यूनाइजेशन (गाभी) ले उक्त योजनाअन्तर्गत ११ करोड मात्रा खोप उपलब्ध गराउने बताएको छ। कोभ्याक्सले ११ वटा खोप उत्पादकसँग सम्झौता गरेको छ र सन् २०२२ को आरम्भसम्ममा दुई अर्ब मात्रा खोप विश्वभरि वितरण गर्ने योजना बनाएको छ। सिनोफार्म र सिनोभ्याक दुवैले विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) बाट आकस्मिक प्रयोगको अनुमति पाइसकेका छन्।
यी खोपहरू चीन र विश्वका दर्जनभन्दा बढी अन्य देशमा पहिलेदेखि नै प्रयोग भइरहेका छन्। तर अन्य खोप र यी चिनियाँ खोपमा के फरक छ त?
बेइजिङस्थित औषधि उत्पादक कम्पनी सिनोभ्याकले 'इन्याक्टिभेटिड भ्याक्सीन' कोरोनाभ्याक बनाएको हो। मारिएका भाइरसका अंशहरू पठाएर यसले मानवशरीरको प्रतिरक्षा प्रणालीलाई सक्रिय बनाइदिन्छ। त्यसो गर्दा मानिसमा कुनै गम्भीर समस्या उत्पन्न हुँदैन।
मोडेर्ना र फाइजरका खोपहरू चाहिँ एमआरएनए खोप हुन्। ती खोपमा कोरोनाभाइरसको आनुवंशिक सङ्केतलाई सुईबाट शरीरमा पठाइन्छ। त्यसले शरीरमा भाइरल प्रोटीन पठाउँछ तर पूरा भाइरस पठाउँदैन। यद्यपि प्रतिरक्षा प्रणालीलाई सङ्क्रमणसँग लड्न प्रशिक्षित गर्छ।
"कोरोनाभ्याक अधिक परम्परागत शैलीको खोप हो। यस्तो विधि रेबिजको खोपजस्ता धेरै प्रचलित खोपमा सफल रूपमा प्रयोग भएको छ," नाङ्याङ प्राविधिक विश्वविद्यालयमा प्राध्यापनरत लुओ दहाईले भने। लिखित रूपमा दिइएको जानकारीअनुसार सिनोभ्याकको मुख्य फाइदा भनेको यसलाई अक्सफर्डले बनाएको खोपलाई जस्तै २-८ डिग्री सेल्सीअसको सामान्य तापक्रममा राख्न सकिन्छ। उक्त खोप चिम्पान्जीमा रुघाखोकी लगाउने भाइरसको आनुवंशिक संरचनालाई परिवरिवर्तन गरेर बनाइएको हो।
त्यसविपरीत मोडेर्नाको खोप -२० डिग्री सेल्सीअस र फाइजरको -७० डिग्री सेल्सीअसमा राख्नुपर्ने हुन्छ। त्यसको अर्थ सिनोभ्याक र अक्सफर्ड-आस्ट्राजेनेका दुवै खोप चिस्यानको सुविधा नभएका विकासोन्मुख देशमा निकै उपयोगी हुनेछन्।
डब्ल्यूएचओले भनेको छः "सिनोभ्याक खोपले खोप लगाएका मानिसलाई लक्षणसहितको सङ्क्रमण हुनबाट ५१ प्रतिशत र गम्भीर बिरामी हुनबाट बचाउने तथा अस्पताल जानुपर्ने अवस्थाबाट शतप्रतिशत बचाउने अध्ययनहरूले देखाएका छन्।"
उक्त खोप गत जुनमा १८ वर्ष र त्यसभन्दा माथिको उमेर समूहका लागि स्वीकृत भएको थियो। डब्ल्यूएचओका अनुसार चिकित्सकीय परीक्षणमा ६० वर्ष र त्यसभन्दा माथिका केही मात्र व्यक्तिहरूलाई सहभागी गरिएकाले त्यो उमेर समूहमा प्रभावकारिताबारे अनुमान गर्न सकिँदैन।
न्यू इङ्ग्ल्यान्ड जर्नल अफ मेडिसिनमा प्रकाशित तथा चिलेमा गरिएको एउटा अध्ययनअनुसार सिनोभ्याकको प्रभावकारिता दर ६५.९ प्रतिशत छ। यो खोपले अस्पताल जानबाट ८७.५ प्रतिशत जोगाउने तथा मृत्यु हुनबाट ८६.३ प्रतिशत बचाउने देखिएको छ।
कोभ्याक्स सुविधा के हो र कसरी काम गर्छ?
यद्यपि यो खोप कोरोनाभाइरसको डेल्टा भेरिअन्टका लागि कति प्रभावकारी छ भन्ने विषयमा पर्याप्त तथ्याङ्क वा जानकारी उपलब्ध छैन।
सिनोफार्म खोप चिनियाँ सरकारको स्वामित्वमा रहेको कम्पनीले उत्पादन गरेको हो र त्यसलाई डब्ल्यूएचओले मान्यता दिएको छ। यो खोप पनि सिनोभ्याकजस्तै निष्क्रिय विषाणुयुक्त खोप हो।
यो खोपले शरीरलाई कोरोनाभाइरससँग लड्ने एन्टिबडी उत्पादन गर्न उत्प्रेरित गर्छ। यो खोपमा मृत भाइरस हुन्छ जसबाट मानिसमा कोभिड-१९ सर्दैन। "लक्षणसहितका बिरामी र अस्पताल जानुपर्ने अवस्थामा सबै उमेर समूहका मानिसमा यो खोप ७९ प्रतिशत प्रभावकारी देखिएको छ," डब्ल्यूएचओले भनेको छ।
यो खोप पनि ६० वर्ष माथिका मानिसमा कति प्रभावकारी छ भन्नेबारे थोरैमा मात्र अध्ययन भएकाले अहिले भन्न नसकिने उसको भनाइ छ। यद्यपि डब्ल्यूएचओले उक्त उमेर समूहलाई पनि यो खोप लगाउन मिल्ने जनाएको छ। चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार चीनले एक अर्बभन्दा बढी चिनियाँ नागरिकमा यो खोप लगाइसकेको छ।
चीनको अधिकांश क्षेत्रमा अहिले कोरोनाभाइरस सङ्क्रमण देखिएको छैन। अहिले चीन निकै खुला भइसकेको छ।
अहिले ८० वटाभन्दा बढी देशले चिनियाँ खोपहरू प्रयोग गरिरहेका छन्। त्यसमा धेरै एशियाली देशहरू पनि छन्। इन्डोनेशिया, थाईल्यान्ड, मलेशिया, भियतनाम, फिलिपिन्स आदि देशहरूले चिनियाँ खोप प्रयोग गरिरहेका छन्।
नेपालमा पनि चीनले अनुदानमा दिएको तथा चीनसँग किनिएको सिनोभ्याकको भेरो सेल खोप प्रयोग भइरहेको छ। चिनियाँ खोप रोजेका केही देशमा धेरै मानिसले खोप लगाइसकेको भए पनि सङ्क्रमणदर निकै उच्च छ। चिलेले डेल्टा भाइरसबाट बच्नका लागि पुन: कर्फ्यू लगाएको छ र अन्य प्रतिबन्धहरू लगाएको छ।
सत्तरी ७० प्रतिशतभन्दा बढी चिलेवासीहरूले खोपको दुवै मात्रा लगाइसकेका छन्। त्यसमध्ये अधिकांश सिनोभ्याक खोप छ। सेशल्स र मङ्गोलियामा जनसङ्ख्या कम भए पनि केही समययता प्रतिव्यक्ति उच्च सङ्क्रमण देखिएको छ।
दुवै देश मुख्यतः सिनोफार्म खोपमा निर्भर छन्। सेशल्समा ६८ प्रतिशत र मङ्गोलियामा ५५ प्रतिशत वयस्कले पूर्ण मात्रामा खोप लगाइसकेका छन्। थाईल्यान्डले खोपसम्बन्धी आफ्नो नीतिमा परिवर्तन गरेर चीनको सिनोभ्याक र आस्ट्राजेनेका मिसाउन थालेको छ।
सिनोभ्याक लगाएका कैयौँ स्वास्थ्यकर्मीमा कोभिड देखिएपछि त्यसो गर्न थालिएको हो। इन्डोनेशियाका चिकित्सक र नर्सहरूको मुख्य संस्थाले सिनोभ्याकको पूर्ण मात्रा लगाएका कम्तीमा ३० स्वास्थ्यकर्मीको कोभिडका कारण निधन भएको बताएको छ। उसले पनि दोस्रो मात्रा अर्को खोप लगाउने र प्रभावकारिता बढाउने योजना बनाएको छ।
ती देशहरूमा अहिले जे भइरहेको छ त्यसमा खोप मात्र एउटा कारण होइन। खोपको प्रभावकारिताबाहेक नयाँ भेरिअन्टका लागि ती प्रभावकारी नदेखिएको अर्को कारण पनि हुन सक्छ। फाइजरले हालै 'बूस्टर' अर्थात् अतिरिक्त मात्राको खोपका लागि अमेरिकामा अनुमति खोजेको बताएको छ।
तर अन्य कारणहरू पनि हेर्नुपर्ने हुन्छ। इन्डोनेशियाा चिकित्सकहरूको मुख्य संस्थाका अनुसार स्वास्थ्यकर्मीको रुग्ण अवस्थाले पनि उनीहरूको ज्यान जानुमा भूमिका निर्वाह गरेको छ। उक्त देशमा एकदमै थोरै मात्र खोप लगाइएको छ। त्यहाँ पाँच प्रतिशत मानिसले मात्र दुवै मात्रा खोप लगाएका छन्।
चिलेमा पहिलो मात्रा खोप लगाउनेबित्तिकै दूरी कायम गर्न छोडिएको तथा मानिसहरूले एकअर्कासँग घुलमिल गर्न थालेकाले सङ्क्रमण बढेको केही विज्ञहरूले बताएका छन्। हङ्कङ विश्वविद्यालयको इपिडिमियोलजी र बायोस्टटिस्टिक्स विभागका प्रमुख प्राध्यापक बेन कोलिङ "सामान्यखाले प्रभावकारिता" हुँदाहुँदै पनि सिनोभ्याक र सिनोफार्म दुवैले उच्च तहको सुरक्षा दिने बताउँछन्।
सिनोभ्याक र सिनोफार्म खोपबारे गरिएका अध्ययनमा सबैभन्दा पहिले चीनको वुहानमा भेटिएको भाइरसलाई आधार मानिएको छ। त्यसपछि विकसित भेरिअन्टमा ती खोप कति प्रभावकारी छन् भन्ने नयाँ विवरण उपलब्ध छैन।
प्राध्यापक कोलिङ सुरुको भाइरसमा देखिएको प्रभावकारिताको तुलनामा डेल्टा भेरिअन्टका लागि 'इन्याक्टिभेटिड खोप' २० प्रतिशत कम प्रभावकारी हुने अनुमान गर्छन्। हङ्कङ विश्वविद्यालयका भाइरसविद् प्राध्यापक जिन दोङ-यान डेल्टासहित नयाँ भेरिअन्टका लागि चिनियाँ खोपको प्रभावकारिता कम हुने बताउँछन्।
तर अन्य कुनै पनि खोप नपाएका मानिसका लागि यी खोपहरू पनि उपयोगी हुने उनको धारणा छ। यद्यपि मानिसहरूले समाजिक दूरी कायम गर्नुपर्ने र अन्य उपायहरू अपनाउन छाड्नु नहुने उनी स्मरण गराउँछन्।-बीबीसी
प्रतिक्रिया