भैरहवा । विगत ३ बर्ष देखी लक्ष्य अनुसारको राजस्व असुलीमा असफल हुदै आएको भैरहवा भन्सार कार्यालय चालु आर्थिक बर्षमा असुली लक्ष्य पार गरेको छ । आर्थिक बर्ष २०७७÷०७८ को असार ३० गते सम्ममा भैरहवा भन्सार कार्यालयले १ सय १२ दशमलव ५४ प्रतिशत राजस्व असुली गरेको छ । यो भनेको बार्षिक लक्ष्य भन्दा १२ दशमलव ५४ प्रतिशत बढी राजस्व असुली भएको हो ।
बिगतका ३ बर्षहरुमा कार्यालयले भन्सार बिभागले तोकेको राजस्व असुली गर्न सकिरहेको थिएन । राजस्व संकलनकै हिसाबका प्रत्येक बर्ष लक्ष्य बढी दिएको र राजस्वका श्रोतहरु घट्दै गएको तथा छोटी भन्सारलाई पनि मूल भन्सार सरह कायम गरेको हुदा लक्ष्य अनुसारको राजस्व संकलन हुन नसकेको भन्सार कार्यालयको तत्कालीन समयको दावी थियो ।
भैरहवा भन्सार कार्यालयको विगत ५ बर्षको राजस्व असुली अनुसार आर्थिक बर्ष २०७२/०७३ मा ५२ अर्व ९४ करोड १२ लाख ५७ हजार असुली लक्ष्य लिएकोमा कुल १ सय १७ प्रतिशत अर्थात ६१ अर्व ९१ करोड २२ लाख ८१ हजार राजस्व असुली भएको थियो । भारतीय नाकाबन्दीको कारण मुलुकको अन्य नाका ठप्प हुदा भैरहवा भन्सार कार्यालय भएर मात्र समानहरु नेपाल भित्रिएपछि त्यस बर्ष लक्ष्य भन्दा बढी राजस्व असुली भएको थियो ।
यसको असर आर्थिक बर्ष २०७३/०७४ मा पनि देखियो र यस बषए पनि भैरहवा भन्सार कार्यालयले १ सय ९ प्रतिशत राजस्व असुली गरेको थियो । त्यस पछि भने लगातार ३ बर्ष भैरहवा भन्सार लक्ष्य अनुसारको असुलीमा असफल देखिदै आएको थियो । आर्थिक बर्ष २०७४/०७५ मा ८१ अर्व ४३ करोड ७७ लाख ९२ हजार लक्ष्य तोकिएकोमा ८६ प्रतिशत मात्र अर्थात ७० अर्व २८ करोड ९३ लाख ५ हजार राजस्व असुली भएको कार्यालयको तथ्यांकबाट देखिन्छ ।
यसै गरि आर्थिक बर्ष २०७५/०७६ मा पनि कार्यालयले ९३ अर्व ९५ करोड ९७ लाख ७३ हजार असुलीको लक्ष्य पाएकोमा ८८ प्रतिशत अर्थात ८२ करोड ३० लाख ५३ लाख ३३ हजार मात्र असुल गर्न सकेको थियो । सबै भन्दा कम राजस्व गत बर्ष २०७६/०७७ मा असुल भएको थियो । अहिले सम्मकै सबै भन्दा बढी १ खर्व ६ अर्व ८८ लाख ८६ हजार लक्ष्य तोकिएकोमा कार्यालयले ६६ प्रतिशत अर्थात ७० अर्व २९ करोड १५ लाख ९७ हजार राजस्व मात्र असुल्न सफल भएको थियो ।
चालु आर्थिक बर्षमा भैरहवा भन्सार कार्यालयले विगत ३ बर्षको असफलता तोड्दै १ सय १२ दशमलव ५४ प्रतिशत राजस्व असुली गरेको छ । यस बर्ष ९९ अर्व ६५ करोड राजस्व असुली लक्ष्य पाएको कार्यालयले असार ३० गते सम्म १ खर्व १२ अर्व राजस्व असुली गरेको प्रमुख भन्सार अधिकृत मनिराम पौडेलले जानकारी दिए । पछिल्लो समय आर्थिक क्रियाकलाप बढेको र आयातमा वृद्धि भएको कारण लक्ष्य भन्दा बढी राजस्व असुल भएको पौडेलले बताए ।
कोभिडको प्रभाव परेर अन्य क्षेत्र बन्द भए पनि भैरहवा भन्सार कार्यालय बन्द नहुदा पनि यसले राजस्व असुली वृद्धिमा प्रभाव पारेको हो । चालु आर्थिक बर्षमा सबै भन्दा बढी राजस्व भैरहवा भन्सार कार्यालयले मोटरसाईकलबाट असुल गरेको छ । आर्थिक बर्ष २०७७/०७८ मा भैरहवा भन्सार हुदै १८ अर्व ९८ करोड ५३ लाख २१ हजार मुल्य बराबारको १ लाख ९६ हजार ७ सय २४ वटा मोटरसाईकल बाट १८ अर्व ६० करोड ३८ लाख ९९ हजार राजस्व असुल गरेको छ ।
यस्तै एमएस विलेटबाट ५ अर्व २८ करोड ३७ लाख ४ हजार रुपैया र ग्लेज टाईलबाट २ अर्व ८७ करोड ४४ लाख ५० हजार राजस्व असुल भएको छ ।भारतबाट नेपाल तर्फ बिशेष गरि मोटसाईकल, एमएस विलेट बाहेक जिप, कार र भ्यान हाईस्पिड डिजल, ग्लेज टाईल, सिङ्गल तथा डबल क्याव पीकअप गाडी, ट्रक, मिनी ट्रक, एवम पेट्रोल लगातका बस्तु आयात हुने गरेका छन ।भैरहवा भन्सार कार्यालय निर्यात लक्षित भन्सार नरहेको कारण यहाबाट न्यून रुपमा निर्यात हुने गरेको छ । बिषेश गरि कृषिजन्य उत्पादनमा भटमासको तेल सबै भन्दा बढी निर्यात हुने गरेको छ ।
चालु आर्थिक बर्षमा १ अर्व ६८ करोड ६६ लाख ६७ हजार मूल्य बराबरको ९२ लाख ४६ हजार ४ सय ६५ केजी निर्यात गरि ४९ हजार राजस्व असुली गरेको छ । यस्तै सेन्थेटिक यार्नबाट ४७ हजार, पिना अन्यबाट ५७ लाख ४९ हजार रुपैया असुल गरेको छ । भैरहवा भन्सार हुदै बिशेष गरि स्टिलका भाँडाकुँडा, चोकर, भुस, जडबिुटी, खोटो रोजीन, बोरा झोला अन्य कपडा पदार्थ, प्लाष्टिकको नली पाईप, रेसाको कपडा लगायतका बस्तु निर्यात हुने गरेका छन् ।
प्रतिक्रिया