साउन १२,
ग्लोबल आवाज
बुटवल । आइसीसी टी २० विश्वकपमा पुग्ने नेपालको सपना समाप्त भएको छ । सिंगापुरमा भएको टी २० विश्वकप क्वालिफायर एसिया फाइनलमा सिंगापुरसँग पराजित भएपछि नेपालले सन् २०२० मा अष्ट्रेलियामा हुने आइसीसी टी २० विश्वकप खेल्न नपाउने भएको हो ।
५ राष्ट्र सहभागि एसिया क्वालिफायरमा अघोषित फाइनलको रुपमा रहेको सिंगापुर विरुद्धको खेलमा नेपालले खराब ब्याटिङ दवावपूर्ण बलिङ गर्न नसक्दा हार बेहोर्न बाध्य भयो । सिंगपुरले घरेलु मैदानमा ब्याटिङ, बलिङ र फिल्डिङ तीनवटै क्षेत्रमा उत्कृष्ट प्रदर्शन गर्यो । इन्डियन एसोसिएसन ग्राउण्डमा टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोली सिंगापुरले २० ओभरमा १९१ रन बनाएको थियो । १९२ रनको कीर्तिमानी लक्ष्य पछ्याएको नेपालले १५ ओभरमा सबै विकेट गुमाएर १०९ रन मात्र बनाउन सक्यो । कतार विरुद्धको पहिलो खेलमा अप्रत्यासित हार बेहोरेपछि नेपाललाई बाँकि सबै खेल जित्ने चुनौती थियो । मलेसिया र कुवेतलाई सहजै हराउँदै नेपालले सिंगापुर विरुद्धको खेललाई अघोषित फाइनल बनाएको थियो । उता घरेलु मैदानमा सिंगापुरले उत्कृष्ट प्रदर्शन गर्दै अपराजित रहेर विजेता बन्यो ।
नेपालको कम्जोर साझेदारी
सिंगापुरले नेपाल विरुद्ध टी २० मा अहिलेसम्मकै उच्च स्कोर बनाउँदा नेपालले जितका लागि कीर्तिमानी लक्ष्य पूरा गर्नुपर्ने चुनौती थियो । तर निर्णायक खेलमा नेपालको ब्याटिङ सम्हालिन सकेन । निर्धारित लक्ष्य प्राप्तिका लागि नेपालले बलीयो र लामो पारी खेल्नुपर्ने आवश्यकता थियो । पहिलो विकेटका लागि कप्तान पारस खड्का र ज्ञानेन्द्र मल्लले २७ रनको साझेदारी गरेका थिए । तर पारस चौथो ओभरको पहिलो बलमा आउट भएपछि नेपालले निरन्तर अन्तरमा विकेट गुमायो । कप्तान पारस १२ रन बनाएर बउट भए । दोस्रो विकेटका लागि ज्ञानेन्द्र र शदर भेषावकरले पनि २७ रनकै साझेदारी गरे । त्यसपछि भने कुनै पनि खेलाडीले अनुशासित ब्याटिङ गर्न सकेनन् ।
नेपालका लागि ज्ञानेन्द्र मल्लले बनाएको ३९ रन नै व्यक्तिगत रुपमा उच्च रह्यो । मल्लले २१ बल खेल्दै ४ चौका र ३ छक्का प्रहार गरे । शरद भेषावकर ११ बलमा ७ रन बनाएर आउट हुँदा नेपाल ७.४ ओभरमा ६२÷३ को अवस्थामा पुगेको थियो । त्यसपछि रोहित पौडेल ५, विनोद भण्डारी ९ र करण केसि शुन्यमा आउट भएपछि नेपालले १०.४ ओभरमा ७९ रन हुँदा ६ विकेट गुमायो । तीन वटै विकेट विजयशंकरले लिएका थिए । चौथो नम्बरमा ब्याटिङ गरेका दिपेन्द्र सिंह ऐरीले एक छेउमा इनिङ्स सम्हाल्ने प्रयास गरेपनि अर्को छेउबाट नियमित विकेट झरिरह्यो । सातौं विकेटका लागि दिपेन्द्र र सोमपालले २१ रनको साझेदारी गरे ।
सोमपाल १४ औं ओभरमा ११ रन बनाएर रनआउट भए । उनले ८ बल खेल्दै १ चौका प्रहार गरे । त्यही ओभरमा सन्दीप लामिछाने खाता नखोली आउट हुँदा नेपालले आठौं विकेट गुमायो ।
१५ औं ओभरमा दिपेन्द्र सिंह ऐरी र अभिनाश बोहरा आउट भएपछि नेपाल १०९ रनमै अलआउट भयो । दिपेन्द्रले २३ रन बनाए । नेपाललाई अलआउट गर्न सिंगापुरका लागि सेलडोर विजयकुमारले ४ र भिनोथ भास्करनले २ विकेट लिए ।
घरेलु मैदानमा सिंगापुरको उत्कृष्ट ब्याटिङ
टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले दोस्रो ओभरमै विकेट गुमाएपनि टिम डेभिस, रोहन रंगराजन र मनप्रित सिंहले उत्कृष्ट ब्याटिङ गर्दै उच्च स्कोर बनाउन मद्दत गरेका थिए । १०÷४ हुँदा सुरेन्द्र चन्द्रहोमन ८ रनमा आउट भएका थिए । तर खरोहन र टिमले दोस्रो विकेटका लागि ८९ रनको साझेदारी गरे । रोहिन ४९ रनमा आउट भएपछि डेभिडले तेस्रो विकेटका लागि मनप्रितसँग ६६ रनको साझेदारी गरे । डेभिडले ४३ बल खेल्दै ८ चौका र ३ छक्काको मद्दतमा सर्वाधिक ७७ रन बनाए । अर्धशतकबाट १ रनले चुकेका रोहनले ३३ बल खेल्दै ३ चौका र ४ छक्काको मद्दतमा ४९ रन जोडे । मनप्रितले २७ बल खेल्दै ३ चौका र २ छक्काको मद्दतमा ४२ रन बनाए ।
नेपालको लागि अभिनाश बोहराले ४ ओभरमा ३५ रन खर्चेर ४ विकेट लिए । करण केसीले ३ ओभरमा २६ रन खर्चेर २ विकेट लिए ।
प्रतिक्रिया