ताजा अपडेट »

राष्ट्रपति सपथ ग्रहण समारोहमै ढले …

विहीबार, १० माघ २०७५


माघ १०, लोकतान्त्रीक गणतन्त्र कंगोका नवनिर्वाचित राष्ट्रपति फेलिक्स सिसेकेडी सपथ ग्रहण समारोहमै विरामी भएका छन् ।बिहीबार आयोजित समारोहमा मन्तव्य दिईरहेकै बेला उनी बिरामी भएर ढलेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

शान्तिपूर्ण तरिकाले निर्वाचन भएर उनले देशको नेतृत्व गर्न लागेकोले कंगोमा यो पहिलो सपथ ग्रहण समारोहलाई ऐतिहासिक घटनाको रुपमा चासोका साथ लिइएको थियो ।

राज्यद्वारा संचालित टेलिभिजनले प्रत्यक्ष प्रसारण समेत गरिरहेको सो ऐतिहासिक कार्यक्रममा मन्तव्य दिईरहेका बेला उनले मलाई ‘असहज महुशस भयो’ भनेका थिए । त्यसपछि उनको मन्तव्य रोकिएको थियो ।

नवनिर्वाचित राष्ट्रपति शिसेकेडी हाल ५५ वर्षका छन् । उनी कङ्गोको सबैभन्दा पुरानो तथा ठूलो विपक्षी पार्टी युनियन फर डेमोक्रेसी एन्ड सोसल प्रग्रेस (युडिपिएस)का प्रमुख हुन् । यो दल उनकै बुबा इटीनले स्थापना गरेका हुन् । इटीन कङ्गोका महत्वपूर्ण राजनीतिक व्यक्तित्व थिए ।

चुनावी प्रचार अभियानका क्रममा शिसेकेडीले कङ्गोमा कानुनी शासन पुनर्स्थापित गर्ने, भ्रष्टाचार विरुद्ध लड्ने तथा पूर्वी क्षेत्रमा शान्ति ल्याउने प्रतिज्ञा गरेका थिए ।

गृहयुद्धबाट तहसनहस भएको कङ्गोमा १८ वर्षपछि निर्वाचन भएर पहिलो पटक सत्ता हस्तान्तरण भएको हो भने निर्वाचनबाट विपक्षी नेता सिसेकेडी राष्ट्रपति पदमा निर्वाचित भएका हुन् ।

हिंसात्मक रक्तपातपूर्ण इतिहास रहेको तथा सन् १९६० मा बेल्जियमबाट स्वतन्त्रता पाएको कङ्गोमा कहिल्यै सत्ताको शान्तिपूर्ण हस्तान्तरण हुन सकेको थिएन ।

राष्ट्रपतिको चुनावमा पटकपटक भएका ढिलाईले अफ्रिकाको यो विशाल एवं गरिब देशमा हिंसात्मक घटना हुँदै आएका थिए ।

खनिज पदार्थबाट विश्वकै धनीराष्ट्र कङ्गोमा सन् २००६ र २०११ मा भएका चुनावमा रक्तपातपूर्ण हिंसात्मक घटना भएका थिए । सन् १९९६ र २००३ को बीचमा भएका दुईवटा युद्धका कारण यहाँ विदेशी सैनिक ल्याउनुपरेको थियो जसका कारण लाखौंको ज्यान गएको थियो । रासस/एएफपी