ताजा अपडेट »

अन्तरजातिय सम्बन्ध: यातनासँगै नागरिकताबाट बञ्चित हुनुपर्ने अवस्था

आइतबार, २७ असार २०७८

गुल्मी । गुल्मीको सदरमुकाम तम्घासकी कल्पना बि.क.को उमेर ५० वर्ष पुग्न लागि सक्यो तर, अहिलेसम्म उनले नागरिकता पाउन सकेकी छैनन् । उनको माइती घर हालको रेसुङ्गा नगरपालिका–७ भुजेलखर्क हो । उनले बिस वर्षअघि अघि पूर्वतिरबाट मजदुरी गर्न आएका एक जना राई थरका ब्यक्तिसँग प्रेम विवाह गरिन् । सन्तान पनि भए । न सन्तान न आमा कसैले नागरिकता पाउन नसके पछि वर्षौंदेखि सम्वद्ध सबै पक्षसँग आग्रह गर्दै आएकी छन् । तर, उनलाई नागरिकता दिलाउन भने कसैले सकेन ।

सदरमुकाममा तम्घास मै जन्मेकी पुष्पा बिककको उमेर अहिले २२ वर्षको भयो । उनले पनि अहिलेसम्म अन्तरजातिय प्रेम सम्बन्ध र विवाहका कारण नागरिकता पाउन सकेकी छैनन्। बाबुको नामबाट बनाउन भने उनी आफैंलाई बाबु को हुन् भन्ने थाहा छैन। आमाले दोश्रो विवाह गरिन्। उनी अर्कैको घरमा हुकिइन् । २०७१ सालमा पुष्पाले अर्घाखाँचीको मालारानी गाउँपालिका साविक मरेङ्ग गाविसको सुन्दरपोखराका कृष्णप्रसाद बञ्जाडेसँग अन्तरजातिय प्रेम विवाह गरिन् । उनीबाट एउटी छोरी जन्मिइन् । उनको उमेर ५ वर्ष भयो ।

उनको पनि न आमा न छोरीको जन्म दर्ता छ । श्रीमानको मृत्यु भइसक्यो । घरका अन्य सदस्यहरुले नागरिकता दिन आनाकानी गर्दै आएका छन् । उनकी छोरीलाई तम्घासको महेन्द्र नमुना माध्यामिक विद्यालयले निशुल्क पढाई दिएकोमा उनी आभारी छन् । तर, कोरोना महामारीसंगै मजदुरी गर्न नपाएर छाक अड्केको पीडा सुनाउँदै उनी हिँडेकी छन् । उता मुसिकोट नगरपालिका वडा नम्वर– ९ अर्लाङ्गकोटकी २२ वर्षिय जमुना बिक पनि अन्तरजातिय प्रेम सम्बन्धका कारण अलपत्र छन् ।

उनका अनुसार श्रीमान कुलबहादुर बिक बैदेशिक रोजगारीका लागि कतारमा थिए । यता उनलाई स्थानीय प्रेमबहादुर खत्रीले प्रेमजालमा फसाएर । त्यस अघि उनले जमुनालाई नजिक बनाउन आफ्नी श्रीमतीसँग सैना लगाउन लगाए । सैना लगाएको २/३ महिना पछि उनले जमुनासँग शाररिक सम्बन्ध राखे । जमुनाले गर्भधारण गरिन् । त्यही बखत ५ महिना अघि उनका श्रीमान घर आए । त्यसको चार महिनापछि गत जेठ २९ गते जमुनाले सन्तान जन्माइन् । त्यस पछि सुत्केरी भएको ११ दिन मै उनी घर निकाला भएर माइतीमा गइन् ।

माइतीले पनि नसहेपछि उनी अहिले मावलीको शरणमा छन् । त्यस वडाका वडाध्यक्ष नरेशराज खरेलले आरोपित खत्रीलाई एक महिना अघि फोन गरेर बोलाउँदा हुन्छ, म आउँछु भनेर जवाफ दिएका थिए । त्यस पछि फोन स्वीचअफ गरेर बसेका छन् । वडाध्यक्ष खरेल भन्छन्–‘ उनी अहिले भारततिर गएको बुझिएको छ ।’ उनको पुर्खेयौली घर अर्लाङ्गकोट भएपनि उनको परिवार बुटवलतर्फ बसाई सराई गरेको धेरै वर्ष भई सक्यो । उनका अनुसार उनी दुई वर्ष अघि एम्वुलेन्स चलाउन अर्लाङ्गकोट श्रीमतीसहित आएका थिए ।

उनका पनि घरमा एक छोरा छन् । उनी बेखर्ची भएको जानकारी पाएपछि मुसिकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटाले नगरपालिकाबाट उनलाई १५ हजार रुपैयाँ सुत्केरी खर्च दिएको बताए । पछि प्रमुख जिल्ला अधिकारी रुद्रादेवि शर्माकहाँ अधिकारकर्मी गएर निवेदन गरेपछि शर्माले मेयर सापकोटा संग सहजिकरण गरि अदालतममा मुद्दा दिने र मुद्दा किनारा नलागेसम्म सदरमुकाम कै पुनस्थापना केन्द्रमा ति महिलालाई राख्ने कुरा भएको थियो । मेयर सापकोटाले भने–‘ उनको मुद्दा किनारा नलागेसम्म तम्घास कै पुनस्थपना केन्द्रमा राख्ने र नगरपालिकाले मासिक खानपिन खर्च ब्यहोर्ने छ ।’

उता मालिका गाउँपालिका वडा नम्वर– ८ मरभुङ्ग निवासी २४ वर्षिया रमिता सुनार (नाम परिवर्तन) ले पनि गत बैशाख ८ गते बाबुको टुङ्गो नलागेको सन्तान जन्माएकी छन् । उनले त्यहाँका एक जना जनप्रतिनिधीका छोराको गर्भ हो भनेर आरोप लागएकी छन् । तर ति जनप्रतिनिधीका छोराले भने उनी संग शाररिक सम्वन्ध राखेको महिना र सन्तान जन्मेको महिना फरक परेको भन्दै अस्वीकार गर्दै आएका छन् ।

पछिल्ला यी दुई घटनाका सम्वन्धमा आफूले न्याय दिलाउनका लागि सम्वन्धित निकाय संग पहल थालेको दलित अधिकारकर्मी तथा नेकपा एमालेका जिल्ला नेता कृष्ण सुनारले बताए ।नागरिकता पाउन नसकेका ति दुई दलित महिलाका सम्वन्धमा हालै कोरोना संक्रमित भएकी प्रमुख जिल्ला अधिकारी शर्मा कोरोना मुक्त भए पछि मात्र छलफल गरिने सहायक प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भण्डारीले बताए ।

जिल्लामा यस्तो समस्यामा परेका अरु थुप्रै दलित महिलाहरु पनि छन् । केहि वर्षअघि यसै समाचारदाताले गैह्र दलित पुरुषले गुल्मी कै वलिथुम गाउँकी एउटी १४ बर्षीया अपाङ्ग दलित किशोरीलाई गर्भधारण गराएको खबर थियो । सन्तान जन्मेपछि ती किशोरीका बाबुलाई २५ हजार दिई घटना गुपचाप पारिएको थियो । त्यो समाचार बाहिरिए लगत्तै अधिकारकर्मीहरुले उनलाई न्यायको ढोकासम्म ल्याएर न्याय दिलाएका थिए ।

२०६४ पछि त्यसरी नै अलपत्र परेका दलित युवतीहरु साविक बडागाउँ गाविसमा दुई जना र साविक नेटा र दर्लिङ्ग गाविसमामा दुई जनाले सञ्चार माध्यम कै सहारा लिएर न्याय पाउन सफल भएका थिए । बडागाउँकी एक दलित महिलाले थापा थरका पुरुषको गर्भबाट छोरी जन्मेको २० बर्ष पछि अदालतबाट न्याय पाईन । उनले गर्भधारण गराउने पुरुषको परिवारबाट २० लाख रुपैयाँ अंश र मानचामल बापद रकम पाइन् । अहिले उनकी छोरी उच्च शिक्षा हाँसिल गरेकी छन् ।

त्यस्तै न बाबु आमाको टुङ्गो न कतै घर–बास भए पछि गुल्मी कै सिमलटारीको सार्वजनिक शैचालयमा बाबु पहिचान नभएका तीन छोराहरु लिएर बसोबास गर्दै आएकी ज्ञानी परियारको विचल्लीको कथा ७ बर्ष अघि उठान गरे पछि उनलाई देश विदेशबाट ११ लाख भन्दा बढि सहयोग रकम संकलन भयो र त्यस शौचालयबाट माथी गाउँमा घर जग्गा किनेर सारिएको थियो । अहिले हुर्केर उनका तिन छोराहरु डाईभर भई सके पनि उनीहरुले अहिले पनि सम्म नागरिकता पाउन नसकेर लाईसेन्स बनाउन सकेका छैनन् ।

https://www.globalaawaj.com/archives/120017