महिला हिंसाका घटनाहरु सामान्य जस्तै भइसकेको देख्दा निकै मर्माहित हुन्छु । मानिस किन यति क्रुर भए, खै मानवता ? एक महिलाको अस्तित्व, आत्म र प्राण कति क्रुरताका साथ हरण गर्न सकेका हुन् ? हामी आफ्नो सामान्य निर्जिव वस्तु बिग्रदा, टुट–फुट हुँदा वा हराउँदा निकै चिन्तित हुन्छौं । हामीले घरमा पालेका कुकुर, बिराला, बाख्रा लगाएत घरपालुवा जनावरलाई धेरै माया गर्छौं । उनीहरुलाई केही हुँदा वा गुमाउँदा निकै मर्माहत हुन्छौं ।
यहाँ त कसैका छोरी,चेली,बुहारी आफन्त निरन्तर हिंसाका सिकार भएका घटनाहरु एकपछि अर्को गरी निरन्तर आइरहेका छन् । कति बलात्कृत भएका छन् , कति शोषित भएका छन् , कतिको हत्या भएको छ । तर,यस्ता घटना सार्वजनिक हुनु, सञ्चार माध्यम र सामाजिक सञ्जालमा आउनु भने सामान्य जस्तै भएका छन् ।
निजी र सार्वजनिक जीवनमा महिला माथि लक्षित गरि शारीरिक, मानसिक, यौनिक र मनोवैज्ञािनक तवरमा उनिहरुलाई हानी पुर्याउनुलाई महिला हिंसा बुझिन्छ। महिला भएको कारण लैगिङ्क विभेद गरि उनिहरुलाई शारीरिक, मानसिक रुपमा दिइने पीडा, संस्कार र परम्पराको नाममा गरिएको अमानवीय ब्यवहार, प्रतिबन्ध लगाएत जुनसुकै तबरबाट महिलाको आत्मसम्मानमा पुर्याईने सबै किसिमका आघातलाई महिला हिंसाको रुपमा बुझ्नुपर्छ । महिला भएकै कारण ‘कम बुद्धिमानी र कमजोर छन् ।’ भनेर राखिने सोँच पनि महिला माथि गरिएको मनोवैज्ञानिक हिंसा नै हो ।
बलात्कार, घरेलु हिंसा, कुटपिट, बोक्सीको आरोपमा खुवाइएको दिसा–पिसाब, एकल महिला माथि उठाएका नजर र गरिएको नैतिक अपहेलना जस्ता विविध सामाजिक विकृति महिला माथि भएका हिंसा हुन । नेपालको सन्दर्भमा महिला हिसा भर्खर मात्र देखा परेको होइन । कतिपय महिला माथि गरिने दु्रव्यवहारहरु संस्कारको रुपमा नै किटान गरिएका छन्। समाजमा महिला हिंसाको स्थिति कायम रहन विभिन्न तत्वले भुमिका निर्वाह गरिरहेका छन । २०६८ सालको जनगणना अनुसार ५१.५% महिला रहेको देशमा महिलाहरु अहिलेसम्म विभेद,असमानता,अन्याय र विविध खालका हिंसाको सिकार भइरहेका छन्।
धर्म, परम्परा र समाजिक सरचनाले त महिलालाई जन्मसिद्ध असमान ,कमजोर र अपवित्र तुल्याएकै हो। अझ थप सरकारले महिला हिंसाका घटना माथि राजनीतिकरण गरेर महिलालाई राष्ट्रबाटनै बारामबार अपहेलनाको महसुश गराएको छ । कतिपय कानूनी ब्यवस्थाले समेत महिलाको हैसियतलाई समान बनाउन सकेको देखिँदैन । छिमेकी मुलुकले पृथ्वी कै विकल्प खोजिरहेको यो विकसित समयमा पनि मेरो देशका नारी सडकमा होइन कठै घरमै सुरक्षित छैनन् । अझै नारीले नारीकै पीडा बुझ्न नसक्नु कति ठूलो बिडम्बना होला । आठ वर्षकी छोरी बाबुबाट बलात्कृत हुन्छिन् । निर्मलाको घटनाले संसार रुवायो । चितवनमा सविता भन्डारीको घटनाले सामाजिक सञ्जाल ततायो ।
यतिबेला पनि घटना घटिरहेका छन् । तर, देशकै मुख्य र सम्मानीय पदमा महिला नै राष्ट्रपति हुँदा पनि यी विषयहरुमा गम्भीर भएर रोकथाम, नियन्त्रण र दोषीलाई कारवाहीका सवालमा महत्वपूर्ण निर्णय र कार्यान्वयन हुन सकेका छैनन् । महिला हिंसा गर्नेलाई हुने फितलो कारबाहीले पनि महिला हिंसाले प्रसय पाइरहेको छ । महिला हिंसाको निम्ति स्वयम् राज्य, राष्ट्रिय तथा अन्तराष्ट्रिय संघ–संस्थाको भूमका, महिला अधिकारवादीसँग योजना नभएका होइनन् । तर, योजनाहरु आवश्यक स्थान परिमाणमुखि भएनन् । महिला चेतना र कानूनी कारवाही भन्दै घटना घटिसके पश्चात् सडकमा चिच्याएर मात्र महिला हिंसा रोक्न सकिँदैन । अपराधी बचाउन लागि पर्ने राज्यको निकायमा बस्ने जो कोहीलाई पनि कानूनी दायरामा ल्याई कारवाही गर्नु पर्दछ ।
हामी गहन अध्ययन नगरी कुनैपनि विषयको सतही समाधानमा मात्र जुट्छौ । पुरुषको विरुद्ध बोल्नु र जानु महिला अधिकार होइन। महिलालाई अधिकार थम्याउँदैमा महिला हिंसा पूर्णरुपमा रोकिन्छ भनेर दिएका अभिब्यक्तिहरु हाँस्यास्पद बाहेक केहि होइनन्। नीतिगत रुपमा केहि महिला अधिकारवादि सकारात्मक केहीतवरले अधि बढेको देखिएता पनी महिला हिंसाका ब्यवहारिक पाटामा भूमिका निर्वाह गर्न चुकिरहनु भएको छ। समाजमा महिलासँग जोडिएर हुने घटनाहरु प्रज्वलनशील नै छन् ।
यसका विविध कारणहरु छन ।
–महिलाहरुलाई आर्थिक रुपमा आत्मनिर्भर बनाउन सकेको अवस्था छैन । आर्थिक परनिर्भरताले गर्दा उनिहरु धरेलु हिंसा सहन बाध्य छन्। महिलालाई अबका दिनहरुमा आर्थिक तथा उत्पादनमूलकक क्षेत्रमा जोड्नु आवश्यक छ।
– कानून माथि नै राजनीतिक हस्तक्षेपले अपराधीले संरक्षण पाइरहेर फितलो कारवाहीले गर्दा हिंसक मानसिकताले प्रोत्साहन पाइरहेका छन्। तसर्थ कुनै पनि सामाजिक घटना माथि राजनीतिकरण नगरी अपराधीलाई कडा कारवाही गरी राज्यले असल अभिभावकत्व ग्रहण गर्नुपर्छ ।
–महिला लक्षित सञ्चार कार्यक्रम ल्याउनु पर्दछ । जसमा पीडित महिला न्ययिक प्रत्रियामा जाँदा उसको समाजिक जीवनलाई असर नपर्नेगरी आफ्ना विचार पीडाहरुसवेदनशिलतापूर्वक राखिदिनु पर्छ ।
–महिला भएकै कारण चरित्र हत्या गरिने किसिमले पुलिस प्रसाशन लगायत मिडियाकर्मी (विशेषगरी यूट्यूब च्यानल)ले घटनालाई मोड्न र मनोबल घटाउन सोधिने प्रश्नहरुलाई प्रतिबन्ध लगाउनु पर्छ ।
–महिला लक्षित साझा संगठन वास्तवमै महिलामैत्री हुनु पर्दछ । हरेक समुदायमा महिला सुरक्षाको निम्ति सांगठनिक संरचना निर्माण गर्नु आवाश्यक छ । उक्त संगठनले महिलाका आवाज सञ्चार माध्यम र सरकारसम्म पुर्याउन भूमका खेल्नु पर्दछ। महिलालाई राज्यको न्यायिक तह तथा निकायसँग प्रतक्ष्य प्रत्याभूति हुनु पर्दछ ।
–मूल्य मान्यता र परम्पराको नाममा महिलाको आत्मसम्मान र विभेद गरी पुर्याउने आघात माथि प्रश्न उठाउन साथै समानता र सुरक्षित समाजको निर्माणको निम्ति सशक्त तवरबाट नै महिला राजनीतिक नेतृत्व र पहुँचमा हुनु पर्दछ ।
–सर्वप्रथम महिलालाई महिलाकै सहयोग हुनुपर्छ । स्थानीय निकायबाट महिला सशक्तिकरणका लागि प्रभावकारी अभियान चलाउनु पर्छ । महिलालाई कमजोर ठम्याउने जुनसुकै सामाजीक सोँच माथि महिलाले स्वयम् प्रतिकातमक र हस्तक्षेपकारी भूमिका खेल्नुपर्छ ।
घरायसी कामलाई अनुत्पादनमूलक कामको रुपमा लिनु ,सबै महिला आत्मनिर्भर बन्नु नसक्नु,समाज शिक्षा र चेतनाले भन्दा मूल्य र मान्यताबाट मात्र अघि बढ्नु,महिलाले स्वयमलाई कमजोर महसुस गर्नु, राज्यले राजनीतिक पहुँच अनुसार अपराधीलाई बचाउन लागि पर्नु, लगाएतका कारणले पनि महिला हिंसाले निरन्तरता र बढावा पाएको देखिन्छ ।
दोषी र अपराधीलाई कारवाही भन्दा बचाउने प्रवृत्तिले पनि गलत मनसाय भएका केहि अपराधीहरु कानून र सजाय भन्दा पर छन् । अर्कोतर्फ आर्थिक , सामाजिक ,विविध कारणले गर्दा आज समाजमा विकृति कायम नै छन् । तसर्थ यसको न्यूनिकरणको लागि हामीले महिलाप्रतिको हाम्रो ब्यक्तिगत, घरायसी दृष्टिकोण परिवर्तन गरी सुन्दर समाज निर्माणमा हातेमालो गर्नुपर्छ।
महिला हिंसाका घटनामा निरन्तरता हुनुले आजको समय,सोँच,सत्ता र शासनसँगै हामी मानवजातिप्रति नै नैतिकता र मानवीयताको शंका उब्जेको छ । शिक्षित, समृद्ध र आधुनिक समाजमा पनि विकृत र अमानवीय घटनाले निरन्तरता पाउनु, पीडितले न्याय नपाउनु, अपराधीले सजाय नपाउनु जस्ता गतिविधिले झनै क्रसित बनाएको छ ।तसर्थ अबका दिनमा महिला हिंसाका विषयमा नयाँ तवरले सोँच्न आवश्यक छ ।
शिक्षा, प्रविधि सचेतनाका बावजूद पनि किन महिला हिंसा लगाएतका जघन्य अपराध भएका छन् । आखिर मुख्य कारकहरु के–के हुन्, तीनको निराकरण गर्दै कसरी महिला हिंसाका घटना न्यूनिकरण र नियन्त्रण गर्न सकिन्छ भन्ने विषयमा व्यवहारिक रुपमा कार्यान्वयन गर्दै घटना घटीहाले पीडितले न्याय र दोषीले कारवाही पाउनै पर्छ ।
प्रतिक्रिया