ताजा अपडेट »

गुल्मीबाट पहिलो पटक राष्ट्रिय उच्चपदमा पुग्न सफल ‘माननीयहरु’

शुक्रबार, २५ असार २०७८
1 Shares

गुल्मी । गुल्मी जिल्लाको राजनीतिक इतिहासका जानकारी सदरमुकाम तम्घास साहुटोलका पुराना सामाजसेवी ८० वर्षिय ताराप्रसाद पाण्डेका अनुसार मुलुकमा पहिलो पटक २०१५ सालमा संसदिय निर्वाचन भएको र त्यति बेला अर्घाखाँची सहित गुल्मी जिल्ला एउटै रहेको बताए । त्यस ताकाको गुल्मी जिल्लामा चार वटा निर्वाचन क्षेत्र रहेको पाण्डे सुनाउँछन् । उनका अनुसार बडिगाड खोला देखि उता पार गुल्मी भनिन्थ्यो । जुन निर्वाचन क्षेत्र नम्वर ८९ थियो । त्यसदेखि यता बल्कोट, केरुङ्गा चिदिका, ठूलापोखरा, छत्रगञ्ज, तम्घास देखि बडिगाडखोला वारी सम्म ९२ नम्बर निर्वाचन क्षेत्र थियो ।

जसलाई मध्ये पूर्व गुल्मी भनिन्थ्यो।उता अर्घाखाँचीतर्फ ९१ नम्वर निर्वाचन क्षेत्र थियो । मुसिकोट, ईस्मा, धुर्कोट तर्फ ९० नम्वर निर्वाचन क्षेत्र थियो । २०१५ सालको निर्वाचनमा ८९ नम्बर निर्वाचन क्षेत्रबाट गिरिप्रसाद बुढाथोकी विजयी भएका थिए । ९२ नम्बर निर्वाचन क्षेत्रबाट काँशीनाथ गौतम बिजयी भएका थिए । ९१ नम्वर निर्वाचन क्षेत्रमा सुवर्ण सम्शेर विजयी भएका थिए । ९० नम्बर निर्वाचन क्षेत्रमा वाग्ला बडाचौरका नीलाम्बर पन्थी विजयी भएका थिए । विजयी चारै जना नेपाली कांग्रेसका नेता थिए । काँशीनाथ पन्थीका प्रतिस्पधीहरु चार वटा अलग अलग पार्टीका थिए । नेपाल राष्ट्रिय खोरखा परिषदबाट तानसेनका गुणकर भट्टराई थिए । नेपाल प्रजा परिषदबाट बलेटक्सार चौतराका प्रायगलाल श्रेष्ठ थिए । संयुक्त प्रजा पार्टीबाट चन्द्रकोट हर्राचौरका मकरध्वज शाही थिए ।

त्यति बेला नेपाली कांग्रेसबाट विद्रोह गरेका हरेवाका दयानिधी शर्माले भने २०१५ सालको निर्वाचन बहिष्कार गरेका थिए । यी चार जना नै गुल्मीका प्रथम माननियहरु भएको उनै पुराना समाज सेवी पाण्डे बताउँछन् । २०१९ सालको निर्वाचनमा उनी विजयी भए । पछि २०२३ साल साउन १६ गते उनी राजामहेन्द्रबाट भुमिसुधार, कृषि तथा खाद्यमन्त्री नियुक्ती भए । २०२४ साल जेठ १५ गते देखि २०२५ साल असोज ९ गते सम्म उनी वन राज्यमन्त्री भए ।

त्यस अवथीमा उनले शाही औषधी अनुसन्धानशाला , टिम्बर कर्पोरेशन र ईन्धन संस्थाको स्थापना गरेका थिए । उनी २०२९ सालमा संसदीय प्र्रतिनिधी मण्डलको नेतृत्व गर्दै उत्तर कोरियोको भ्रमणमा गएका थिए । उनको कार्याकालमा गुल्मीका बाटाघाटा , पुल, सिचाईका लागि नहर कुलो , विद्यालय स्थापना , हुलाक थाना चौकी स्थापना भएको थियो । पूर्वी पुर्तिघाटबाट रुद्रवेणी, ग्वाघा शान्तिपुर तम्घास जोड्ने मोटरबाटाको सम्भाब्यता अध्यानका क्रममा स्याङ्गजाको पिडी खोला,घलाम फुलबारीमा २०३० साल बैशाख १२ गते असमायिक निधन भएको उनका जेष्ठ सुपुत्र करुणानिधी शर्मा पौड्याल बताउँछन्।

२०१५ सालको निर्वाचनमा नीलाम्बर पन्थीको निर्वाचन क्षेत्रमा त्यति बेला कुल मत २२ हजार ७ सय २७ खसेको थियो । उनका पनि चार जना प्रतिष्पर्धी थिए । पन्थी ९ हजार ८ सय ४८ मत ल्याएर विजयी भएका थिए । विजयी अन्य उमेदवारहरुको मत संख्या खुलेको छैन। २००३ साल देखि नै नेपाली कांग्रेसको राजनीतिमा सक्रिय भएका पन्थीका बारेमा रेसुङ्गा बहुमुखी क्याम्पसका उपप्राध्यापक बिष्णुकान्त पन्थीले केहि तथ्यहरु उपलब्ध गराएका छन् । जसअनुसार नीलाम्वर पन्थी उपप्रध्यापक पन्थीका राईला बाबु थिए । पिता देवि प्रसाद पन्थी र माता नन्दकुमारी पन्थीको कोखबाट बिक्रम सम्वत् १९८४ साल चैत्र २८ गते नीलाम्बर पन्थीको जन्म भएको थियो । विद्यार्थी काल देखि प्रशिद्ध साहित्यका थिए उनी । उनले आधा दर्जन भन्दा बढि पुस्तक समेत लेखेका छन्।

२००८ साल देखि २०१० सालसम्म पन्थी निर्वाचन आयोगको तथ्याङक विभागमा सुपरभाईजर तहमा जागिरे थिए । २०१० देखि २०१४ साल सम्म निर्वाचन अधिकृत भएका थिए । त्यसपछि जागिर छाडेर २०१५ सालको चुनावमा उठेका थिए । २०२३ साल देखि २०२७ साल सम्म बुटवल र तौलिहवाका विद्यालय र क्याम्पसहरुमा अध्यापन पेशा गरेका थिए । २०४८ सालमा उनी राष्ट्रिय सभा सदस्यमा मनोनित भएका थिए । उनी २०१४ सालमा नेपाली कांग्रेस पार्टीको जिल्ला सचिवको जिम्मेवारी पनि निभाएका थिए । पछि रुपन्देही बसाई गरेका पन्थी २०३९–२०४४ सालसम्म नेपाली कांग्रेस रुपन्देहीको पार्टी सभापति पनि भएका थिए । पछि काठमाण्डौ बसाईका क्रममा २०३९ देखि २०४४ साल सम्म पन्थी नेपाली काग्रेस पश्चिमाञ्चल सम्पर्क समितिको संयोजक समेत रहेका थिए।

२०४४ साल देखि २०५१ साल सम्म उनी सो पार्टीको केन्द्रिय सदस्य समेत भएका थिए । पन्थीको परिवार २०२२ साल देखि रुपन्देही हालको तिलोत्तमा नगरपालिकाको खैरिया भन्ने स्थानमा बसाई–सराई गरेको थियो । पन्थीले २०१७ साल देखि ३३ सालसम्म कारावास , प्रवास र भुमिगत जीवन बिताएका थि । अहिले ७८ बर्ष उमेर पुगेकी पन्थीकी धर्मपत्नी तारादेवि पन्थी छोरा छोरीहरुसँग अमेरिकामा बस्दै आएको उनै भतिजा पन्थी बताउँछन् । उनीहरु काठमाण्डौं बौध कफनमा घर बनाएका छन् । चार सन्तान मध्ये छोराहरु सागर पन्थी , महेश पन्थी , बुहारीहरु , छोरीहरु किरण पन्थी पाण्डे र लता पन्थी लम्साल सहित उनीहरु अमेरिकामा रहेका छन् ।

पन्थीका पालामा हालको मुसिकोट नगरपालिका, ईस्मा गाउँपालिका , मालिका गाउँपालिका, मदाने र धुर्कोट गाउँपालिकामा हाल रहेका माध्यामिक विद्यालयहरु एति बेला प्राईमरी स्कुलका रुपमा पन्थीले स्थापना गरेका थिए । २०६४ भाद्र १२ गतेका दिन काठमाण्डौंमा स्र्वरोहण भएका पन्थीले हालको मुसिकोट नगरपालिका, ईस्मा गाउँपालिका, मालिका, मदाने र धुर्कोटमा रहेका वर्तमान माध्यामिक विद्यालयहरु त्यति बेला प्राईमररी स्कुलमा रुपमा स्थापना गरेका थिए । कंकेदेउरालीमा एअरपोर्ट बनाउने उनको योजना भने अधुरै रहन पुगेको छ ।

गुल्मीबाट प्रथम मन्त्री भएका काँशीनाथ
तत्कालिन गृुल्मीका अर्का प्रथम माननीय काँशीनाथ गौतम साविक गुल्मीबाट प्रथम मन्त्री भएको ईतिहास रचेका छन् । उनी २०१९ साल असार १३ गते मन्त्री भएका थिए । उनको घर हालको अर्घाखाँचीका पोखराथोक खिदिम हो । उनी पनि २००४ सालको विद्यार्थी आन्दोलनदेखि नेपाली कांग्रेसको राजनीतिमा लागेका थिए ।

२०१५ सालदेखि २०४२ सालसम्म सांसद रहेका गौतम २०३८ सालमा यातायात मन्त्री समेत बनेका थिए । २०४२ सालमा सरकारको आर्थिक समिति सभापति रहेका गौतम २०४४ साल असोज २७ गते मृत्यु भएको उनकी छोरी तथा नेपाली कांग्रेसकी केन्द्रिय सदस्य पुस्पा भुसालले बताइन् । नेतृ भुसाल स्वर्गीय नेता गौतमकी कान्छी छोरी हुन् भने जेठी छोरी डाक्टर राज्यलक्ष्मी शर्मा गौतम हुन् । एक छोरा डाक्टर माधव गौतम र आमा शारदा गौतम रहेका छन् ।

लुम्विनी प्रदेश सांसद तथा विशेष अधिकार समितिका सभापति कमलराज श्रेष्ठका अनुसार २०१५ साल फागुन १ गतेका दिन संविधान बनाईयो र फागुन ७ गते देखि चैत्र २१ सम्म दुई चरणमा चुनाव गरिएको थियो ।कुल १ सय ९ सिटका लागि गरिएको चुनावमा नेपाली कांग्रेस ७४ सिट ल्याएको थियो । गोरखा परिषदले १९ सिट , संयुक्त प्रजातान्त्त पार्टी केआई सिंह गुटले ५ सिट जितेको थियो । नेपाल कम्युनिष्ट पार्टीले ४ सिट जितेको थियो । नेपाल प्रजा परिषद भद्रकालि मिश्र गुटले १ सिट, नेपाल प्रजा परिषद टंकप्रसाद आचार्य गुटले २ सिट र स्वातन्त्रले ४ सिट जितेका थिए ।

कांग्रेसले दुई तिहाई बहुमत ल्याउँदा पनि राजा महेन्द्रले बिपी कोइरालालाई सरकार बनाउन बाट महिनौं लम्बाइदिएका थिए । चैत्रमा निर्वाचन सकिएकोमा २०१६ सालको जेठ १३ गते बल्ल बिपी कोइरालाको नेतृत्वमा सरकार गठन भएको र गोरखा परिषदबाट प्रमुख प्रतिपक्ष दलको नेता रणधिर सुब्बा रहेको सांसद श्रेष्ठ बताउँछन् ।

देशकै पहिलो रक्षामन्त्री
अर्का प्रथम माननीयको इतिहास रच्ने गिरिप्रसाद बुढाथोकी भारतिय सेनाका क्याप्टेन थिए । उनलाई राजा महेन्द्रले भारतिय सेनाबाट नेपाली सेनाको बृत्ति विकासका लागि बोलाएको बताइन्छ । उनी नेपाली सेनाको मानार्थ मेजर जर्नेल रहेर काम गरे ।

जब २००९ सालमा पाल्पाबाट गुल्मी स्वतन्त्र जिल्ला बन्यो त्यतिबेला उनै गिरिप्रसाद बुढाथोकी गुल्मीका प्रथम बडाहाकिम भएर आएका थिए । उनी २०१९ साल असार १८ गतेका दिन पहिलो पटक गृहराज्य मन्त्री बनेको गुल्मीका अर्का पूर्वमन्त्री दयानिधी शर्माका जेष्ठ सुपुत्र करुणानिधि शर्मा बताउँछन् । पछि बुढाथोकी नेपाल कै प्रथम रक्षामन्त्री भएर गुल्मीको उचो शिर पारे ।

गुल्मीबाट तेस्रो मन्त्री बनेका शर्मा
२०१९ सालको निर्वाचनमा विजयी दयानिधी शर्मा गुल्मीको तेश्रो मन्त्री हुन् । उनी २०२३ साल साउन १६ गते भूमिसुधार कृषि तथा खाद्य सहायक मन्त्री भएका थिए । २०२४ साल जेठ १५ गते देखि २०२५ साल असोज ९ गतेसम्म उनी वन राज्यमन्त्री भएका थिए ।

पञ्चायतकालमा भार्सेका भिमबहादुर बुढाठोकी राष्ट्रिय पञ्चायतको सदस्य भए । उनका भतिजा अर्थात् गिरिप्रसाद बुढाथोकीका छोरा श्रीप्रसाद बुढाठोकी पनि पटक–पटक सांसद भए । बैकुण्ठबहादुर चन्द २०३८ सालदेखि २०४६ साल सम्म राष्ट्रिय पञ्चायतको सदस्य भए ।

२०४६ पछिका माननीय
२०४८ सालको चुनावमा भार्सेका झकबहादुर पुन साविक क्षेत्र नम्वर १ मा नेपाली कांग्रेसबाट विजयी भए । क्षेत्र नम्वर २ मा कांग्रेसबाटै भागवत ज्ञवाली विजयी भए । क्षेत्र नम्वर ३ मा रुद्रमणी शर्मा भण्डारी विजयी भए । यस्तै २०५१ सालको निर्वाचनमा क्षेत्र नम्वर १ बाट खड्ककोट कोरेङ गाउँका एमाले नेता रामनाथ ढकाल विजयी भए । क्षेत्र नम्वर २ मा एमाले कै थोर्गा निवासी कमलराज श्रेष्ठ विजयी भएका थिए । क्षेत्र नम्वर ३ मा तत्कालिन एमाले नेता टंक पोखरेल विजयी भएका थिए ।

२०५६ सालको निर्वाचनमा ठूलोलुम्पेक स्थित एमाले नेता फटिकबहादुर थापा विजयी भएका थिए । क्षेत्र नम्बर २ मा एमाले नेता प्रदिपकुमार ज्ञवाली विजयी भएका थिए । क्षेत्र नम्बर ३ मा एमाले नेता गोकर्णराज बिष्ट विजयी भएका थिए । २०६४ सालमा त्यस क्षेत्रमा बिष्टले हारे । माओवादीका चन्द्रबहादुर थापा (सागर) ले जिते । यता क्षेत्र नम्वर २ मा प्रदिप कुमार ज्ञवालीले र क्षेत्र नम्बर १ मा सुदर्शन बरालले जिते ।

२०७० सालको निर्वाचनमा क्षेत्र नम्वर १ मा बरालले हारे, कांग्रेसबाट नामै नसुनिएका र गाउँ मै नबसेका भार्सेका डाक्टर कृष्णप्रसाद छन्त्यालले जिते । क्षेत्र नम्वर २ मा ज्ञवालीले हारे, कांग्रेसका चन्द्र भण्डारीले जिते । क्षेत्र नम्वर ३ मा एमाले नेता गोकर्ण बिष्ट विजयी भए ।

२०७४ सालको निर्वाचनमा गुल्मी दुई वटा निर्वाचन क्षेत्र बन्यो । क्षेत्र नम्वर १ मा एमाले नेता ज्ञवालीले जितेर आफ्नो विरासत फर्काए । उता क्षेत्र नम्वर ३ मा नेता बिष्टले पनि जिते । २०६४ को निर्वाचन अघि सम्म सुदर्शन बराल संविधान सभाको विद्यायिका थिए । माओवादी कै उमा बिक पनि विद्यायिका थिइन् ।

पहिलो संविधान सभा चुनावमा माओवादीबाट आश्था बिक समानुपातिक सभासद बनिन् । दोश्रो संविधान सभा निर्वाचनमा माओबादी कै नेतृ सिर्जना तरामु समानुपातिकबाट सभासद भईन् । सोही निर्वाचनमा एमाले नेतृ दिलशो पुन पनि समानुपातिक सांसद भईन् । २०७० कै चुनावमा काग्रेसबाट सुवर्ण ज्वारचन (कान्छि दिदी) पनि समानुपातिकबाट प्रतिनिधी सभाको सांसद र बाणिज्य राज्य मन्त्री समेत बनिन् ।

२०७४ सालको निर्वाचनमा एमाले नेतृ रामकुमारी झाँक्री र अर्की पुरानी नेतृ मैना भण्डारी समानुपातिकबाट प्रतिनिधी सभा सदस्य भएकी छन् । पछिल्लो प्रदेश र प्रतिनिधीसभा चुनावमा माओवादी नेता सुदर्शन बराल संघिय सांसदबाट प्रदेश सांसदमा विजयी भए । यता एमाले नेता कमलराज श्रेष्ठ पनि संघिय सांसदबाट झरेर प्रदेश सांसदमा विजयी भए । यता एमालेका खड्क केसी र माओवादीका दिनेश पन्थी पनि प्रदेश सांसद भए । तर पन्थी एमााले प्रवेश गरे पछि उनको सांसद पद माओवादीले कार्बाही गरे पछि खारेज भयो । माओवादी नेतृ गिता थापा पनि समानुपातिक प्रदेश सांसद छन् ।

यस अवधीमा एमाले नेताद्धयः ज्ञवाली र बिष्ट धेरै पटक मन्त्री भए । माओवादी नेता वराल पनि लुम्विनी प्रदेश सरकारको तीन वर्ष सम्म सामाजिक विकास मन्त्री भए । एउटै गाउँ भार्सेमा एकै परिवारका ३ सहित ५ जना माननिय भए । २०५९ सालको शाहीकालमा हर्राचौरका धर्मबहादुर थापा पनि मन्त्री बने । जोहाङ्गका हरिप्रसाद न्यौपाने पनि चुनावी अन्तरिम सरकारका मन्त्री बने । हाल सम्मका यी सांसद ति मन्त्रीले ‘केहि गरेनन ’ भनेर आलोचना गर्नु अन्याय हुने छ । आ–आफ्नो कार्यकालमा जे जस्तो बजेट थियो त्यही अनुसारको विकास गरे ।

२०५१ सालमा आफुहरुले सांसद जिते पछि ‘आफ्नो गाउँ आफैबनाऔं’ भन्ने नारा सहितका कार्यक्रम ल्याईयो प्रदेश सांसद कमलराज श्रेष्ठ भन्छन् तर गाविसलाई बजेट जम्मा तिन लाख थियो । कम्युनिष्टहरुले ६० बर्ष पुगे पछि बृद्धहरुलाई गोली ठोकरे मार्छ भनेर विपक्षीले हल्ला चलाउँदै आएकोले उनीहरुलाई सम्मान गर्नु पर्छ भनेर मासिक सय रुपैयाँका दरले बृद्ध भत्ता लागु गरेका हौं ।’

२० वर्ष सम्मको विकासलाई तुलना गर्दा…
अहिले साविक गाविसको एउटै वडामा करोडौं बजेट पर्न थालेको छ । जसका कारण २० वर्ष अघिसम्म हुन नसकेको विकास पछिल्लो चार वर्षमा भएको स्पष्ट देख्न सकिन्छ । यस अवधीमा जनताको घर घरमा पानी धारा र खरका छानामुक्त गरि टिनका छाना विपन्न जनताका लागि उपहार जस्तै बनेको छ ।

पालिका कार्यलयका विभिन्न बिषयगत कार्यालयमा गाउँ कै मानिसले रोजगारी पाएको छ । बिकास निर्माणले पनि बेरोजगारहरुलाई रोजगारी सिर्जना गरेको छ । प्रदेश र स्थानीय सरकारले कृषिमा ब्यापक रुपमा लगानी गरेको छ । जसले गर्दा प्रायः धेरै जस्ता पालिका, मासु, दुध अण्डा र तरकारीमा आत्मानिर्भर हुनु सुरु भए संगै कृषकहरुमा आय–आर्जनको माध्यम बढ्दो छ । स्थानीय सरकारका जनप्रतिनिधी र कर्मचारीहरुको यो पहिलो कार्याकाल पालिकालाई संस्थागत गर्न सक्नु नै ठूलो प्रगति हो ।

हिजो जनताको घर–गोठमा पालिकाको कार्यालय स्थापना गरेका कैयौं पालिकाहरुले आफ्नै कार्यालय भवन बनाई सकेका छन् भने कोही निर्माणको चरणमा छन् । बिशेष गरि स्वास्थ्य सेवा जनताको घर आँगनमा पुगेको छ । शैक्षिक क्षेत्रमा पनि निकै सुधार भएको छ ।