ताजा अपडेट »

फलामे रडले डामेर वृद्धको हत्या : महिनौंसम्म रहस्यमय

विहीबार, २४ असार २०७८
2 Shares

गुल्मी । गुल्मीको सदरमुकाम तम्घासको उदिनढुङ्गा जिपपार्क नजिकै ओखे्रनीको एक धामी परिवारमा गत वर्ष भएको एक जना बृद्धको हत्या घटना गम्भीर रहस्यमय भएको पाइएको छ । गत वर्ष पुस २९ गते विहान त्यस टोलका रामप्रसाद श्रेष्ठ र माताजीका नाममा तान्त्रिकविधि अनुसार झारफुक गर्दै आएकी उनकी श्रीमती शान्तिला श्रेष्ठको घरमा ईस्मा गाउँपालिका–३ का ६४ वर्षिय रामबहादुर मुखिया पछाडि पट्टिको शरिरमा तातो फलाम र प्लाष्टिकको पाइपले डामेको अवस्थामा मृत फेला परेका थिए।

त्यसको अघिल्लो रातदेखि विहान बृद्ध मृत अवस्थामा भेटिने बेलासम्म मृतकका दुई छोराहरु हुमबहादुर कुमाल र उनका भाई कृष्णबहादुर कुमाल झारफुक गर्न आएकी रेसुङ्गा नगरपालिका ५ भुवनपानीकी ४० वर्षिय टोपली दमाई समेत घटना स्थलमा थिए । बिहान करिब साढे ५ बजेको समयमा घरधनी रामप्रसाद श्रेष्ठ भने प्रहरीलाई खबर गर्न भनि जिल्ला प्रहरी कार्यालयमा आएका थिए । उनी प्रहरी बोलाईसँगै गाडीमा घर आई पुग्दा बृद्ध विभत्स डामिएको अवस्थामा मृत भेटिएका थिए ।

उनी भन्दा विभत्स शरिरभरी नै डामिएको अवस्थामा गम्भीर घाईते थिईन् टोपली दमाई । उनलाई उपचारका लागि पाल्पा पठाईयो । यता मृतकका छोरा हुमबहादुर कुमाल र कृष्णबहादुर कुमालले धामी रामप्रसाद श्रेष्ठ र उनकी श्रीमतीले झारफुक गर्ने क्रममा फलामे रड, स्टिलको झाँझर आगोमा तताई पोली डामी बाबु हत्या गरेको भन्दै जाहेरी दिए ।

अन्ततः उसै दिन श्रेष्ठ दम्पत्ति पक्राउ परेका थिए । जिल्ला अदालत गुल्मीले उनीहरुलाई मुद्दा पुर्पक्षका लागि २०७७ साल माघ २६ गते कारागार थुनामा पठाएको छ । उनीहरु दुबै जनाले मृतक बृद्धलाई कसले कसरी डामेको भन्ने कुरा उनका दुई छोरा टोपली दमाईलाई थाह हुनु पर्ने तर आफूहरुलाई केहि थाह नभएको अदालतको वयानमा दावी गर्दै आएका छन् ।

प्रत्यक्षदर्शीले नै थाह पाएनौं भन्छन्
टोपली दमाईको मुहार, घाँटी, छाती र संवेदनशिल अंगमा समेत तोतो फलामले डामिएकी छन् । हाल काण्ठमाडौं लगायत विभिन्न स्थानमा उपचार गराएर घर फर्किएकी उनलाई भेट्दा अझै पनि उनका डर लाग्दा घाउहरु निको भई सकेका छैनन् । कुनै ठाउँ घाउहरु पाक्दै दुख्दै छन् । कसरी त्यत्रो घटना घट्यो ? भन्ने प्रश्नमा उनी भन्छिन्–‘ मलाई दिउँसै माताजीका श्रीमानले कुटेर घाईते बनाएका थिए ।

पछि झारफुक गरेर मेरो होस् गुमाई दिएछन , रातभर के के भयो केहि थाह पाईन् ।’ यस्तो विभत्स अवस्थामा दिउँसै डामीको भए तपाई दिउँसै प्रहरीकोमा उजुरी दिन गएको भए त्यस राती त्यति ठुलो घटना घट्दैन्थ्यो कि? भन्ने प्रश्नमा उनी भन्छिन्–‘ भन्न त मैले खिल्ध्वज ( कांग्रेस पाटी सचिव पन्थी छिमेकी समेत हुन् ) लाई भनेकी हुँ तर त्यहाँबाट निस्कनै मन नलाग्ने पारेका थिए । ’

उनको समस्या बुझ्न घर मै पुगेका संविधान सभा सदस्य तथा राष्ट्रिय दलित पत्रकार संघका केन्द्रि अध्यक्ष विनोद पहाडीले टोपली परियार धामीझाँक्री अन्धा बिश्वासका कारण पीडित बनेकोले सबैले सहयोग गरेर उपचार गर्नु पर्नेमा जोड दिए । घटना स्थल देखि टोपली दमाईको घरसम्म स्थलगत रुपमै बुटवलबाट बुझ्न आएका मानवअधिकारकर्मी समुन्द्र जिसी पनि घटना निकै रहश्यमय रहेको बिश्लेषण सुनाउँछन् । दिउँसैदेखि झगडा सुरु हुनु, रातीमा त्यस परिवारका कुनै पनि सदस्य र त्यहाँ आएका स्वयम मृतकका छोरा समेत र टोपलीले समेतले ति बृद्धलाई कसले कति बेला त्यसरी डाम्यो भन्ने थाह नभएको बताउँनुले घटना निकै रहश्यम छ ,– जिसीले भने–‘ प्रहरीको न्यायिक निकायले यस घटनालाई अर्को पाटोबाट पनि अनुृसन्धान गर्न जरुरी देखिन्छ ।’

जिसी थप्छन् –‘ घटना स्थल अगाडि, माथि अलिपर यति धेरै मानिसको बसोबास हुनु , ठिक अगाडी मोटरबाटो हुनु , शरिरभरी ज्याननै सिरिङ्ग हुने गरि बृद्धलाई त्यसरी डामेर मार्ने बेला सम्म ति बृद्ध चिच्चाउनु पर्ने , बाहिरको मान्छेले त सुन्न सकेन छन् । तर ,घर भित्रै रहेका मानिसले सम्म थाह पाएनौं भन्नु झन अचम्म लाग्दो कुरा छ । ’हुमबहादुर कृष्णबहादुर कुमालका दाजु भाईसँग बाबुलाई कसले डामेर मार्यौ भन्ने कुरा थाह पाउन किन सक्नु भएन त ? भन्ने प्रश्नमा उनीहरुले भने राति नै श्रेष्ठले हानेर आफूहरु प्रतिकार गर्न नसक्ने अवस्थामा भएको , उनीहरुले आँखा नै देख्न नसक्ने बनाएकोले त्यति कै सुतेको बताए ।

हुमबहादुरले बयानमै यस्तो भनेका छन्–‘उक्त घटनामा म घाइते भएको हुँ । निज प्रतिवादी राम प्रसाद श्रेष्ठले सो बेलामा मलाई झाँझरले हाने, र सो बेला प्रतिकार गर्न खोज्दा म उठ्नै नसक्ने भएको थिएँ । अर्की म संगै सोही स्थानमा झारफुक गराउन भनि आएकी टोपली दमाई समेतलाई निज प्रतिवादी रामबहादुर श्रेष्ठले हानेका थिए ।

आगोको अगुल्टोले मुख आँखा र खुट्टामा हानेका थिए निज प्रतिवादी श्रेष्ठले। निज श्रेष्ठले मलाई हानी घाईते भई मेरो आँखा दुखी बन्द भएकोले म सोही स्थान मै निदाएको रहेछु । भोली पल्ट विहान साढे ५ बजेतिर ब्युँझीदा प्रतिवादी रामबहादुर श्रेष्ले मेरो बुवा रामबहादुर मुखियाको टाउँको भुँईमा तिन पटक सम्म ठोक्काएको थाह पाएको हुँ, सो बेला मेरो बुवा कराएको आवाज केहि सुनिन् । त्यस पछि निज प्रतिवादी रामबहादुर श्रेष्ठ बाहिर निस्की गएका हुन्।

मेरो शरिर दुखेका कारण मैले सो बखतमा उठेर हेरिन् । विहान अन्दाजी ७-८ बजेको समयतिर उठी हेर्दा बाबुको मृत्यु भई सकेको अवस्थामा देखेको हुँ । घटना घटेको समयमा मृत्यु भएको मेरो बुवा , जाहेरवाला मेरो भाई कृष्णबहादुर कुमाल, म ( जेठो छोरा हुमबहादुर कुमाल ) धामी प्रतिवादी रामप्रसाद श्रेष्ठ , शान्तिला श्रेष्ठ , निजको स–साना छोरा छोरी मात्र थियौं । अन्य कोही थिएनन् ।घटनामा प्रयोग भएका फलामे रड, केहि भाग जलेको प्लाष्टिकको पाईप , विड नभएको स्टिलको जस्तो देखिने झाँझर , कैची , जलेको कुचो , झाडु , देखे सोही चिज वस्तुहरु आगोमा तताई जलाई बुवा रामहादुर मुखिया र घाईते टोपली दमाई र म समेतलाई पोली डामी उपचार गराउने क्रममा बुवाको मृत्यु भएको हो । ’

‘कसैले दिए खाने हो नत्र भोकै बस्छौं’
हत्या आरोपी श्रेष्ठ दम्पत्तीकी जेठी छोरी १६ बर्षीया सुप्रभा श्रेष्ठ , उनकी बहिनी १४ बर्षीया सुदिक्षा श्रेष्ठ र ९ बर्षीया भाई सन्तोष श्रेष्ठ त्यही विभत्स हत्या भएको त्यही टहरा मुनी बस्छन् । विहान अबेरसम्म छाक अड्किन्छ ।अलिपर डेरा गरेर बस्ने महिलाहरु कहाँ कहिले चामल दाल तेल दिनुस् त अन्टी भन्दै निन्याउरो मुख लगाउँदै आउने जाने गरेको देख्न सकिन्छ । झन अहिले लकडाउन पछि उनीहरु ठूलो विपद्मा परेका छन् । सुप्रभा भन्छिन् –‘ तिनै जनाले गण्डीकी बोर्डिङ्ग स्कुलमा पढ्थ्यौं , फिस नबुझाएकै दुई बर्ष भई सक्यो । त्यस बोर्डिङ्ग स्कुलले उनका आफन्तलाई दिएको जानकारी अनुसार २ लाख ५३ हजार १ सय ५० रुपैयाँ उनीहरुले तिर्न बाँकी छ । त्यो नतिरेसम्म अन्यत्र पढ्न जानका लागि शैक्षिक प्रमाण पत्र रोकिने भएको छ ।

सुप्रभा सुनाउँछिन्–‘ पसलमा उधारो रासन दिन छाडे । वरी पर चिनेका आन्टीहरुकहाँ गएर छाक टार्दै आएका छौं । हाम्रा बाबा आमालाई फसाई दिए । ती आन्टिले अघिल्लो दिनै तिमीहरुलाई फसाएरै छाड्छु भनेर कराउनु भएको थियो । बाबाले गई हाल यहाँबाट भन्दा पनि नमानेर बस्नु भएको थियो । दिउँसै देखि उनीहरु कराएको रेकर्ड बाबाले मोवाईलमा गर्नु भएको थियो ।तिमीहरुको यो सबै रेकर्ड भोलि विहानै प्रहरीलाई लगेर सुनाउँछु भन्नु भएको थियो । त्यस पछि मनेका कान्छा छोरा हाम्रो बाबाको छाती माथी चढेर मोवाईल खोसेर आगोमा फालेर नष्ट गरि दिनु भयो । थप कुट्दै गरेको देखेर मैले गएर छुटाएकी हुँ । राति हामी भित्र सुतेका हौं । उनीहरु बाहिर आगो बालेर बसेका थिए । विहान त्यस्तै ५ बजेतिर बाबा प्रहरीमा जान्छु भनेर निस्कीनु भयो । त्यस पछि ६ बजेरित म ट्यूशन जान हिडेकी हुँ , त्यति बेलासम्म ढोकाको मुखमा सुत्न भएका ती बुढा मान्छेलाई केहि भएको मैले देखेकी थिइन्।

उनको त्यो भनाई कति सत्य हो , प्रहरीको सोधुपुछ अनुसन्धानले पुष्टि गर्ला र उनका बाबु आमा अदालतले दोषी ठहर गरे हदै सम्मको सजाएको फैसला पनि सुनाउला । तर ति छोरा छोरीको विचल्ली भएको छ उनीहरुलाई दयालु मनहरुले सहयोगको हात फैलाउन जरुरी देखिएको छ ।

‘डर लाग्दो घटनाको बयान बनावटी’
पाडा भैसीको छाला खोईलाए जस्तो गरि ति बृद्धलाई डाम्दै चरम याताना दिएर हत्या गरेको तस्वीर हेर्न नसक्ने खालको छ । घटना त्यति डर लाग्दो हुँदा पनि आरोपितका छोरा छोरी , मृतकका पनि दुई छोराहरु र टोपली दमाई सम्मको बयान बनावटी जस्तो देखिने केहि कानून ब्यबसायीहरुको पनि तर्क छ ।

दिउँसो दुई बजे नै आफुलाई श्रेष्ठले हातपात गरेको बताउने टोपलीले साँझसम्म पनि गुहार नमागेर किन त्यसै घरमा जवरजस्ती बसिन् ? यस्तो सवाल पनि श्रेष्ठका आफन्तजनले गरेका छन् । उनी दिउँसै घर फर्केको भए राति वा विहानपख त्यति डर लाग्दो घटना नघट्ने घटना बुझ्न पुग्नेहरुको आंकलन छ । त्यस्तै स–साना तिन बालबालिका , एक जना पुरुष श्रेष्ठ र उनकी श्रीमतीको आक्रमण प्रतिकार गर्न सकेनौं भनेर मृतका दुइ बलिया–बाङ्ग छोराहरुले भन्नु पनि पत्यार लाग्दो छैन् । ल भलै प्रतिकार गर्न सकेन छन्’रे । तर जस्तो सुकै अफ्ठ्यारो भिरहोस् वा खोला , कसैले बन्धक बनाएर मार्न खोजोस् वा फलामे साङलोले बाँधेर सुलीमा चढाओस् र पनि एक मुठी सास रहे सम्म मानिस बाँच्नका लागि अन्तिम सास सम्म अन्तिम प्रयास गरेकै हुन्छ ।

बाबु त्यसरी निर्मम ढंगबाट डामीनु कुटिनु , आफै पनि त्यो परिवारका सदस्यबाट डामीनु कुटिनु परेको बताउने मध्येका कुनै एक जना त त्यहाँबाट बाहिर निस्केर गुहार… गुहार …त भन्न सक्थे नि । किन त्यसो गरेनन् ?कि माताजी भनिएकी ति महिहलाको तान्त्रिक विधि त्यति शक्तिशाली छ जसले जति बेला चाह्यो मानिसलाई तत्काल बन्धक बनाउन सक्ने र मानसिक सन्तुलन गुमाई दिन सक्ने ?यदि ति महिला संग त्यस्तो चमत्कारिक शक्ति छ भने त उनलाई पक्राउ गर्ने प्रहरी, उनको बिरुद्ध बोल्ने जो कोहीलाई पनि त्यसै गर्छिन् कि भन्ने डर हुने देखिन्छ ।

गत १२वर्ष देखि तान्त्रिक विधिबाट झारफुक गराउँदै आएकी ति महिला सुरुमा उदिनढुङ्गा चोकै एक सटरमा बसेर हेरखोर गर्थिन् । उनकोमा मानिसको भिड र कमाई बढे पछि माधव ज्ञवालीको जग्गामा भाडा तिरेर टिनले बार्ने , छाउने गरेर गत तिन वर्ष देखि त्यहाँ बस्न थालेको स्थानीयले बताएका छन् ।यस रहस्यमय घटनाका सम्बन्धमा जिल्ला प्रहरी प्रमुख एसपी गोपालचन्द्र भट्टराईको ध्यानकृष्ट गराउँदा उनले आफू त्यस घटनाको धेरै महिना पछि गुल्मी आएकोले आफूले त्यस घटनाको फाईल पल्टाएर अनुसन्धान गर्न सकिने प्रतिकृया दिए ।

https://www.globalaawaj.com/archives/15255