ताजा अपडेट »

बुटवल उपमहानगरमा अपांगतालक्षित घरदैलो स्वास्थ्य सेवा

विहीबार, २४ असार २०७८

बटवल । अपाङ्गता भएकाहरुलाई लक्षित गरेर बुटवल उपमहानगरले घरदैलोमा प्राथमिक स्वास्थ्य सेवा उपलव्ध गराउन सुरु गरेको छ । उपमहानगरले अपांगताका सवालमा मानवअधिकारमैत्री सहर बनाउन ५ वर्षीय रणनीतिक योजना बनाएको छ । अस्पतालसम्म लैजान गाह्रो हुने र असहज हुने विभिन्न तहका अपाङ्गता भएका नागरिकका लागि घरमै पुगेर स्वास्थ्य अवस्थाको जानकारी लिने र प्राथमिक स्वास्थ्य सेवा तथा औषधि निःशुल्क उपलब्ध गराउने काम सुरु भएको उपमहानगरका प्रमुख शिवराज सुवेदीले जानकारी दिए ।

उपप्रमुख गुमादेवी आचार्य नेतृत्वमा स्वास्थ्यकर्मी, मनोपरामर्शदाता र कर्मचारीहरुको टोलीले बिहीबारदेखि घरदैलो अभियान सुरु गरेको छ । उपमहानगरका १९ वटै वडामा रहेका अपाङ्गता भएकाहरुको लगत संकलन गरि उनीहरुको अवस्थाको विश्लेषण गरेर प्राथमिकताका आधारमा यस्तो अभियान सुरु गरिएको उपप्रमुख आचार्यले बताइन् ।

बुटवलमा विभिन्न १० प्रकारका अपाङ्गता भएका करिब १३६५ जना रहेको तथ्यांक संकलन भएको छ । अहिले सुरु भएको घरदैलो स्वास्थ्य सेवाको पहिलो कार्यक्रम क र ख वर्गमा रहेका ३ सय २३ जनालाई पुर्याइने छ । त्यसपछि ग र घ वर्गका लागि अवस्था अनुसारका सेवा उपलव्ध गराउनेगरि तयारी भइरहेको उपमहानगरका महाशाखा प्रमुख तुलसा अर्यालले बताइन् । घरदैलो स्वास्थ्य सेवाका अतिरिक्त बुटवलले अपांगता भएकाहरुलाई उनीहरुको रुचिका आधारमा विभिन्न सीपमूलक तालिमको समेत व्यवस्था मिलाएको छ । सीपमूलक तालिम लिएकाहरु मध्ये कतिपयले स्वरोजगारमा उदाहरणीय काम गरेको नगर अपांगता समन्वय समितिका सदस्य सावित्रा घिमिरेले जानकारी दिए ।

लक्षित वर्गका लागि सहायता सामग्री, उपचार, सीपमूलक तालिम, अभिभावकमा सचेतना तथा छात्रवृत्तिका कार्यक्रम सञ्चालन गरिएको छ भने तीन वटा आश्रमलाई थप व्यवस्थित बनाउने काम सुरु गरिएको उपमहानगरले जनाएको छ । उजेलापुर, तामनगर र देवीनगरमा गरी तीन वटा आश्रममा करिब एक सय जना अपांगता भएका समुदायलाई हेरचाह गरिएको छ । अपांगता भएकाहरुलाई शिक्षा, परामर्शलगायतका काम गर्दै आएका सुस्त मनस्थिति बाल विद्या मन्दिरका लोकनाथ भुषालले बुटवलले अपांगता लक्षित घरदैलो स्वास्थ्य सेवा सञ्चालन गरेर मुलुकमै नमुना काम गरेको उल्लेख गरे ।