ताजा अपडेट »

लुम्बिनी प्रदेश मुकाम बुटवलका मुख्य सडकमा खाल्डै–खाल्डा(फोटो फिचर)

बुधबार, २३ असार २०७८
1 Shares

बुटवल । पटक–पटक देशमै उत्कृष्ट नगर घोषणा भएको, लुम्बिनी प्रदेशकै मुकाम रहेको रुपन्देहीको बुटवल उपमहानगरका मुख्य सडकमा नै खाल्डै–खाल्डा छन् । उत्कृष्ट नगर,प्रदेश मुकाम,उत्तर–दक्षिण सिथार्थ राजमार्ग र पूर्व–पश्चिम महेन्द्र राजमार्गको संगम स्थल रहेको उपमहागरका मुख्य सडकका खण्डमा नै सयौं खाल्डा–खुल्डी हुँदा पनि सरोकारवालाको ध्यानाकर्षण र समाधानका लागि चासो र सक्रियता भने देखिँदैन । देशका विभिन्न स्थानमा जाने सवारी तथा यात्रुदेखि स्थानीय जनप्रतिनिधि , प्रदेशका सांसद्, मन्त्री , मुख्यमन्त्री समेत दैनिक सवार गर्ने शहरका मुख्य सडकमा खाल्डै–खाल्डा हुँदा ती सडक भएर गुज्रने जो कोहीको मनमा आक्रोश उत्पन्न हुन्छ ।

अन्य समयमा पनि खाल्डा–खुल्डी हुने ती सडकमा वर्षायाममा थप हुने र समस्या हुँदै आउने गरेको छ । अर्कोतर्फ विस्तार,विकास र निर्माणका नाममा वर्षायाममा सडक भत्काउने पुरानै प्रवृत्तिको निरन्तरताले यात्रुलाई सास्ती बढेको छ ।लुम्बिनी प्रदेशको मुकाम बुटवल, यहाँ प्रदेशका सबै मन्त्रालय, प्रदेशसभा लगाएत रहेका छन्।मुख्य सडकहरु एवम् चोक–चोकमा वर्षायाम शुरु भएसँगै खाल्डा–खुल्डी हुनु सामान्य जस्तै बनेका छ। बैशाखदेखि नै पानी पर्न शुरु हुने भएकोले पनि सडकको अवस्था बिग्रेपछि सडकका खाल्डा–खुल्डीले दुर्घटनाको जोखिम बढाइरहेको छ। लुम्बिनीको उद्योग वन तथा वातावरण मन्त्रालय अगाडि नै सडक बिग्रेको छ । मन्त्री एवम् मन्त्रालयका कर्मचारीहरु सोही बाटो हिँडेपनि त्यसको मर्मत सम्भारतर्फ चासो र प्रयास छैन ।

यता लुम्बिनी प्रदेश सभा सचिवालय छिर्ने बाटो पनि उस्तै छ। प्रदेशका सांसदहरु, मन्त्रीहरु र मुख्यमन्त्री समेत बैठकमा पुग्ने बाटोमा पनि कैयौँ खाल्डा–खुल्डी रहेका छन्।बुटवलको राजमार्ग चौराहा, मिलनचोक, अस्पताल लाइन लगाएतका सडकमा सैयौँ खाल्डा–खुल्डी रहेका छन्।त्यस्तै सडक विस्तार थालनी भएको योगीकुटी–बसपार्क बाइपास सडकमा पनि विभिन्न अवरोधहरु रहेका छन् । नाली तथा निकासका लागि सडक भत्काउँदा र समयमा निर्माण नगर्दा कालिकानगरदेखि मिलन चोकबीच सडक अवरुद्ध नै भएको छ । दैनिक सयौं सवारी साध चल्ने सडक समयमा निकास नहुँदा सो क्षेत्र व्यापारी –व्यवसायी पनि मर्कामा परेको बताउँछन् ।

मुख्य र सहायक सडक मात्रै नभई बुटवलका अधिकांश क्षेत्रका सडकमा अहिले खाल्डै–खाल्डा छन् । त्यसैगरी खाल्डा र निर्माणका नाममा सडक भत्काउँदा विभिन्न स्थानमा सवारी जाम हुने गरेको छ । सामान्य वर्षा हुँदा पनि मुख्य सडकमा भल आउने अवस्थाले पनि सडकमा खाल्डा–खुल्डी बढ्दै गएका छन् । हेरौँ तस्वीरहरु।