काठमाडौँ । एमालेमा लागेका पूर्वमाओवादी नेताहरू नेकपा (माओवादी केन्द्र)को दर्ता खारेजीको माग गर्दै निर्वाचन आयोगमा पुगेका छन् ।
माओवादी केन्द्रको कारबाहीमा परेका पूर्वसांसद रामबहादुर थापा ‘बादल’ समूहका लीलाबहादुर थापा, दिनेश पन्थी, रामचन्द्र मण्डल, गिरिधरी न्यौपानेलगायतका नेता आयोगमा पुगेका हुन् । कानुनअनुसार गर्नुपर्ने माओवादीको महाधिवेशन अहिलेसम्म नभएकोले यस्तो अवैधानिक पार्टीले कारबाहीलाई कसरी वैधानिक मान्ने भन्दै उनीहरुले माओवादी केन्द्रकै खारेजी माग गरेका छन् ।
आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार माओवादी केन्द्र अवैध रहेको दाबी गर्दै दल दर्ता खारेजीको माग गरेर निवेदन दर्ता भएको छ । नेता बादलसहित टोपबहादुर रायमाझी, प्रशु साह, गौरीशंकर चौधरी, लेखराज भट्टलगायत नेताहरु पार्टी परिवर्तन गरेर नेकपा एमालेमा प्रवेश गरेपछि माओवादी पार्टीले कारवाही गरेको थियो ।
माओवादीबाट कारवाही परेसँगै उनीहरुको सांसद पद खारेज भएको थियो । नेता साह, रायमाझी, भट्ट र चौधरी माओवादी केन्द्रबाट प्रत्यक्ष निर्वाचित प्रतिनिधिसभा सदस्य थिए ।
प्रतिक्रिया