ताजा अपडेट »

गोकर्णराज शास्त्री: पहिलो जिल्ला सभापति

मंगलबार, २२ असार २०७८
2 Shares

गुल्मी । २००४ सालमा नेपाली कांग्रेस निकट विद्यार्थी संगठनले सुरु गरेको जयतु संस्कृतम आन्दोलनबाट राजनीति यात्रा सुरु गरेका गुल्मीका गोकर्णराज सास्त्री ‘गौतम’ गुल्मीको पहिलो जिल्ला सभापति हुन् । जिल्लाका पुराना नेकपा एमाले नेता तथा लुम्बिनी प्रदेश सांसद कमलराज श्रेष्ठले सास्त्री गुल्मीको पहिलो जिल्ला सभापति भएको बताए ।

वि.स. २०५१ सालको निर्वाचनमा प्रतिनिधी सभाको सदस्यमा समेत विजयी श्रेष्ठले २०२० सालमा राजा महेन्द्रले गराएको राष्ट्रिय पञ्चायतको निर्वाचनमा सास्त्री जिल्ला सभापति निर्वाचत भएको बताए । उनका अनुसार सास्त्री पुराना नेता भएपनि २०१५ सालमा भएको निर्वाचनमा उनलाई नेपाली कांग्रेसले टिकट दिएन। त्यतिबेला हालको रेसुङ्गा नगरपालिका र साविक तम्घास गाविस लक्ष्मीपुर गाउँपञ्चायत थियो । उता रिडी, थोर्गा–थानापति, ग्यादी लगायत जोडिएको सिमापुर गाउँपञ्चायत थियो ।

२०१९ सालमा भएको चुनावमा उनी त्यस गाउँपञ्चायतको प्रधानपञ्चमा निर्वाचित भएका थिए । त्यसपछि २०२० सालको निर्वाचनमा जिल्ला सभापति भए लगत्तै उनी राष्ट्रिय पञ्चायतको सदस्य बनेका थिए । लगातार उनी चारपटक राष्ट्रिय पञ्चायतको सदस्य बनेको श्रेष्ठले बताए । हालको रुरुक्षेत्र गाउँपालिका–३, थाेर्गामा विक्रम संवत १९७७ साल भदौ महिनामा जन्मिएका सास्त्री २०३६ सालसम्म राजनीतिमा सक्रिय थिए । उनको कार्यकालमा गुल्मी जिल्ला मै पहिलो ठूलो थोर्गा खानेपानी योजना सम्पन्न भएको थियो । उनी तानसेन–तम्घास मोटरबाटो खन्ने कार्यमा पनि बैकुण्ठ बहादुर चन्दसँग जोडिएको सांसद श्रेष्ठ बताउँछन् ।

जिल्लाका विभन्न विद्यालय स्थापना गर्नमा उनको देन रहेको श्रेष्ठ स्मरण गर्दछन् । उनको २०४९ साल भदौ ११ गते मृत्यु भएको श्रेष्ठले बताए । उनकी जेठी श्रीमतिको पहिल्लै मृत्यु भएको थियो र उनले थोर्गाकै उर्मिला श्रेष्ठसँग दोश्रो विवाह गरेकाे थियाे । सास्त्रीका जेठा छोरा शिशिर गौतम नवलपासीको वर्दघाट नगरपालिकामा बसोबास गर्ने श्रेष्ठले बताए । त्यस्तै कान्छा छोरा संजिव गौतम नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकबाट अवकाश लिएर काठमाण्डौंमा बसोबास गर्दछन् । तीन छोरी मध्ये जेठी गिता गौतम ज्ञवाली, बिन्दु आचार्य र कान्छी गोमा आचार्य छन् । हाल रुरुक्षेत्र गाउँपालिकाको अध्यक्ष रहेका निलकण्ठ गौतमले (सास्त्री) गौतम परिवारको विरासत थामेका छन् ।

गोकर्णराज सास्त्री पछि २०२१ साल तिर दयानिधी शर्मा जिल्ला पञ्चायतको सभापति रहको उनका जेष्ठ सुपुत्र करुणानिधी शर्माले बताए । उनी पछि वामीका मित्रबहादुर रायमाझी जिल्ला सभापति भएका थिए । त्यसपछि अग्लुङ्गका बैकुण्ठ बहादुर चन्द जिल्ला सभापति भए । लामो समय राष्ट्रिय पञ्चायतको सदस्य रहेका चन्द पञ्चायतको अन्तिम माननीय थिए । त्यसपछि पौदी अमराईका रविलाल थापा जिल्ला सभापति भए र उनी नै पञ्चायतको अन्तिम जिल्ला सभापति रहेका थिए । बहुदल पश्चात २०४८ सालको निर्वाचनमा नेपाली कांग्रेसबाट भाडगाउँका, चन्द्रबहादुर केसी जिल्ला सभापतिमा निर्वाचित भएका थिए ।

२०५१ सालको निर्वाचनमा नेकपा एमालेका कौशल पोखरेल जिल्ला सभापतिमा निर्वाचित भएका थिए । उनी नै बहुदलको अन्तिम सभापति थिए र उनको स्वर्गारोहण भइसकेको छ । गणतन्त्र र संघीयता पछि प्रथम जिल्ला समन्व्य प्रमुखमा निर्वाचित भएका छन् लक्ष्मण पराजुली । आफू अघिका कुनै एक जना पनि पूर्व जनप्रतिनिधीहरुको तथ्यांक जिल्ला समन्व्यमा नभएपछि पराजुलीले जिम्मेवारी सम्हाले लगत्तै सबै जनाको तथ्यांक तयार पारेका छन् ।