नवलपरासी । पश्चिम नवलपरासीमा एक हप्ताका लागि आठौं पटक निषेधाज्ञा थप गरिएको छ । जिल्ला कोभिड व्यवस्थापन समिति र जिल्ला सुरक्षा समितिको निर्णय अनुसार असार २१ गते राती १२ बजेदेखि असार ३१ गते राती १२ बजेसम्मका लागि निषेधाज्ञा थप गर्ने निर्णय गरिएको छ । यसअघि असार १४ गते थपिएको निषेधाज्ञाको समय गएराती १२ बजे सकिएको छ ।
अब अत्यावश्यक बाहेकका पसल व्यवसाय साँझ ४ बजेपछि सञ्चालन गर्न नपाइने भएको छ । यसअघि आवश्यक स्वास्थ्य सुरक्षाका मापदण्ड अनिवार्य पालना गर्ने र पाँच बज्ने वित्तिकै अत्यावश्यक बाहेका सबै पसल व्यवसाय बन्द गर्न प्रशासनले निर्णय गरेको थियो ।
साथै बिहान नौ बजे देखि साझ ५ बजे सम्म होटल तथा रेष्टुरेण्ट व्यवसाय पनि खोल्न पाईने छ तर होम डेलिभरी वा टेक अवे मात्र गर्न पाईने छ । पार्टी प्यालेस र होटलमा व्यक्ति बसालेर सेवा गर्न भने पाईने छैन । यस्तै बैंक तथा वित्तिय संस्थाहरु खुला नै रहने छन् । आवश्यक स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी यात्रुहरुबीच भौतिक दुरी कायम गरी यातायात सञ्चालनलाई निरन्तरता दिइएको छ ।
जोर गते जोर नम्बर र बिजोर गते विजोर नम्बरका आधारमा यात्रुवाहक सवारी साधन सञ्चालन गर्न पाउने छन् । बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म भौतिक दुरी कायम गरी सवारी साधन सञ्चालन गर्न पाउने प्रशासनले जनाएको छ । निजि सवारी साधनको हकमा पनि यात्रुहरुबीच भौतिक दुरी कायम हुने गरि सञ्चालन गर्न पाउने सूचनामा भनिएको छ ।
बार अनुसार स्थानिय तह तोकेर बैंक तथा वित्तिय संस्थाले सेवा प्रदान गर्ने पनि प्रशासनले जनाएको छ । सिमा नाकाबाट भईरहेकोे आवातजवातलाई रोक्न कडाई गर्ने भएको छ । कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सैलुन, खेलकुदका कार्यक्रम, विद्यालय भने सञ्चालन गर्न पाईने छैन । प्रशासनले निषेधाज्ञा थप खुकुलो बनाई केही क्षेत्रमा प्रतिबन्ध लगाएपनि निषेधाज्ञा कार्यान्वयन भने फितलो छ ।
आवश्यक स्वास्थ्य सुरक्षाका मापदण्ड नअपनाई भिडभाड पनि बढ्दै गएको छ । जिल्लामा नयाँ भेरिएन्टसहितको कोरोना भाइरस संक्रमण तिव्रगतिमा फैलिन थालेपछि बैशाख २१ गतेदेखि निषेज्ञाधा जारी भएको हो ।
यसअघि गत बैशाख ३१ देखि जेठ १५ सम्म दोश्रो पटक, जेठ १५ देखि २२ गतेसम्मका लागि तेश्रो पटक, जेठ २२ देखि ३१ गतेसम्म चौथो पटक, जेठ ३१ देखि असार ७ गतेसम्म पाँचौ, असार ७ देखि १४ गतेसम्म छैठौं र असार १४ देखि २१ गतेसम्म सातौं पटकका लागि निषेधाज्ञा थप गरिएको थियो । निषेधाज्ञाका कारण सङ्क्रमण फैलिएर भयावह अवस्था आउनबाट रोकेको तर अहिले पनि जोखिम कायमै रहेकाले निषेधाज्ञा थप्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।
प्रतिक्रिया