लुम्बिनी के हो?
कपिल र कोलिय राज्यको विचमा रहेको सालवनमा सुन्दर लुम्बिनी बगैचाको निर्माण गरिएको थियो । त्यो बगैचाको संरक्षण र उपयोग दुवै गणराज्यका मानिसहरुले गर्थे । यहि सुन्दर बगैचामा गौतम बुद्धको जन्म भएको थियो । गौतम बुद्धले आफ्नो जन्मभएको स्थान भएको कारणले मात्र नभई लुम्बिनी बगैचाको सुन्दरता, गुण र आध्यात्मिक महत्वको आधारमा लुम्बिनीलाई महत्व दिएको पाइन्छ ।
महापरिनिर्वाण सुत्रका ( दिग्घनिकाय : १६) अनुसार तथागतको महापरिनिर्वाण अगाडि शिष्य आनन्दद्वारा उनको धर्म–दर्शन एवं समर्थकहरूका बारेमा जिज्ञासा राख्ने काम भयो । धर्मलाई आदरश्रद्धा राखि अभ्यास सहित गरेको धर्माचरण नै परमोत्तम भएको जानकारी दिएका तथागतबाट लुम्बिनी बगंैंचाको अर्थपूर्ण उद्देश्य एवं गुण स्पष्ट गर्दै आफ्ना विश्वासी समर्थकदेखि साधारण भक्तहरूलाई लुम्बिनी पनि पवित्र र महत्वपूर्ण रहेको जनाएर भ्रमण गरि पुण्यस्थल बनाउन सल्लाह दिएदिएका थिए ।
तेश्रो शताब्दीमा सम्राट अशोक लुम्बिनीमा आएर भावी पुस्तालाई लुम्बिनी चिनाउनको लागि शाक्यमुनिको जन्मस्थल यहि हो भन्ने उल्लेख गरि विशाल स्तम्भ राखेका थिए । सातौ शताब्दिसम्म प्रसिद्ध चिनिया यात्री फाहियान र हुयन सांंग लगायतले कपिलवस्तु, लुम्बिनी र रामग्राम भ्रमण गरेर यो क्षेत्रलाई चिनाउन महत्वपूर्ण भूमिका खेलेका थिए विभिन्न सामाजिक सास्कृतिक घटनाले गर्दा लामो समयसम्म यी क्षेत्रहरु लुप्त अवस्थामा पुगे ।
भारतमा ब्रिटिश पुरातत्वविदहरुले बौद्ध स्थलको खोजि गर्ने क्रममा कपिलवस्तु र लुम्बिनीको पहिचान भयो । १२२ वर्ष पहिले लुम्बिनी पहिचान भएपनि ६० वर्ष यता लुम्बिनी क्षेत्रको उत्खनन, प्रचार प्रसार भैरहेको छ । कछुवा गतिमै भएपनि लुम्बिनी, कपिलवस्तु, रामग्राम र देवदहमा विकास हुदैछ । यी कुरा सबैले देखिरहेको हुनाले चर्चा गरिरहनु आवस्यक भएन ।
वृहत्तर लुम्बिनी के हो?
वृहत्तर लुम्बिनी क्षेत्र कपिलवस्तुदेखि पश्चिम नवलपरासीसम्म फैलिएको छ । यस क्षेत्र अन्तर्गत तिलौराकोट देखि रामग्रामसम्म रहेका बुद्धसंग सम्बन्धित कुदान, लुम्बिनी, देवदह र रामग्राम जस्ता स्थानहरु पर्छन । क्रकुच्छंद बुद्धको जन्मस्थान गोटिहवा, कनकमुनी बुद्धको जन्मस्थान निग्लिहवा लगायतका १३० वटा पुरातात्विक क्षेत्रहरु कपिलवस्तुमा रहेको पुरातत्वविदहरुको ठहर छ ।
रुपन्देहीमा विश्व सम्पदा सुचिमा समाबेश गौतम बुद्धको जन्मभूमि लुम्बिनी, बौद्धकालिन शहर भएको विस्वास गरिने सैनामैना र देवदह रहेका छन् भने नवलपरासीमा कोलिय राजधानी भएको विस्वास गरिएको पण्डितपुर र बुद्धको सग्लो अस्तुधातु रहेको रामग्राम स्तुपा रहेका छन् ।. यी तिन जिल्लामा रहेका अनेकौ पुरातात्विक र सास्कृतिक थलोहरु वृहत्तार लुम्बिनी क्षेत्रभित्र पर्छन् । संयुक्त राष्ट्र संघका तत्कालिन महासचिव बान कि मूनले वृहत्तर लुम्बिनी विकासको अवधारणा ल्याए ।
महासचिव मुनको अवधारणा अनुसार दक्षिण कोरियाका प्राध्यापक क्वाकले लुम्बिनीलाई विश्वशान्तिको सहर बनाउने गुरुयोजनाको खाका तैयार पारेका छन् । शान्ति सहरमा आठवटा नगर बनाउने योजना छ । कपिलवस्तुको गोटीहवा, कुदान, तिलौराकोट, सग्रहवा, निग्लिहवा र नवलपरासीको रामग्राम, देवदह र लुम्बिनी क्षेत्रलाई समेटिने जनाइएको छ ।
नेपाल सरकारले वि.स. २०६७ सालमा वृहत्तर लुम्बिनी विकासको लागि राष्ट्रिय समिति गठन गरेको थियो भने त्यसको १० वर्ष पछी आएर आर्थिक बर्ष २०७७/७८ को बजेटमा सरकारले वृहत्तर लुम्बिनी क्षेत्रको गुरुयोजना तथा रामग्राम गुरुयोजना कार्यान्वयनमा ल्याउने बताएको थियो।
विकासको कछुवा गति
१० वर्षमा लुम्बिनी गुरुयोजना सम्पन्न गर्ने लक्ष्य रहेपनि गुरुयोजना शुरु भएको ४४ वर्षमा पनि यो लक्ष्य पुरा हुन सकेको छैन । लुम्बिनी क्षेत्रले कछुवा गतिमै भएपनि विकसित हुने अवसर पाएको छ । तिलौराकोट र कुदानले विस्तारै पहिचान बनाउदैछन् । रामग्राम र देवदहमा लुम्बिनी विकास कोषले भर्खरै चासो देखाउदै छ । पण्डितपुरको उत्खनन र वास्तविकता सार्वजनिक भएको छैन् ।
लुम्बिनी क्षेत्रले सबैको साथ र सहयोग प्राप्त गरेपनि अन्य बौद्ध स्थलहरु लुम्बिनीको छाँयामा परेका छन् । तिलौराकोट र लुम्बिनी बाहेक अन्यत्रको विकास र संरक्षणको ठोस योजनाहरु नहुदा बौद्धस्थलहरु मासिने सम्भावना बढेका छन् । लुम्बिनीको विकासको लागि अर्बौ खर्च भएपनि त्यहाँ बौद्ध वातावरण तयार भएको छैन. कंक्रिटका संरचनाहरुले लुम्बिनीलाई ढाक्दै गएका छन् ।
पर्यटकिय लाभ कति ?
नेपालमा मानिसहरु घुम्न आउने स्थान लुम्बिनी हो । सन् २०१५ मा १ लाख २९ हजार ११८ र सन् २०१६मा १ लाख ३६ हजार २५३ जना तेश्रो मुलुकका पर्यटक लुम्बिनी आएका थिए । सन् २०१५मा ७ लाख ४८ हजार २९४ जना आन्तरिक तथा बाह्य पर्यटकले लुम्बिनी भ्रमण गरेका थिए भने सन् २०१६मा यो संख्यामा करिब ७२ प्रतिशतले वृद्धि भै १२ लाख ८५ हजार ६८० पुगेको थियो ।
सन् २०१६मा लुम्बिनी पुग्नेहरु मध्ये १० लाख १५ हजार १५८ जना स्वदेशी थिए । सन् २०१७ मा १५ लाख ५२ हजार पर्यटक लुम्बिनी पुगेका थिए । यी मध्ये करिब १२ लाख ५० हजार जना स्वदेशी थिए ।सन् २०१९ मा १७ लाख ७९ हजार ८६ जनाले लुम्बिनी भ्रमण गरेकोमा १४ लाख एक हजार १७८ जना नेपाली र २ लाख ४ हजार ८२५ जना भारतीय थिए( कोरोना कहरले गर्दा सन् २०२० मा जम्मा २ लाख ७९ हजारले मात्र लुम्बिनी भ्रमण गरेका थिए) नेपालमा विदेशी पर्यटकले औषतमा १३ दिन विताउने भएपनि लुम्बिनी आउने विदेशी पर्यटकहरु मध्ये झन्डै ७३ प्रतिशतले त्यहा आधा घण्टा भन्दा कम समय विताउने गर्दछन भने ५ दशमलव ५ प्रतिशत पर्यटक एक घण्टा भन्दा बढी विताउने गरेको युनेस्कोले केहि वर्षअघि गरेको एक सर्वेक्षणले देखाएको छ ।
\खर्च गर्ने पर्यटक भन्दा पनि फोटो खिचेर फर्कने पर्यटकहरु लुम्बिनी पुग्ने भएकोले पर्यटन बजारमा लुम्बिनी पस्कन थालेको दशकौ भएपनि यो क्षेत्रले पर्यटनबाट लाभ लिन सकेको देखिदैन । लुम्बिनिमा पर्यटकहरुको संख्या राम्रै रहेपनि त्यहाँ उनिहरु लामो समय नबस्ने र अन्यत्र पनि नघुमि फर्कने भएकोले यो क्षेत्रले पर्यटकिय लाभ लिन नसकेको हो । तौलिहवा नजिक रहेका तिलौराकोट र कुदानमा केहि पर्यटकहरु पुग्ने भएपनि रामग्राम, पण्डितपुर देवदहमा विदेशी पर्यटकहरु दर्शन गरेर केहि घन्टामै फर्कने गरेका छन् ।
वृहत्तर लुम्बिनीबाट किन फाइदा लिन सकिएन ?
विस्वभरिका बौद्धमार्गी र शान्तिप्रेमिहरुको आस्थाको केन्द्र, पुरातात्विक अध्ययनको लागि खुल्ला संग्राहलय रहेको लुम्बिनी र वरपरको क्षेत्रबाट पर्यटकीय र धार्मिक लाभ लिन सकिएको छैन । विकासका नाममा बनाईएका कंक्रिटका संरचनाले बौद्धमार्गीहरुलाई आकर्षित गर्न सकेका छैनन् ।
प्राकृतिक बौद्ध वातावरण वृहत्तर लुम्बिनी क्षेत्रमा नहुदा पर्यटकहरुले बौद्धस्थलको स्वाद लिन सकिरहेका छैनन् । सबै बौद्धस्थलमा बौद्ध जनसंख्या अत्यन्त न्यून छ, जसले गर्दा वृहत्तर लुम्बिनी क्षेत्रले स्थानीयको अपनत्व प्राप्त गर्न सकिरहेको छैन । यो क्षेत्रको विकासको कुरा उठ्दा स्थानीयको जग्गा अधिग्रहण होला भन्ने दरले स्थानीय वासिन्दाहरु त्रसित भएकोले विस्तार र उत्खननमा कठिनाई भएको छ । बुद्ध र वृहत्तर लुम्बिनीको महत्व बुझाउन नसक्दा स्थानीय वासिन्दाहरु पर्यटन व्यवसायमा संलग्न हुनै सकेका छैनन् । भारत हुदै विदेशी पर्यटकहरु यस क्षेत्रमा आउने र उतैबाट टुर अपरेटरले व्यवस्था मिलाउने भएकोले पर्यटकलाई घुमाएर लाभ लिने अवसर यहाँका स्थानीय वासिन्दाले नगन्य मात्रामा पाएका छन् ।
तिलौराकोटदेखि रामग्राम अनि स्वर्गद्वारीदेखि रेसुंगा हुदै राम्दिसम्मका क्षेत्रहरु जोडेर पर्यटन प्याकेज ल्याउन नसकेकोले पर्यटकहरु लुम्बिनीमा मात्र खुम्चिएका छन् ।.पर्यटकलाई स्थानीय मौलिकता बेच्न सकिरहेका छैनौ । पर्यटन क्षेत्रले खपत गरेका सामाग्रीहरु विदेशबाट मगाईने भएकोले पर्यटन क्षेत्रले कमाएको आम्दानि पनि विदेश तिरै फर्केको छ । हामीसंग सम्पदा भएपनि सम्पदा बुझाउन सक्ने जनशक्ति छैन । पर्यटकलाई कुनैपनि ठाउँमा बाँध्न सक्ने कथा चाहिन्छ, तर हामीसंग कथा र कथा भन्न सक्ने दुवै उपलब्ध छैनन् ।
भारत हुदै लुम्बिनी र अन्य ठाउँमा आउने पर्यटकहरु भारतीय गाइडले बुनेको कथामा अलमलिने भएकोले नेपाली दृष्टिबाट लुम्बिनीलाई बुझ्न र बाहिर प्रचार गर्ने जान्दैनन् । यसले गर्दा पर्यटन विकासमा अवरोध उत्पन्न भैरहेको छ । लुम्बिनिको क्षेत्रको लागि भनेर गठन भएको लुम्बिनी विकास कोष राजनैतिक दुस्चक्रमा फँसिरहनु, लुम्बिनी बाहेक अन्य स्थानलाई पनि समान महत्व दिनुपर्छ भन्ने दृष्टि नहुनु जस्ता कारणले गर्दा वृहत्तर लुम्विनीको विकास, प्रवर्द्धन र लाभ लिने काम अति न्यून मात्रामा भैरहेको छ ।
वृहत्तर लुम्बिनीको सवालमा संचार क्षेत्र
लुम्बिनी क्षेत्रलाई नेपालको संचारको दोश्रो राजधानी मानिन्छ । छापा देखि रेडियो, टेलिभिजन र अनलाइन माध्यमहरु यो क्षेत्रमा निकै फस्टाएका छन् । तर हाम्रा मिडियामा बौद्ध स्थलले स्थान पाउन त्यहा कुनै गोष्ठी, कार्यक्रम, वृक्षारोपण वा भाषण हुनुपर्छ । लुम्बिनी विकास कोष भित्रका वेथितिले पनि मिडियामा राम्रै स्थान पाउने गरेका छन् ।
तर वृहत्तर लुम्बिनीमा आधारित खोज अनुसन्धान गरि समाचार सामाग्रीहरु प्रस्तुत गर्न काम निकै कम हुने गरेका छन् । श्रीलंका, थाइल्याण्ड, म्यानमारका मिडियाका हरेक अंकमा कुनै न कुनै बौद्ध सामाग्रीहरु हुन्छन भन्ने सुनिन्छ, तर यहाँका मिडियामा त्यो विरलै भेटिन्छ । लुम्बिनी र यसको वरपरका जिल्लामा रहेका बौद्ध स्थलहरुको आर्थिक, सामाजिक, सास्कृतिक, पुरातात्विक पक्षको स्वतन्त्र खोज गरि प्रचार प्रसार गर्ने काम नहुदा यी क्षेत्रको बारेमा जान्नको लागि विदेशी मिडियाहरु , सामाग्रीहरु नै हेर्नुपर्ने वाध्यता छ भने विदेशी पर्यटकहरु पनि विदेशी श्रोतबाटै जानकारी लिएर लुम्बिनी भ्रमणमा आउनु परेको छ ।
केहि वर्ष पहिले एउटा एनजीओले एउटा कार्यक्रम गरेर लुम्बिनीमा प्रदुषण बढेर पर्यटक टिक्ने नसकेको भनि सुनायो । नेपालका सबै मिडियाहरुले एनजीओले भनेकै कुरालाई हुबहु पस्के । स्थलगत अध्ययन र वायु प्रदुषणको तथ्यांकको स्वतन्त्र विश्लेषण गर्ने फुर्सद कसैलाई भएन । नेपाली मिडियाहरुको हवाला दिदै विदेशी मिडियाले पनि सोहि कुरा प्रचार गरे । भिक्षु नावातामेको हत्यालाई भारतीय र विदेशी मिडियाहरुले निकै उचाले ।
हामीहरुले यो क्षेत्रमा शान्तिका अभ्यास भएका कुराहरु हाम्रा मिडिया मार्फत बताउन सकेनौ । यसले अन्तत लुम्बिनिकै कुप्रचार भयो र पर्यटक आवागमन र बसाईमै असर पुग्यो । भारतका केहि व्यक्ति र मिडियाले लुम्बिनी भारतमा पर्छ भनेर कुनै कुनामा भनेको भएपनि हामीले त्यसलाई बढाई चढाई गरेर हल्ला गर्छा,, विरोध गर्छौ । भारतले सिद्धार्थ नगरमा बनाएको कपिलवस्तुको बारेमा धेरैलाई थाहा नहोला, तर हाम्रा मिडियाहरुले भारतमा नक्कली लुम्बिनी र कपिलवस्तु भन्दै थुप्रै सामग्री पस्कन्छौ र मानिसहरुलाई त्यता आकर्षित गर्र्छौ ।.
कपिलवस्तु, देवदह, रामग्राम लुम्बिनी किन महत्वपूर्ण छन् ? यिनीहरुलाई किन संरक्षण गर्नुपर्छ? यस्ता सम्पदाबाट कसरि लाभ लिन सकिन्छ भन्ने कुराको सहि जानकारी स्थानीय बासिन्दाहरुलाई नेपाली मिडियाले दिने सकेका छैनन् ।. वृहत्तर लुम्बिनी क्षेत्रको बारेमा जनमत सिर्जना गर्न, एकबद्धता प्राप्त गर्न र अपनत्व जगाउन मिडियाका सामाग्रीहरु महत्वपूर्ण हुने भएपनि एकाध बाहेक अधिकांश लुम्बिनी क्षेत्र सम्बन्धित सामाग्रीहरु औपचारिक कार्यक्रममा आधारित हुने भएकोले मिडियाले लुम्बिनी क्षेत्रलाई नागरिकसंग जोड्न सकेको छैन ।
वृहत्तर लुम्बिनी क्षेत्रको लागि संचार क्षेत्र
वृहतर लुम्बिनी क्षेत्रको विकास भन्ने बित्तिकै धेरैलाई यो क्षेत्रमा भौतिक विकास हुनुपर्ने भन्ने लाग्छ । वास्तवमा लुम्बिनीको विकास यसको भौतिक क्षेत्रमा उन्नति मात्र नभएर समग्र बौद्ध भूमिको उत्खनन, संरक्षण, प्रचार , बौद्ध वातावरणको निर्माण र पर्यटकीय लाभ प्राप्त गर्ने जस्ता कुराहरु पर्छन । यी सबै कार्यमा संचार क्षेत्रको महत्वपूर्ण भूमिका हुन्छ ।
क.बौद्ध स्थल र इतिहासको उजागरः
मुख्य बौद्ध स्थलको उत्खनन भैरहेको छ । तर वृहत्तर लुम्बिनी क्षेत्रभित्र थुप्रै पुरातात्विक एतिहासिक स्थलहरु रहेका हुन् सक्छन् । स्थलगत रिपोर्टिंगको क्रममा, स्थानीय वासिन्दाको सास्कृतिक अभ्यासको खोजीको क्रममा त्यस्ता सम्पदाको , स्थलको बारेमा जानकारी प्राप्त हुन् सक्छ । त्यस्तो जानकारीलाई ऐतिहासिक तथ्यसँग जोडेर अध्ययन गरि रिपोर्टिंग गरेमा अध्येताहरूलाई त्यसतर्फ आकर्षित गर्न सकिन्छ ।
ख. जनसहभागिता वृद्धि
जबसम्म स्थानीय बासिन्दाहरुले आफुलाई वृहत्तर लुम्बिनीको अंग मान्न सक्दैनन् तबसम्म यस क्षेत्रको विकास र पर्यटन प्रवद्र्धन सम्भव छैन । स्थानीय वासिन्दालाई लुम्बिनीको अंग महसुस गराउनको लागि यो क्षेत्रको महत्व र यसको विकास गर्दा हुने फाइदाको बारेमा बुझाउनु पर्छ । यो काम संचार क्षेत्रले विभिन्न तरिकाबाट गर्न सक्छ ।
राष्ट्रिय पर्यटन नीति २०६५ को नति ८ ख ले पनि पर्यटनमा जनसहभागिता बढाउन संचार माध्यमको उपयोगलाई जोड दिएको छ । त्यस बाहेक स्थानीय वासिन्दाहरुको समस्याहरुलाई खोजमूलक ढंगले उठान गरिदिएर सरकार, लुम्बिनी विकास कोष र स्थानीय विच रहेको भ्रम र द्वन्द निवारणमा सघाउनु पर्छ । “ गरिविमा शान्ति आउन सक्दैन“ भने कुरा क्वाकको वृहत्तर लुम्बिनी क्षेत्रको विकासको गुरुयोजनामा समेत परेको छ।
त्यसैले यस क्षेत्रमा रहेको गरिवीको कारणको खोजि गर्ने र त्यसलाई न्यूनीकरण गर्न पनि संचार जगतले नै सम्बन्धित निकायलाई घच्घच्याउनु पर्छ । गरिबि निवारणको उत्तम उपाय पर्यटन विकास नै हो । स्थानियतामा आधारीत पर्यटन ब्यवसाय, पर्यटनमा स्थानिय उत्पादन र श्रोतको उपयोग जस्ता कार्यले जनसहभागिता वृद्धि गरि दिगो पर्यटनको आधार तयार गर्न र गरिबि निवारण गर्न सकिन्छ ।
ग.बौद्ध दर्शनको विस्तारः
वृहत्तर लुम्बिनी क्षेत्रमा बौद्धमार्गीको संख्या निकै कम छ वि.सं. २०६८ सालको जनगणना अनुसार रामग्राम नगरपालिकामा बौद्धमार्गी जनसंखया ८१८ मात्र रहेको छ । त्यसैगरी देवदह नगरपालिकामा ५७४६ जना, लुम्बिनी सास्कृतिक नगरपालिकामा ७१ जना कपिलवस्तु नगरपालिकामा १०७ जना मात्र बौद्धमार्गी रहेको देखिन्छ ।
प्राचिन बौद्ध नगरी रहेको विस्वास गरिने सैनामैना नगरपालिकामा भने बौद्धमार्गी जनसंख्या ३४५७ जना रहेको देखिएको छ । बौद्ध स्थलमा नै बौद्धमार्गीको संख्या कम हुनुको मुख्य कारण बौद्ध दर्शनको प्रचारमा कमि हो । बौद्धस्थलमा बौद्धदर्शन बुझेका र बौद्ध मार्गिहरुको संख्या न्यून हुँदा यहाँ बौद्ध वातावरण निर्माण गर्न, सम्पदा संरक्षण गर्न कठिनाई भएको छ । पत्रिकाहरुले बौद्ध दर्शन सम्बन्धि नियमित स्तम्भ चलाएर अनि रेडियो टेलिभिजनले बौद्ध दर्शन सम्बन्धि कार्यक्रम प्रसारण गरेर बौद्ध दर्शनको प्रचार गर्न सक्छन् । समुदायमा बौद्ध दर्शनको ज्ञान बाँढेमा मानिसहरु बौद्ध स्थलको संरक्षण र विकासमा स्वस्फुर्त रुपमा संलग्न हुनेछन् । यसले बौद्ध पर्यटनमा सघाउ पुग्नेछ ।
घ.भ्रम निवारण र पर्यटकीय स्थलको बजारीकरण
वृहत्तर लुम्बिनी क्षेत्रको वास्तविक तथ्यको जानकारी सबैलाई छैन । भारतीय मिडिया र लेखकहरुले बारम्बार भारतमा भएका प्राचिन स्थललाई बौद्ध स्थल भन्दै प्रचार गरिरहेका हुन्छन् । यस्तो अवस्थामा संचार माध्यमका अनलाईन सस्करणमा विदेशी भाषामा नै सामग्री पस्केर भ्रम निवारणको काम गर्न सक्नुपर्छ । त्यसैगरी वृहत्तर लुम्बिनी क्षेत्र र यसको वरिपरी भएका पर्यटकीय स्थलको जानकारी र स्थानीयले टिप्न सक्ने कथा बनाएर प्रचार गरेर पर्यटकलाई आकर्षित गर्नुपर्छ ।
ङ.निगरानी र खबरदारी
मिडियाले लुम्बिनी क्षेत्रमा भएका बेथितिहरूलाइ उठाउने काम गरिरहेका छन् र गर्नुपर्छ. तर एउटा निकायको कमजोरी उठाउदा त्यसले समग्र लुम्बिनी क्षेत्रको छविमा कस्तो असर पुग्छ भन्ने कुरापनि ख्याल गर्नुपर्छ । कोष, सरकार र अन्य सस्थाहरुले लुम्बिनीको नाममा बेथिति गर्न नपाउन भन्ने कुरामा सजग हुनुपर्छ । बौद्धस्थल सम्बन्धि औपचारिक कार्यक्रमका समाचारलाई भन्दा सफलताका कथा र बेथितिको खबरदारीलाई महत्व दिनुपर्छ । केहि व्यक्तिले पर्यटकको भेषमा र के िसंस्थाहरुले समाजसेवाको नाममा नियोजित रुपमा लुम्बिनीलाई बद्नाम गर्न लागिरहेका हुन्छन, यिनीहरुका नियोजित सम्प्रेषित खबरले लुम्बिनीको पर्यटन प्रवद्र्धनमा वाधा पुग्ने भएकोले लुम्बिनी क्षेत्रका संचारकर्मीहरु सजग हुने पर्छ ।
तेश्रो शताब्दीमा सम्राट अशोक आएर लुम्बिनी, गोटिहवा र निग्लिहवामा स्तभ खडा गरेर यो क्षेत्रलाई भावी पुस्तालाई चिनाउने प्रयास गरे , हुयाँन सांग र फाहियान जस्ता चिनिया यात्रीले लुम्बिनी कपिलवस्तु रामग्राम क्षेत्र भ्रमण गरि यस क्षेत्रलाई विस्वभर चिनाउने काम गरे । अहिलेसम्म यिनै जगमा टेकेर वृहत्तर लुम्बिनीको विकासका कार्यहरु भैरहेका छन् । अब लुम्बिनीलाई उजागर गर्ने, अपनत्व दिलाउने, प्रचार गर्ने र पर्यटन विकासको बाटोमा डो¥याएर लाभ लिने वातावरण तयार गर्ने जिम्मा संचार क्षेत्रको हातमा आएको छ ।
सबै संचारकर्मिको एकै धारणा र एकै अभियानले वृहत्तर लुम्बिनी क्षेत्रको विकास र पर्यटन प्रवद्र्धनलाई द्रुत गतिमा एकैसाथ अघि बढाउन सक्छ । यसको लागि संचारकर्मीलाई बौद्ध परिवेश, बौद्ध इतिहास र सस्कृति, पर्यटन, भूगोलको बारेमा आधारभूत ज्ञान र सिप विकास गर्ने तालिम, प्रशिक्षण दिने कुरामा भने ध्यान दिनैपर्छ ।
अप्प दिपो भव :।।
प्रतिक्रिया