ताजा अपडेट »

भैरहवामा पहिलो पटक टनेल खेती, गोनहियामा २ वटा टनेल निर्माण

सोमबार, २१ असार २०७८

भैरहवा । जिल्ला सदरमुकाम भैरहवामा पहिलो पटक टनेल खेती गरिने भएको छ । भैरहवामा रहेको नेपाल बहुमुखी सहकारी संस्थाले संस्थागत रुपमै टनेल निर्माण गरि ब्यवसायीक तरकारी खेतीको सुरुवात गरेको छ । सहकारीले सिद्धार्थनगर नगर पालिका वडा नम्बर ९ गोनहियामा करिब ४ बिगहा जग्गा १० बर्षको लागी भाडामा लिई तरकारी खेती सुरु गरेको थियो । त्यस जग्गामा अहिले सहकारीले टनेल निर्माण गरि मौषमी एवम बेमौषमी तरकारी खेती गर्ने जनाएको छ ।

अन्र्तराष्ट्रिय गैर सरकारी संस्था जीआईजेडको आर्थिक सहयोगमा सहकारीले गोनहियामा २ वटा आधुनिक टनेल निर्माण सम्पन्न गरेको छ । सहकारीका अध्यक्ष शिवहरि अधिकारीले दिएको जानकारी अनुसार ११ लाख २८ हजार लागत अनुमान गरिएको उक्त प्रविधिको लागी जीआईजेडले ६ लाख ७१ हजार रुपैया प्रदान गरेको थियो । जसमध्ये टनेल निर्माणमा मात्र ६ लाख ९५ हजार खर्च भएको अधिकारीको भनाई छ । ४ लाख ५७ हजार रुपैया सहकारीले लगानी गरि त्यस सम्बन्धि आवश्यक प्राविधिक तालीम, बिउबिजन, औजार लगायतको सामाग्री खरिद गरिने उनले जानकारी दिए ।

‘टनेल’ लाई प्राविधिक भाषामा संरक्षित संरचना भनिन्छ । बोटबिरुवाका लागि पूर्ण वा आंशिक रूपमा अनुकूल वातावरण बनाई प्रतिकूल मौसममा समेत उत्पादन लिन यस्तो संरचना बनाइन्छ । यिनको प्रयोग मुख्यतः उत्पादकत्व वृद्धि गर्न, बेमौसमी उत्पादन लिन, संक्रमणरहित बाली उत्पादन गर्न हुने गरेको सहकारीका कृषि समिति संयोजक बाबुराम भट्टराईले जानकारी दिए ।

तापक्रम अत्यधिक भएका तराईका क्षेत्रमा भदौदेखि जेठसम्म बेमौसमी तरकारी उत्पादन गर्न किरा नछिर्ने जाली, अल्मुनियम नेट तथा जीआई पाइप प्रयोग गरिएका जाली–घर उपयुक्त मानिने भएकोले अहिले यसको प्रयोगमा लागेको उनले बताए ।

सहकारीले सोमबार एक कार्यक्रमको आयोजना गरि तरकारी खेतीका लागी प्लाष्टिक टनेल निर्माण तालीम समेत सम्पन्न गरेको छ । सहकारीका अध्यक्ष शिवहरि अधिकारीको अध्यक्षता, वडा नम्बर ९ का वडा अध्यक्ष शेषकान्त भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सिद्धार्थनगर नगर पालिकाका कृषि शाखा प्रमुख योगेन्द्र प्रसाद यादवले प्राविधिक सहजीकरण गरेका थिए । कार्यक्रमको सञ्चालन सहकारीका शिक्षा उपसमिति संयोजक लक्ष्मण ज्ञवालीले गरेका थिए ।