ताजा अपडेट »

आमा मिलनको साधारण सभा सम्पन्न

बुधबार, ०८ साउन २०७६

साउन ८,
बुटवल । बुटवल उपमहानगरपालिका वडा नं–२ स्थित वडास्तरीय आमा मिलन केन्द्रको पाँचौं साधारण सभा तथा स्थापना दिवस बुधबार सम्पन्न भएको छ ।


बुटवलमा भएको साधारण सभाको अवसरमा एकल महिलाहरुलाई सम्मान गरिएको थियो । सो अवसरमा बुटवल उपमहानगरपालिका वडा नं–२ का सदस्य तथा जनप्रतिनीधि खगिसरा गुरुङले एकल महिलाहरुलाई सम्मान गरिन् । आमा मिलन केन्द्रबाट सम्मानित हुनेहरुमा एकल महिलाहरु गंगादेवी घिमिरे, गोत कुमारी नेपाल, नारायणी पाटा मगर, उर्मिला शर्मा, विद्यादेवी जोशी, गोमादेवी खड्का, जया पौडेल, कान्ति राना र कमला नगरकोटी रहेका छन् । आमा मिलन केन्द्रका अध्यक्ष धन लामाको अध्यक्षतामा भएको कार्यक्रममा समाजसेवी रमेश प्रसाद जोशी र रञ्जिता मल्ल जोशीलाई समेत सम्मान गरिएको थियो ।


सो अवसरमा बोल्दै जनप्रतिनीधि खगिसरा गुरुङले महिलाहरुको विकासका लागि आमा मिलन केन्द्रले गरेको कामको प्रशंसा गरिन् । महिलाहरुको विकास र सशक्तिकरणका लागि महिलाहरुले नै काम गर्नु पर्ने गुरुङको भनाइ थियो । कार्यक्रममा वडा नं–२ का सचिव विष्णुप्रसाद श्रेष्ठ, केन्द्रका संस्थापक अध्यक्ष गंगा घिमिरे लगायतले बोलेका थिए । पाँचौ साधारण सभाले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष रञ्जिता मल्ल जोशीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पास गरेको छ ।

कार्यक्रम उपाध्यक्ष सावित्री पन्थीको स्वागत तथा सचिव नारायणी पाटाको सञ्चालनमा सम्पन्न भएको थियो । वि.स. २०७० सालमा स्थापना भएको वडास्तरिय आमा मिलन केन्द्रले स्थानिय महिलाहरुको सिप विकास र आर्थिक आयआर्जनका लागि काम गर्दै आइरहेको छ ।