ताजा अपडेट »

आँखाभित्र अल्झिएको मानवता

शनिबार, १९ असार २०७८


दुई वटै आँखा खुलै छन् । सबैचिज प्रष्टसँग देख्छन् । कुन चिज के हो भन्ने छुट्याउन केही गाह्रो छैन । दृष्टिको कमजोरी त कल्पनै गर्न सक्दिनँ । चस्मा, चस्मा त लगाउनै पर्दैन । पारदर्शी छन् आँखाहरू । दृष्टिभ्रम, मृगतृष्णाको प्रतीति र चस्मादोष ? अनि आँखा चेकचाँच ? अँह, पर्दैन । म आफै मालिक, सालिकको भर किन पर्ने ? ठिकठाक छन् मेरा आँखाहरू अर्थात् ज्ञानेन्द्रिय अन्तर्गतको महत्वपूर्ण नयनहरू ।

संसार देख्ने यी गोलगोल आँखाहरूको रूपलाई सृष्टिकर्ता ब्रह्मा त के स्वयम् चक्षुधारी मनुष्यले पनि आँकलन गर्न सक्दैन । कालो, नीलो, गहिरो, खैरो जे जस्तो भए पनि आँखा, आँखा नै हो । आँखामा हेरे आँखामा जो पनि देखिन्छ । आँखामा हेरेपछि आँखाले कसैलाई प्रवेश रोक गर्दैन । रूप, रङ, आकार, प्रकार, आकृति, जात, धर्म अनुसार आँखाले भेदभाव पटक्कै गर्दैन । बरु जस्ताको तस्तै देखाउन भरमग्दुर कोसिस गर्छ । के तपाईँको आँखा पनि यस्तै छ ? ओहो † तपाईंको र मेरो आँखाको काम गराइ त ठ्याक्कै मिल्यो नि ।

कसैले चर्मचक्षु आँखालाई लोभि, डसालु, ईष्यालु, विभेदकारी, मायालु, दयालु, कृपालु, सिपालु यस्तै यस्तै केके हो केके नाममा आरोपित गर्दछन्। रोगी, जोगी, भोगी, ढोँगी सबैका आँखा त आँखा नै हुन् । आँखाको कर्म पनि अपरम्पार छ ।

फूलको आँखामा फूलै संसार भन्ने सिद्धान्त कस्ले प्रतिपादन ग¥यो । त्यो खोजको विषय बन्ला । फूलको आँखा र आँखामा फूल कसरी सम्भव होला ? स्यवम्भूको आँखाले न्याय अन्याय कसरी छुट्याउँछ ? किन न्यायालयमा आँखामा पट्टी बाँधिएको युवतीको मुर्ति राखिन्छ ? सतही कुरा त मलाई पनि थाहा छ । के भन्नुभो ? ए, तपाईँलाई पनि थाहा छ । राम्रै भो । यो कुरामा पनि तपाईँ र मेरो कुरा मिल्यो । के फूलको आँखाले चर्मचक्षूको प्रतिनिधित्व गर्छ ? के चर्मचक्षूले उजाड मरुभूमिमा फूलको संसार भेट्छ ?

चर्मचक्षू अर्थात् मानवको आफ्नै सिसि क्यामरा । दृश्यहरू लिन्छ, अनि मस्तिष्कलाई दिन्छ । यी चर्मचक्षूले जात, वर्ग, लिङ्ग, पेसा, भूगोल आदिका आधारमा कैद गर्नुपर्ने कुरा छुटाउँदै छुटाउँदैन । परेलीको एक झिम्क्याइमा पनि यसले दृश्यहरू कैद गरिरहन्छ । वास्तवमा बाहिरी आँखा मानवको बफादार, इमानदार र अनुशासित सिसि क्यामरा हो ।

आँखाले कैद गरेको कुरालाई मस्तिष्कले रेकर्ड गर्छ । आँखा जस्तै मानव शरीरमा विकसित मस्तिष्क चलाख, चतुर र छट्टु स्वभावको हुन्छ । यो समाजको जीवन दर्शन, सामाजिक परम्परा र वातावरण, व्यक्तिको अध्ययन, व्यवहार, सोच तथा चिन्तनको दास हो । व्यक्तिको जस्तो ल्याकत छ मस्तिष्कले त्यस्तै क्षमता प्रदर्शन गर्छ । त्यसैले चर्मचक्षूले चेतना दिँदैन बरु चेतनशील मस्तिष्क निर्माण गर्न बाहिरी संसारको परिदृश्य प्रस्तुत गर्दछ ।

शिक्षा चेतनाको कारक हो । शिक्षा लिँदैमा व्यक्ति चेतनशील हुने र शिक्षा नलिँदैमा व्यक्ति अचेतनशील, ढोँगी र मूर्ख हुन्छ भन्ने तर्क श्राद्ध गर्दा बिरालो बाँध्ने प्रवृत्ति जस्तै हो । कि परेर जानिन्छ, कि पढेर जानिन्छ । अनुभवले खारिएर, व्यवहारले माझिँएर समभावको व्यवहार राख्ने महात्माहरूलाई गँवारको टीका लगाउनु आधुनिक खोस्टो भिरेको सैद्धान्तिक र प्रमाणपत्रमुखी शिक्षाको पराकाष्ठा मात्रै हो । जुन कुरा यी बाहिरका आँखाले ठम्याउनै सक्दैन ।

एक्काइँसौँ शताब्दीमा पनि आँखा किन निष्कलङ्क र पवित्र हुन सकेन । आँखामाथि किन मान्छेले दोष थोपरिरहन्छन् । दृष्टिदोषका कारण । कसरी दृष्टिदोष ? यी आँखाको आकार, रूप र गोलाइ फरक होला तर काम त एउटै हो नि । संसार देखाउनु । दोष चर्मचक्षूको होइन । दोष त केबल सोचाइ, चिन्तन र व्यवहारलाई प्रभावित पार्ने मर्मचक्षू अर्थात् भित्री आँखाको हो । यही भित्री आँखामा कल्मष बनेर सदियौँदेखि जमेको ढोँगी प्रवृत्ति नै मानवताको लिलामी गर्ने सूत्राधार हो ।

बाहिरी आँखाले फरक जात, धर्म, लिङ्ग वा यस्तै यस्तै आधारमा मान्छेलाई कित्ताकाट गर्छ त ? पटक्कै गर्दैन । बाहिरी आँखाले त यो आर्य, यो मङ्गोल भनेर कसैलाई चिन्दा पनि चिन्दैन । अनि कसरी आँखा विभेदकारी हुन सक्छ ? कसरी आँखा मानवता विरोधी हुन सक्छ ? प्रश्नको गहिराइमा नपुगी हिलो छ्याप्ने प्रवृत्तिले मान्छेलाई गाँजेको छ । भित्री आँखा अर्थात् चेतनशील आँखाको अभावमा गल्ली, चोक, गाउँ र सभ्य भनाउँदो सहरमा मानवताको लिलामी भइरहेको छ ।

निदाएका मान्छेलाई उठाउन सकिँदो रहेछ । निदाएको नाटक गर्ने मान्छेलाई कसरी उठाउने ? चस्माको सिसा जस्तो रङको छ, संसार त्यस्तै देखिने त हो । परम्परागत ढोँगी मनोवृत्तिको अदृश्य चस्माको प्रभावबाट अझै पनि सभ्य भनाउँदो मान्छे अछुतो रहन सकेको छैन । मन, वचन र कर्मको तालमेल यहाँ पटक्कै मिल्दैन । सभ्यताको पाठ सिकाउने बोली र कानुनले कसैलाई फरक ठान्दैन । तर, जुको टाँसिए झैँ मस्तिष्कमा टाँसिएको विभेदकारी छुत र अछुत ठान्ने हतियारबाट अहिलेका सभ्य भनाउँदाहरू अलग रहन सकिरहेका छैनन् । केबल भित्री आँखाको कमीले ।

भित्री आँखाले विभेदको राजनीति गरेपछि मिलेर बसेको छिमेकमा के आगो लाग्दैन ? छिमेकमा लागेको आगो ताप्नेहरूले के नबुझेकै हुन् त ? किन मानवताको प्रश्न यिनीहरूबीच यति कठोर छ । के यिनीहरू भक्त प्रह्लाद जस्तै आगोबाट जोगिएलान् ?

कहिले सासूको पालो, कहिले बुहारीको पालो । कसैबाट काम भनौँ न श्रम लिएर दाम र नाम कमाउनेहरू काममा रमाउनेहरूलाई किनारमा छोडेर के गन्तव्यमा पुग्लान् ? के यिनीहरूलाई मानवताको परिभाषा थाहा छैन ? परिभाषाबारे पछि बहस गरौँला । जुन दिन आँखामा अल्झिएको मानवताको यो प्रश्नको उत्तर मन, वचन र कर्ममा क्रियान्वित होला त्यस दिन मानव सभ्यताले नयाँ इतिहास रच्नेछ । मान्छे, साँच्चिकै मान्छेका रूपमा देखिनेछन् ।

https://www.globalaawaj.com/archives/112894