ताजा अपडेट »

खेलकूदको बिकासमा लागेका पत्रकारहरुको पक्षमा राज्यको ध्यान जान आवश्यक

शुक्रबार, १८ असार २०७८

बुटवल । बुटवल उपमहानगरले खेलकूदको विकासका लागि संरचना निर्माणलाई प्राथमिकतामा राखेको उपमहानगरका मेयर शिवराज सुवेदीले बताएका छन् । खेल क्षेत्रको विकासका लागि सबैभन्दा पहिलो प्राथमिकता नै खेलमैदान लगायतका संरचनाको आवश्यकतालाई मध्यनजर गरी प्राथमिकताका साथ योजनाहरु अगाडि बढाइएको उनले बताए ।

खेलकुद समबन्धी समाचार सम्प्रेषण, प्रकाशन, प्रर्वधन अनि प्रसारण गर्ने खेलकुद पत्रकारहरुको अन्तराष्ट्रिय दिवस जलाई २ का अवसरमा शुक्रबार बुटवलमा आयोजित कार्यक्रममा बोल्दै उनले यस क्षेत्रको विकासका लागि आवश्यक सुझाबहरु समेत दिन सञ्चारकर्मीहरुलाई उनको आग्रह थियो ।

खेलकूद पत्रकार मञ्च रुपन्देहीले दिवसको अवसरमा आयोजना गरेको चियापान कार्यक्रममा बोल्दै नेपाल ओलम्पिक कमिटिका केन्द्रीय सदस्य तथा एन्फा रुपन्देहीका अध्यक्ष दिर्घबहादुर केसीले खेलकूदको विकासका लागि सञ्चारकर्मीहरुको भूमिका महत्वपूर्ण रहने उल्लेख गरे । खेल क्षेत्रका समस्या तथा सम्भावनाहरुलाई बाहिर ल्याउनका लागि सञ्चारकर्मीहरुलाई समय–समय यस सम्बन्धि जानकारी मूलक कार्यक्रमहरु समेत सञ्चालन गर्न सके थप प्रभावकारी हुने सुझाब प्रस्तुत गरे ।

यसैगरी नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य भवानीप्रसाद पाण्डेले खेलकूदको विकासका लागि केन्द्र, प्रदेश तथा स्थानीय निकायहरुले पूर्वाधार विकास र खेलाडि उत्पादनका लागि प्रभावकारी कार्यक्रम तथा योजनाहरु ल्याउन आग्रह गरे । गफ गरेर भन्दा पनि व्यवहारिक रुपमा योजना र कार्यक्रमहरुलाई प्रभावकारी रुपमा सञ्चालन गर्नु पर्ने उनको सुझाब थियो ।

खेलकुद पत्रकारहरुको हकहित, सुरक्षा र व्यवसाहिकताका लागि भन्दै सन् १९९४ बाट मनाउँदै आइएको दिवसका अवसरमा आयोजित कार्यक्रममा खेलकूद पत्रकार मञ्च रुपन्देहीका अध्यक्ष सुमन अधिकारीले स्वागत गर्दै खेलकूद पत्रकारहरुको क्षमता बिकासमा राज्यको पनि ध्यान जान आवश्यक रहेको औल्याए ।