ताजा अपडेट »

पर्यटन व्यवसाय पुनरुत्थानका लागि ध्यानाकर्षण

शुक्रबार, १८ असार २०७८

गण्डकी । पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान)ले कोरोना प्रभावित पर्यटन व्यवसायको पुनरुत्थानका सम्बन्धमा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीको ध्यानाकर्षण गराएको छ । टेवानका तर्फबाट मुख्यमन्त्री पोखरेललाई आज ध्यानाकर्षणपत्र बुझाउँदै अध्यक्ष रेनु थापाले पर्यटकीय गन्तव्य पोखरा र यसलाई केन्द्रविन्दु मानी समग्र गण्डकी मा पर्यटन क्षेत्रमा गरिएको रु पाँच खर्बभन्दा बढी लगानी कोरोनाका कारण प्रभावित भएको बताए ।

सरकारबाट ल्याइएका व्यवसाय पुनरुत्थान कार्यक्रम तथा सेवासुविधाको कार्यान्वयन पक्ष सुस्त गतिमा बढ्दा व्यवसायी नै पलायन हुने र निरुत्साहित हुने क्रम बढ्दै गइरहेको जनाउँदै टेवानले पर्यटन व्यवसायको पुनरुत्थानका लागि छबुँदे माग अघि सारेको छ । पर्यटन व्यवसायमा अग्रपंक्तिमा खटिने व्यवसायी तथा मजदूरलाई अनिवार्य कोरोना वरुद्धको खोपको व्यवस्था गर्न माग गरिएको छ । गण्डकी सरकारबाट गत वर्ष ल्याइएको रु एक अर्बको व्यवसाय जीवन रक्षा कोषबाट हाल पाँच प्रतिशत व्यवसायीले पनि ऋण नपाएका अवस्थामा सो कोषको रकमलाई सहुलियत कर्जास्वरुप यथाशीघ्र सबै व्यवसायीलाई सहज रुपमा प्रदान गर्ने गरी नीतिगत रुपमा पहल गरिदिन र कोषलाई आगामी आर्थिक वर्षमा बढाएर रु दुई अर्ब रुपैयाँ पुर्याई कार्यान्वयनमा सहजीकरण गरिदिन आग्रह गरिएको छ । व्यवसायीले प्रयोग गर्दै आएका पर्यटकबाहक सवारी (हरियो नम्बर प्लेट) को वार्षिक सवारी कर तथा नवीकरण शुल्क एवम् बीमा रकम आदिमा छुट प्रदान गर्नेलगायत माग गरिएको छ ।