ताजा अपडेट »

पहिरोले घर बगाउँदा ११ जनाको मृत्यु, २ सय बढी घर जोखिममा (अप डेट )

मंगलबार, ०७ साउन २०७६

साउन ७,
ग्लोबल आवाज
बुटवल । गुल्मीमा पहिरोमा पुरिएर ११ जनाको मृत्यु भएको छ भने २ जना बेपत्ता भएका छन् । जिल्लाको सत्यवति गाउँपालिकाको २ वटा वडाको वडा नम्बर ३ र ४ मा पहिरोले घर पुरिदा ११ जनाको मृत्यु भएको हो ।


सत्यवति गाउँपालिकाको लिम्घामा ८ जनाको र ठुलो लुम्पेकमा ३ जनाको मृत्यु भएको हो । सत्यवति गाउँपालिका वडा नम्बर ४ को लिम्घामा मृतक मध्ये ६ जनाको सव बाहिर निकालिएको छ । अरु २ जनाको सव निकाल्ने काम भइरहेको प्रहरीले जनाएको छ । पहिरोमा परेर मृत्यु हुनेहरुमा ६५ वर्षिय छल्ली बिक, २८ वर्षिय कम्बु बिक, २५ वर्षिय निर्मला बिक, १२ वर्षिय अञ्जली बिक, १० वर्षिय हेमन्त बिक, ७ वर्षिय शिवानी बिकको सब बाहिर निकालिएको प्रहरीले जनाएको छ । त्यस्तै सोहि गाउँपालिका ३ को ठूलोलुम्पेक कसिन डाँडा पहिरोमा पुरिएर ३२ वर्षिय तिलकुमारी तरामु, ९ वर्षिय दर्शन तरामु र पहिरोबाट बच्न भाग्ने क्रममा ६३ वर्षका दुर्गाबहादुर सिंजालीको मृत्यु भएको हो ।
पहिरोमा ८ वर्षिय तारा बिक, ६ वर्षिय सुमन बिकको सब निकाल्ने कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरिक्षक रबिन्द्र खड्काले बताए । एक जना वालक सन्दीप बिक मावली घरमा गएकाले जिबितै रहेका छन् ।


ठूलोलुम्पेकमा रुद्र बिकको घर पहिरोले पुरेकोे छ । पहिरोमा घर पुरिदा ४० वर्षिय मायाँ बिक र १६ वर्षिय गबि बिक बेपत्ता भएका छन् । पहिरोमा पुरिएर २ जना घाइते भएका छन् । सत्यवति ४ का १० वर्षिय करिश्मा तरामु र १३ वर्षिय धनि तरामु घाइते भएको प्रहरीले जनाएको छ । गएराती देखि परेको अबिल वर्षाले घरमाथीबाट पहिरो जाँदा सुतिरहेकाहरुको मृत्यु भएको हो । उद्धारको लागि जिल्लाबाट प्रहरी नायव उपरिक्षक मिनबहादुर घले, शसस्त्र प्रहरी नायव उपरिक्षक दिनेश रामयमाझी सहितको टोली घटना स्थलल पुगेर उद्धार कार्य जारी रखेको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । पहिरो प्रभावित क्षेत्रमा डक्टर सहितको स्वस्थ्य टोली पनि पुगेको छ । जिल्ला बिपद व्यवस्थापन समितिको बैठकले उद्धार र राहतमा जुटने निर्णय गरेको छ । ठूलो पहिरो भएकाले मृत्यु हुनेहरुको संख्या बृद्धि हुनसक्ने बताइएको छ ।

पहिरोले २०० सय घर जोखिममा
पहिरोका कारण ठूलो लुम्पेकका करिब २ सय घर जोखिममा रहेको गाउँपालिका अध्यक्ष पारिश्वर ढकालले बताए । पहिरोका कारण घरबार विहिन भएका तथा घर जोखिममा भएकाहरु स्थानिय सरस्वती माविमा आश्रय लिइरहेका छन् । वडा नम्बर ३ लिम्घाका प्रभावित २४ घर परिवारलाई स्थानिय आदर्श माविमा आश्रमको व्यवस्था गरिएको गाउँपालिका उपाध्यक्ष सुवर्णा शेरचन शाहीले ग्लोबल आवाजलाई जानकारी गराइन् ।

कुनै पनि समयमा पहिरो खस्ने डरले स्थानिय त्रसित छन् । उनिहरुलाई खानपिनको लागि वडा कार्यालयले व्यवस्थापन गरेको छ । प्रभावित क्षेत्रमा जिल्लाबाट र बुटवलबाट आएको स्वास्थ्य टोली उपचारमा खटेको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । पहिरो प्रभावित क्षेत्रमा जिल्लाबाट रेडक्रम, जिल्ला समन्वय समिति, नेकपाका जिल्ला स्तरिय नेता तथा कार्यकर्ताहरु प्रभावित क्षेत्रमा उद्धारको लागि खटिएका छन् ।