ताजा अपडेट »

एउटै नामका दुई मुसिकोट नगरपालिकाबिच मितेरी सम्वन्धको सुरुवात

विहीबार, १७ असार २०७८
2 Shares

गुल्मी । रुकुम पश्चिमको मुसिकोट नगरपालिका र गुल्मीको मुसिकोट नगरपालिका बिच मितेरी सम्वन्ध स्थापनाका लागि भ्रमण आदन–प्रदान सुरु भएको छ । जसको परिकल्पना गुल्मीका यस अघिका प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले गरेका थिए । उनको घर पनि रुकुम मै पर्दछ ।

हालै मुसिकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटा, प्रमुख प्रशासकिय अधिकृत खिमानन्द भुसाल त्यस नगरका वडाध्यक्ष सहितका जनप्रतिनिधी र कर्मचारीहरुले रुकुम पश्चिमको मुसिकोट नगरपालिकाको भ्रमण गरेर फर्किएका छन् । मेयर सापकोटा भन्छन्–‘हाम्रो नगरपालिकाको केन्द्र रहेको स्थान वामीटक्सारबाट रुकुम पश्चिमको मुसिकोट नगरपालिकाको केन्द्र रहेको स्थानसम्म पुग्न १ सय ४५ किलो मिटर दुरी पार गर्नु पर्दोरहेछ । पुर्वी रुकुमको कमलदहबाट ३४ किलो मिटर पार गरेर खलाङ्गा स्थित मुसिकोट नगरपालिकाको केन्द्रमा पुगेका थियौं ।’

उनी थप्छन्–‘ निकै सुन्दर पाहडी वस्ती रहेछ । नगरपालिका तिब्र बिकासको चरणमा रहेछ । संघिय सरकारले नै स्थापना गरेको बिशाल कृषि फर्म हेरियो । यताको मुसिकोटको र उताको मुसिकोटको भुगले मिल्दो रहेछ । त्यहाँको मुसिकोट दरवारमा पनि पुगियो ।

त्यस नगरपालिकाका मेयर देविलाल गौतम सहितका जनप्रतिनिधीहरुले हामी दुई नगर विच मितेरी सम्वन्ध स्थापित गर्ने प्रस्ताव गर्नु भएको छ । उहाँहरुलाई पनि भ्रमणको निम्तो दिएका छौं आगमी भदौ सम्म उहाँहरु पनि आउनु हुन्छ, त्यस पछि मितेरी सम्वन्ध जोड्नका लागि नगरपालिकामा निर्णय हुने छ ।’

उता रुुकुम पश्चिम स्थित मुसिकोट नगरपालिकाका मेयर देविलाल गौतमले मुसिकोट दरवारको पौराणीक कथा सुनाए । उनले भने–‘नेपाल एकिकरण अभियान अघि सम्म शाह वंशिय भुरेटाकुरे राजा मुसिकोट नगरपालिका ९ को कुप्रेकोटमा दरबार बनाएर बसेका रहेछन् । ति राजाले मुसी नामकी एउटी युवतीलाई भान्छे बनाएर राखेका रहेछन् । तिनै भान्छे महिला सालको पाट टिप्न पारी डाँडाको सालघाररीमा पुगिछन् । त्यही डाँडा सुन्दर रहेछ सरकार भनेर सुनाईन । त्यस पछि राजालाई पनि त्यही ठाउँ मन परेर दरवार बनाए छन् ।

जुन दरबार हाम्रो बाजेको पालामा आगोलागी हुन पुग्यो । हाम्रो बुवालाई समेत थाह भएको सुनाउँदै हुनुहुन्थ्यो कि त्यो दरबारमा लागेको आगो ६ महिनासम्म पनि निभाउन सकिएको थिएन् । ईटामा मासको पिठोले लगाएको गाह्रो भनिन्छ त्यसैले आगो निभन्न छ महिना पनि नसकेको बुढापाकाहरु बताउँछन् । त्यस दरबारको ईटा लगायतको भग्नावशेष अझै छ । त्यसैलाई संरक्षण गर्दै पर्यटकिय क्षेत्र बनाउँदै छौं ।’

उनका अनुसार त्यस कोट संगै अर्को प्रशिद्ध धार्मिक क्षेत्र हो बिग्रेशाही कुमारी मन्दिर जहाँ बर्षमा ४ देखि ५ हजार सम्म बोका वली चढाईन्छ । त्यस भेगका थुप्रै जिल्लाका झण्डै २० हजार जना सम्म भक्तजनहरु बर्षेनी त्यस मन्दिरमा दर्शन गर्न आउँछन् । विवाह, व्रत बन्ध, अन्य पुजा पाठ गर्ने गरिन्छ । गुल्मीका पुर्व प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माका अनुसार रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा समशितोष्ण तरकारी बीउ उत्पादन केन्द्र, सल्ले बिमान स्थल, खलाङ्गा बजार क्षेत्रको अवोलक गरेर गुल्मीको मुसिकोट नगरपालिकाका जनप्रतिनिधीहरु फर्केका हुन् ।

उनले आफ्नो फेशबुकमा आफु गुल्मी छँदा दुई वटै नगरपालिकाको नाम एउटै रहेकोले मितेरी सम्वन्ध स्थापित गर्न प्रस्ताव गरेको स्मरण गर्दै लेखेका छन्आशा गरौं अब यसले हाम्रो दुई जिल्लाका नगरपालिका बिच मितेरी सम्वन्ध राख्ने कुराले मुर्त रुप पाउने छ ।’