ताजा अपडेट »

एउटै नाकाबाट साढे ६ अर्बको चामल आयात

मंगलबार, ०७ साउन २०७६

साउन ७,

नेपालगञ्ज । नेपालगञ्ज भन्सारबाट गत आर्थिक वर्ष २०७५/७६ मा रू. ६ अर्ब ४७ करोडबराबरको चामल आयात भएको छ । उक्त आवमा यो भन्सारबाट १ लाख २४ हजार २७० मेट्रिक टन चामल आयात भएको हो । उक्त परिमाणको चामल आयातबाट रू. ५ करोड राजस्व संकलन भएको कार्यालयको तथ्यांक छ ।

भन्सार कार्यालयका अनुसार गत आवमा उक्त नाकाबाट सबैभन्दा धेरै आयात हुनेमा वस्तुको सूचीमा चामल तेस्रो स्थानमा छ । पहिलो स्थानमा इन्धन छ भने दोस्रोमा ग्यास छ । आयातित चामल बाँके–बर्दियाका स्थानीय बजारसँगै पहाडी जिल्लामा खपत हुने गरेको छ ।

अन्न भण्डार मानिने बाँके–बर्दियाबाट कुनै समय भारतमा चामल निर्यात हुने गथ्र्यो । तर पछिल्लो समय कृषियोग्य जग्गा घर/भवन निर्माण, प्लटिङ र अव्यवस्थित शहरीकरणले घट्दै गएको छ । परिणामस्वरूप धान उत्पादनमा पनि ह्रास आएकोे जिल्ला कृषि कार्यालय, बाँकेले बताएको छ ।-आर्थिक अभियान