ताजा अपडेट »

सामाजिक सुरक्षा कोष विरुद्ध सिद्धार्थ बैंक बुटवलका कर्मचारी आन्दोलित

विहीबार, १७ असार २०७८

बुटवल । सामाजिक सुरक्षा कोष विरुद्ध बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुले आन्दोलन सुरु गरेका छन् । आन्दोलनको पहिलो चरणमा बैंकिङ क्षेत्रका कर्मचारीहरुले आफ्नो कार्यालय अगाडि कालो ब्यानर टागेर विरोध प्रदर्शन गरेका छन् । खाईपाई आएको सेवा सुविधासमेत खोसिने गरी कोषमा आवद्ध गराउन लागिएको भन्दै वित्तीय क्षेत्रका कर्मचारीहरु असन्तुष्ट थिए ।

कोषले असार मसान्तभित्र आवद्ध हुन सार्वजनिक सूचना निकालेपछि कर्मचारीहरुले आन्दोलन सुरु गरेका हुन् । सिद्धार्थ बैंक बुटवलमा आज बिहान १० बजे बिराेध गरिएकाे सिद्धार्थ बैंक कर्मचारी युनियनका सदस्य भिम बहादुर चौधरीले जनाए ।

विद्यमान व्यवस्थाहरु संशोधन नभएसम्म कोषमा आवद्ध हुन नसकिने भन्दै बिहीबार कर्मचारीहरुले आफ्नो कार्यालय अगाडि योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा हाम्रो असहमति किन ? भन्ने ब्यानर राखेका प्रदर्शन गरेका छन्।

आईएलओ अभिसन्धि १९४९ (नं.९८), नागरिकको मौलिक हक, श्रम ऐनको मर्म विपरित बैक, बीमा तथा वित्तीय संस्थाका कर्मचारीहरुको ‘राइट टू अर्गनाइजेसन एण्ड राइट टू कलेक्टीभ बार्गेनिङ’ गर्न पाउने हक कुण्ठित हुनेगरी योगदानमा आधारित सामाजिक सुरक्षा योजना ल्याएकोले तथा खाइपाई आएको सेवासुविधा घट्ने र तीन दशक लामो संघर्षबाट प्राप्त उपलब्धी गुम्ने भएकोले आन्दोलनमा उत्रनु परेको उनीहरुले बताएका छन्।