गुल्मी । लुम्विनी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री चेतनारायण आचार्यले पत्रकारहरुलाई ढुक्क भएर स्वतन्त्रपूर्वक कलम चलाउन आग्रह गरेका छन् । एक कार्यक्रममा सहभागि हुन बुधबार गुल्मी आई पुगेका मन्त्री आचार्यले भने–‘ पत्रकारहरुले निष्पक्ष रुपमा स्वतन्त्रपूर्वक ढुक्क भएर कलम चलाउनुहोस् , हामी स्वतन्त्र पत्रकारिताको पक्षमा छौं तर, कतिपयले पत्रकारिताको नाममा समाजमा विकृति– विसंगति फैलाउने गरेका छन् । यस्तो प्रबृत्ति मात्रै चिन्ताको बिषय हो ।’
उनले सञ्चार क्षेत्रको विकासमा मन्त्रालयले जोड दिँदै गएको बताए । जिल्ला सुरक्षा गोष्ठीमा सहभागी भई नेपाल पत्रकार महासंघ गुल्मीले सञ्चालन गरेको आईसोलेशन र सोही मन्त्रालयबाट रकम विनियोजित भई महांसघको भवन मर्मत सम्भारको निरक्षण समेत मन्त्री आचार्यले गरेका थिए । उनले प्रदेश सरकारको सञ्चार विधेयक सबैको सुझाव सल्लाहबाटै तयार पारिएको दावी गरे । ‘मेलै सञ्चार क्षेत्रको समस्या नजिकबाट बुझ्दै आएको छु , एउटा रेडियोमा चट्याङ्गले ट्रान्समिटर हन्यो भने कति समस्या आई पर्छ । कैयौ पत्रकार साथीहरुले निकै दु:ख पाएर समाचार खोज्नु हुन्छ ’– मन्त्री आचार्यले भने ’–यस्ता समस्या समधान हुने गरि मन्त्रालयमा केहि कार्यक्रमहरु अगाडी सारिएको छ ।’
उनले अन्तरिक मामिला तथा कानुन मन्त्रालयले पत्रकारहरुको क्षमता अभिबृद्धि गर्न तालिमहरु सञ्चालन गर्ने , लामो समय देखि ब्यवसायिक पत्रकारिता गर्दै आएका पत्रकाहरुलाई प्रोत्साहित गर्नका लागि पुरस्कारको ब्यवस्था गर्न लागिएको समेत बताए । मन्त्री आचार्यले कानुन मन्त्रालयले प्रदेश भित्र रहेर खोजमुलक पत्रकारिता गर्ने चार जना पत्रकारलाई बर्षेनी पुरस्कृत गर्ने कार्यक्रम अगाडी सारिएको जानकारी दिए ।
विकास निर्माण भएको ढिला सुस्ती र अनियमित्ता विरुद्ध पत्रकारहरुले खबरदारी गराउने गरि कलम चलाउन उनले सुझाव दिए । त्यस्तै त्यस मन्त्रालयका सचिव रविलला पन्थले प्रदेशभरका पत्रकारहरुको क्षमता अभिबृद्धि गर्ने र सञ्चार क्षेत्रको विकास गर्ने गरि मन्त्रालयले विभिन्न कार्यक्रम अगाडी सारेको जानकारी दिए ।
कार्यक्रममा सोही मन्त्रालयका उप सचिव दामोदर भण्डारी, अर्का अधिकृत छवि सिंह कठायत लगायत पनि सहभागि थिए । मन्त्री सहितको टोलीलाई नेपाल पत्रकार महासंघका अध्यक्ष टोपलाल आर्यालले स्वागत गर्दै महासंघले सञ्चालन गरेको अक्सिजन अभियानबाट जिल्लाभरलाई पुग्ने गरि जिल्ला मै अक्सिन प्लान्ट स्थापना गर्न सुरु गरिएको जानकारी गराएका थिए।
त्यस अघि आचार्य बुधबार गुल्मीको जिल्ला सुरक्षा गोष्ठीमा सहभागि भएका थिए । जिल्ला प्रशासन कार्यालयको सभाहलमा आयोजित गोष्ठीमा सोही मन्त्रालयका सचिव रविलाल पन्थ, प्रमुख जिल्ला अधिकारी रुद्रादेवि शर्मा सहित चार वटै सुरक्षा निकायका प्रमुख बीच मन्त्री आचार्य जिल्ला सुरक्षा गोष्ठीमा सहभागि भएका थिए ।-आवरण तस्वीर सौजन्य -पत्रकार डि.आर. बञ्जाडे
प्रतिक्रिया