ताजा अपडेट »

बुद्धमूर्ति तोडफोड : दोषी पत्ता लगाउन किन ढिला ?

सोमबार, ०६ साउन २०७६

गत बुधबार राती तिलोत्तमा नगरपालिकामा रहेका बुद्धका ५ वटा मूर्ति तोडफो भए । बिहीबार ‘तिलोत्तमामा रहेका बुद्धमूर्ति तोडफोड’ भन्ने समाचारले धेरैको मन विक्षिप्त बन्यो । सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–बेलहिया सडक खण्डमा पर्ने तिलोत्तमा नगरपालिकाको सिक्सलेन सडकको बीचमा रहेका मूर्ति तोडफोडको घटनाले यस क्षेत्रमा सन्नाटा नै छायो । बुद्ध जन्मस्थल लुम्बिनीमा भएको यस घटनाले सारा नेपाल–नेपालीलाई मात्र नभई सम्पूर्ण बौद्ध धर्मावलम्बीहरुको आस्थामा आँच आएको छ ।

विश्व शान्तिको मुहान लुम्बिनीसँग जोडिएको तिलोत्तमा नगरपालिकाले यस क्षेत्रमा पनि बुद्धत्व झल्काउने गरी सिक्सलेन सडकमा बुद्धका मूर्ति राखेको हो । शंकरनगरदेखि नयाँमिलसम्मको सिक्सलेन सडकका बीचमा रहेका पाँच वटा मूर्ति तोडफोड भएका हुन् । रातीको समयमा अज्ञात समूूहद्वारा भएको उक्त तोडफोडले विभिन्न शंका तथा खतरा उब्जाएको छ । आखिर मूर्ति कसले र किन तोडफोड गरे ? यो प्र्रश्नसँगै अहिले मूर्ति तोडफोड भएको ५ दिनसम्म पनि किन उक्त अपराध गर्ने दोषी पत्ता लागेका छैनन् ? भन्ने प्रश्न जटिल बनेको छ । रातीको समयमा निर्दोष मूर्ति तोडफोड गर्ने को हुन ? किन पहिचान हुन सकेन ?

ति मूर्तिले कसलाई हानी गरे, कसका लागि बढी भए, ति मूर्तिबाट कसलाई असर पर्यो ? र, यदि असर परे असन्तुष्टि भएपनि त्यसरी तोडफोड गर्न पाइन्छ ? यी र यससँग जोडिएका धेरै प्रश्नहरु अहिले केवल प्रश्न र जिज्ञासा नै रहेका छन् । तर, घटना घटेको ५ दिनसम्म पनि कुनैपनि ठोस कारण र अपराधीको पहिचान हुने संकेत देखिएको छैन । पहेँला मूर्तिका टुक्रा–टुक्रा भएका तस्विर समाचार र सामाजिक सञ्जालमा देखिँदा यस क्षेत्रका जो कोहीको मन स्तव्ध भएको छ । त्यति नै आक्रोश पनि व्यक्त भइरहेका छन् । सबैको एउटै आवाज छ,यस्तो अमानविय, घृणित कार्य गर्ने जोकोहीलाई पनि पहिचान गरी कानूनी कारवाही गर्नु पर्दछ ।’


तिलोत्तमा नगपालिका विकास र यसको योजनाका कारण नमुना नगरपालिका मानिन्छ । विद्यालयमा निःशुल्क खाजा, प्लास्टिकका झोलामुक्त,हरियाली नगरपालिका,पुष्प उत्पादन जस्ता उदाहरणीय र नमुना योजना कार्यान्वयन गर्दै स्वच्छ,समृद्ध,सुखी ,विकसित नगरपालिका बन्दै गरेको नगरपालिका हो । सोही दिन नै धुमधामका साथ प्लास्टिकका झोला मुक्त घोषणा गरेको नगरपालिकाले अर्को दिन बिहानै दुःखद घटना सहनु परेको छ। यसबाट त्यहाँका जनप्रतिनिधि मात्र होइन जनतालाई पनि निको नहुने चोट परेको छ । विकासको गतिमा ठेस लागेको छ ।

युुगौंदेखि धार्मिक सहिष्णुता रहँदै आएको मुलुकमा पछिल्लो समय संविधानले सबै धर्मलाई समान सम्मान स्वरुप धर्म निरपेक्ष राष्ट्र भनेको छ । यस अवस्थामा पनि बुद्धका मूर्ति तोडफोड हुनु निकै दुःखद हो । यो घटनासँगै अन्य घटना नदोहोरिन भन्ने सबैको कामना छ । यसबाट सामाजिक र धार्मिक सहिष्णुता र सद्भावमा खलल आउनु हुँदैन । यस्ता घटना घटाउनलेलाई जतिसक्दो चाँडो पहिचान गरी कानूनी दायरामा ल्याउनु पर्दछ । यसका लागि स्थानीय, नगरपालिका,प्रशासन लगाएत सबैले आ–आफ्नो स्थानबाट विशेष भूमिका खेल्न आवश्यक छ । त्यसैगरी विश्वशान्तिका अग्रदुत , महामानव गौतम बुद्धको सडकको बीचमै रहेका मूर्ति तोडफोड हुनुले विश्वशान्तिको मुहान लुम्बिनीमा सुरक्षा चुनौपनि थपिएको छ । तसर्थ यसतर्फ सरोकारवालाको विशेष ध्यानाकर्षण हुन आवश्यक छ । र, चाँडोभन्दा चाँडो यस्ता अराजक घटना निम्ताउनेलाई पहिचान गरी कारवाही गर्नु पर्दछ ।

घटना घटेको लामो समय बित्दापनि दोषीको पहिचान नहुनु र कारवाहीको दायरामा नआउनुले अनेकौं शंकाले स्थान पाएका छन् । यस्तो आपराधिक गतिविधि गर्ने समूहको पहिचान गर्न केही कठिनाई होला । तर, मुख्य सडकमा करिब डेढ किलोमिटरको दूरमिा रहेका ५ वटा मूर्ति विभत्स तवरले तोडफोड हुँदा पक्कैपनि केही समय लाग्नु पर्दछ । र ,त्यो समयमा कोही न कोहीले देखेको पनि हुनु पर्दछ । त्यसैगरी केही व्यवसायिक सिसिटिभिहरुको अवलोकन र अनुसन्धानबाट प्रशासनले घटनाको सूत्रपनि थाहा पाउन सक्छ । यस घटनालाई उच्च समूह र संयन्त्रको प्रयोगबाट अनुसन्धान गरी शिघ्र दोषी पत्ता लगाई कारवाही गर्न ढिला गर्नु हुँदैन ।