ताजा अपडेट »

गैरदलित साथीलाई दलित साथीको चिट्ठी

मंगलबार, १५ असार २०७८

प्रिय साथी,
झर्को नमानि पढ्नु । प्रिय साथी म तिमीलाई एउटा चिट्ठी लेख्दै छु। आज मलाई फरक चिठी लेख्न मन लाग्यो । आशा छ, तिमीले पक्कै पढ्नेछौ।

साथी तिमीलाई थाहा छ। अहिले जात व्यवस्थाको, विभेदको चर्चा परिचर्चा चलिरहेको छ। हो विषय अहिलेको सामाजिक सञ्जालदेखि प्रत्येक चिया गफमा असारे पानीको कुहिरो जस्तै व्यक्ति पिच्छे मडारिएको छ। सिङ्गो दलित समुदायको भोगाई,वर्तमानसँगै कानूनी राज्य व्यवहार र आरक्षण चिट्ठी लेख्दै छु। झर्को नमानी पढनु प्रिय साथी दलितको भोगाइको विषयलाई लेख्न थाले भने सायदै पुस्तक नै बन्ला तर, आज म तिमीलाई मैले भोगेका केहि महत्वपूर्ण विषयमा लेख्दैछु स्वतन्त्र भएर पढ्नु कुनै पनि पूर्वाग्रह नराखी पढ्नु।

प्रिय साथी
खुसी लाग्छ। अहिले गैरदलितले दलितको मुद्दामा बोल्दा लेख्दा तर, व्यवहारमा र वास्तविकतामा अर्कै छ। त्यसैले म तिमीलाई केही कुरा लेख्दैछु। यथार्थको धरातलमा टेकि भोगेका कुराहरु गर्दैछु। हामी धेरै टाढा जानु पर्दैन। दलितलाई कसरी चरम विभेद भोगिरहेको भनेर र मेरो समुदायले सानै उमेरबाट विभेद भोग्दै आइरहेको छ। तिमी त्यसको रमिते साक्षी भनिरहेका छौं। होइन र सोँच त साथी तिम्रो समुदायको घर वरिपरि दलितलाई कसरी हेरिन्छ अपमान, विभेद गरिन्छ। नियाल तिमीले मैलेसँगै विद्यालयमा पढ्दाको समय। शिक्षकले शिक्षा दिँदा लाग्छ अब विभेद हटिसकेको छ । तर, भोलिपल्ट शिक्षकको घरमा जाँदा विभेदको शिकार बन्नु पर्छ। अनि त्यस्तो दुव्र्यवहारको शिक्षाले मलाई विद्रोही नबनाएर के बनाउँछ त?

साथी तिमीलाई थाहा छ नि ! तिम्रो हजुरबुबा र बुबासँग मैले बसेर चिया खाँदा सँगै बसेको ठाउँबाट मलाई अपमान गरी हटाइन्छ। अनि ममा विद्रोह नभएर के हुन्छ त? तिम्रो घरमासंगै काम गर्ने दलित र गैरदलित संगै काम गर्न हुने, खाना खाजा किन दलितलाई छुट्टाएर घरको बाहिर आँगनको डिलमा राख्छौँ त छोइन्छ भनेर मैले सफा गरेको राखेको वस्तु सुनपानी छर्केर मात्रै भित्र लान्छौ किन यस्तो व्यवहार तर्कसंगत उत्तर छ तिमीसँग साथी? म र मेरा गैरदलित साथीसँग उनीहरूको घरमा जाँदा भन्छौ। के गर्छौ यार म त छुवाछुत मान्दिन तर, हजुरबुबा आमा बुबाले थाहा पाए भने नराम्रो हुन्छ। भनेर प्रतिरक्षा गर्छौ यो कस्तो स्वाभिमानको व्यबहार हो तिम्रो साथी ?
साथी तिमिले बुवा आमालाई बुझाउन,परिवर्तन गराउन सक्दैनौं अनि फेरि नेतृत्व गर्दै समाज, देश कसरी परिवर्तन गर्छौ भनेर विश्वास मान्नु म? म पानी लिन जाँदा तिम्रो खाने पानीको कुवा या धारामा छोइन्छ, जुठो हुन्छ भनेर रोक लगाउँछौ। यो कस्तो मानवविहीन व्यबहार हो। ?अनि ममा विद्रोह नआएर के आउँछ त साथी ?

मलाई बाटोमा देख्दा तिम्रो शुभ साइत वा काम बिग्रन्छ भनेर तर्केर ह्डिछौ। मैले तिम्रो घर बनाउँछु, मन्दिर बनाउछु। मुर्ति त्रिशुल बनाउँछु। बाजा बनाउँछु। तरबार बनाउछु। जुत्ता ,कपडा सिलाउँछु। तिमिले बनाएको भए तिमि वैज्ञानिकको उपाधि पाउँथ्यो होला तर, मैले आज अपमान र विभेद पाएँ साथी। आखिर किन? बाजा बजाएर तिमीलाई नचाउँछु गीत गाएर तिमिलाई हसाउँछु। त्यही मन्दिरमा मलाई प्रवेशको निहुँमा कुटपिट गर्छौ। अनि तिनै भगवानको भक्त होउ भनेर म कसरी पत्याउनु साथी ? तिमी पढेर डाक्टर, पाइलट, इन्जिनियर बन्छौ। तर, म दुई –चार कक्षा पढे भने मेरो र मेरो समुदायको विभेद र अन्यायपूर्ण व्यवहारको भुक्तभोगी दृश्य देख्दा विद्रोही बन्न मन लाग्छ। किनकी विद्रोही भाव तिमीले देखाएको बाटो र मेरो भोगाइको हो साथी।

तिमी देश निर्माण विकासको काम गर्न चाहन्छौ। तिमी राज्यको सत्ता परिवर्तन गर्न चाहन्छौ। राजनीतिमा सु–संस्कृत बनाउन खोज्छौं। तर दलितलाई गर्ने तुच्छ व्यवहार किन परिवर्तन गर्दैनौ साथि? जवाफ छ। मेरो समुदायले तिम्रो स्वाभिमानलाई सम्मानका साथ आधार गर्दा तिमीले मेरो स्वाभिमान माथि अपमान,विभेद गरेर छेद–बिच्छेद बनाइदिन्छौ भने म विद्रोही नभनेर के बन्छु होला त? ममा आक्रोश छ चरम विभेद को भोगाइ र विद्रोहीको भाव छ । तर, साथी म तिमीलाई यो चिठ्ठी सभ्य भएर लेख्दैछु। किनकी असभ्य भयर अपमान गरि लेख्दा बोल्दा उसको स्वाभिमान र प्रतिष्ठा कति चोट पुग्छ, जसरी मुटुमा वाण रोपिए जस्तै । त्यो पीडा मैले भोगेको छु। त्यसैले सभ्य भएर लेख्दैछु। तर, तिमी बोल्दा लेख्दा वास्ता गर्दैनौ मलाई कति चोट पुग्छ छ भनेर है ?

देशको निर्माणको जिम्मा तिमी र मेरै हो। यो समाज हाम्रै हो। तिमी विद्रोह ल्याउने व्यवहार गर्छौ साथी। तिमी हामी सबै सुखी समृद्धि समानता चाहान्छौ। त्यो सगरमाथाको हासेको जस्तो। लालिगुराँस फुलेको जस्तो उज्यालो मुहार जस्तै मलाई पनि मिलेर बस्ने र हास्ने मन छ। तर, अहिले मेरो मन सगरमाथा जस्तो हास्यको छैन। लालिगुरास जस्तो उज्यालो पनि छैन्। म विभेदको दल्दलमा बाचिरहेको छु।

तिमीलाइ थाहा छ नि , प्रजातन्त्रको लागि २००७ सालमा, पञ्चायतको विरूद्ध, त्यस्तै जातीय विभेद लगायतका अन्य मुद्दाहरुमा २०६२÷६३ मा दलित र गैरदलित मिलेर परिवर्तनको लागि लडेको बिर्सेउ? घरपरिवार ,छोराछोरी, बुवा आमा,श्रीमति त्यागेर। सिहिद हुन र छातीमा गोलि, बारुद खान तयार भएको होइन र ? तिम्रो र मेरो अगाडि दलित र गैरदलित साथीहरु गोली र बारुद खाएर छट्पटीले आमा भन्दै आँखाअगाडि ढलेर आशु रगतको आहाल बगेको बिर्सेउ? र बाबुआमा छोराछोरी श्रीमती नभनी परिवर्तनका लागि लडेको मैले आन्दोलनमा विपक्षीलाई गोली हान्दा हान तिमि जातीय विभेद अन्त्य भएको हेर्न चाहन्छौ भनेर मलाई तिमीले साथ,हौसला दिएको? मैले व्यवस्था परिवर्तन को लागि तिम्रो आँखा अगाडि कसरी अन्दा धन्दा गोलीबाट हजारौंले बलिदान दिएको बिर्सेउ साथी ?सम्झँदा पनि मलाई छट्पटी हुन्छ? आन्दोलनको परिणाम आज हाम्रो व्यबहारमा नदेख्दा। हजारौं सहिदको रगतले नेपाली भूमिको माटो मुछिएको हो। आजको यो ब्यवस्था देख्दा धिक्कार लाग्छ। तर पनि मैले परिवर्तनको साहस बोकेको छु । आश बोकेको छु । साथी स्खलित हुने छैन।

१.साथी,अब अलिकति तथ्य र कानुनका कुरा गरौं
नेपालमा संविधान तथा अन्य कानूनको पानाहरुमा विभेद अन्त्यको प्रावधान राखेको वर्षौंवर्ष भयो। बर्ग जातीय मुद्दा बोकेर युद्ध छेडिएको दशकौं भन्दा धेरै भयो। समाजमा सबै किसिमका जातीय छुवाछुत अन्त्यका लागि कानुन निर्माण भएर कार्यान्वयन सुरु भएको पनि वर्षौं भयो। तर जातीय भेदभाव ज्युकोत्यु छ। छुवाछुत तथा भेदभाव कसुरलाई निम्त्याउने कानुनको कठघरामा सजिलै उभिन सकेका छैनन् ।
नेपालको संविधानको धारा २४ मा ‘छुवाछुत तथा भेदभावविरुद्धको हक’ धारा ४० ‘मा दलितको हक’भनेर मौलिक हकको रुपमा प्रचलनमा रहेका छन्

त्यस्तै जातीय भेदभाव (कसुर तथा सजाय) ऐन, २०६८ र मुलुकी अपराध संहिता २०७४, को ‘परिच्छेद १०’मा भेदभाव तथा अन्य छुवाछूत व्यबहारसँग सम्बन्धित कसुरको व्यवस्था गरिएको छ। जसमा जातीय विभेद गर्नेलाई तीन वर्ष कैद र तिस हजार जरिवानाको पनि व्यवस्था रहेको छ। यी कानूनहरूको सहारा लिएर विभेदको विरुद्धमा कसैले कानुनी कारबाही चलाउछ भने मेरो या दलित समुदायको गल्ती हो? किन १० हात उफ्रन्छौ? हामीले कारबाही अगाडि बढाउँदा किन तिमी र तिम्रो सिंगो समुदाय डग्मगाउँछ ?

साथी तिमि भन्छौ परिवर्तन बिस्तारै हुन्छ भनेर? तर,आजको परिवर्तन पनि त यत्तिकै भयको थिएन होला , आवाज त उठे, कलम पनि चले, आन्दोलन नि भए। आज परिवर्तन हुन्छ भनेर मुख दहि जमाएर अन्याय सहनु कदापि हुँदैन। यदि विभेद गर्नेलाई कारबाहीको गरिएन भने विभेद गर्ने अपराधीले झनै अपराध गर्ने प्रशय पाउँछ।

साथी तिमी त भन्छौं दालमा केही ढुङ्गा त भैहाल्छ नि परिवर्तन त भएकै छ नि भनेर? जाति ब्यबस्थामा आधारित संरचना र विभेदको रक्षार्थको लागि प्रतिरक्षा गरेको देख्दा कस्तो तुच्छ सोच र क्रुर व्यवहार गर्दछौं? भन्ने तिम्रो बुझाइमा भने दाया जागेर आउछ साथी तिमीप्रति। जातीय विभेद र छुवा–छुत अन्त्य को लागि प्रतिरोध गर्ने बुलन्द आवज उठाउने, विभेदको विरुद्धमा प्रतिरोध गरौं , कानून अनुसार अदालतको कठघरामा उभ्याउने, कार्य गरौं साथी होइन भने यस्ता मानवविहीन र गैरकानूनी विभेदका जगन्य अपराध र अपराधीलाई पालनपोषण गर्ने काम बन्द गरौ। न्याय मार्गमा तुच्छ र कुरुप मुखडो लगाएर तघारो नबनौ यसैमा भलाई हुन्छ।

धेरै लड्यो, आवाज उठायौं, कलम चलायौ, बहस गरेम तर तिम्रो मानसिक चेतनामा दलित समुदायप्रति गरिने मानवीयहिन व्यवहार बाट मुक्त हुन सकेनौं। मुक्तिको लडाईका कुरा गर्छौ , बहसका कुरा गर्छौ ,बौद्धिकता छाँट्छौ। सामाजिक सञ्जालको चहलपल दिन्छौ। तर व्यबहार तिमि फेरि उस्तै गर्छौ भने यि सब कुराको कुनै तुक छैन।

सधै भरी हिनताबोधले डसिरहन्छ दोस्रो दर्जाको नागरिक भएको महसुस हुन्छ मेरो हजुरबुबा को पुस्तादेखि बुबाको र मेरो पुस्तासम्म आउँदा विभेदको स्वरुप परिवर्तन भएको हो विभेद अन्त्य होइनछ? शिक्षित भनिने काठमाडौंमा यस्तो विभेदको दयनीय अवस्था छ भने भने राजधानी भन्दा धेरै टाढाका बिकट दुरदराजमा के होला अवस्था ? साथी तिम्रो सुन्दर मुहार ऐनामा हेर्दा जति तिमी आकर्षक देखिन्छौ तर हामीलाई गर्ने व्यवहार एक चोटि आँखा चिम्लेर दलितको दृष्टिले तिमिले गर्ने विभेद हेर त? तिमी आलोचनात्मक चेत भएको मानव हौ भने एकचोटी आफूलाई नियालेर हेर प्रिय साथी विनम्र अनुरोध छ ।

तिमी हामीले लडेर ल्याएको लोकतन्त्र, समतामूलक समाज, विधीको शासन, समृद्ध नेपाल देख्ने चाहाना। तर आज सम्म पनि जातीय विभेद अन्त्य गर्न नचाहने कस्तो तिमिमा ब्राह्मणवादी सामन्ती सोच र व्यवहार छ है । आज मैले लेख्दा बोल्दा तिम्रो मन दुखेको होला अब सोच त तिमीले मलाई हजारौ वर्षदेखि चरम विभेदको पीडा दिँदा कस्तो भयो होला मलाई शब्दमा खोजेर देखिदैन। तिमी समाजको यथार्थ नियाल साथी ।

२.तिमी भन्छौ,जातीय बिद्रोह मच्चाउने काम हो’
तर म भन्छुः वर्षौदेखि मेरा हजुरबुबा र बुवको पुस्ताले चरम विभेद भोगे, वर्तमान स्थितिमा पनि एउटा अन्तरजातिय प्रेमविवाह गर्ने दलित युवालाई अपराधीलाई पनि गर्न नहुने सजाय सरह तडपाई तडपाइ मार्यौ? अझै कति नवराजलाइ मार्ने हौ? सार्वजनिक क्षेत्रमा दलित युवालाई बाँधेर कहिलेसम्म यातना दिन्छौं ? दलित बालिकाको बलत्कार मुद्दा मिलापत्र गराएर पीडितलाई मृत्युको मुखमा पुर्याउछौ? अपराधीलाई प्रशय दिन्छौ ? हाम्रो समाजमा बोक्सीको आरोपमा धेरै दलित महिला मार्छौ, बलात्कार गर्छौ, यो शहरमा दलितलाइ बाँच्न र बस्नको लागि बाध्यताबस आफ्नो पहिचान लुकाएर बस्न बाध्य बनाएका छौं। यो हजारौँ विद्यार्थीको पीडा हो। अनि मलाई तिमी विद्रोहि र मानबहिनको दर्जा दिन्छौं भने? म तिमीलाई अपराधी भन्छु। वर्षौंदेखि स्वेच्छाचारी ढङ्गबाट विभेद गर्दै आएको स्वेच्छाचारी सामन्ती भन्छु।

प्रिय साथी,झर्को नमान्नु।अहिले मेरो आक्रोश र आन्तरिक द्वन्दको बहकाव यो तिमीले निर्माण गरेको संरचनाको उपज हो। यो उपज बाट उत्पन्न भएको आक्रोश तिमीले स्वीकार्नुपर्छ। आत्मालोचना गरेर, तिमीले निर्माण गरेको उपजको परिणाम तिमीले भोग्नै पर्छ। तिमीले नबोकी कसले भोग्छ त ? छ भने उत्तर दिन नबिर्सनु साथी।

३.अब आरक्षणको विषयमा भन्छु,धैर्य भएर पढनुः
आरक्षण त उत्पीडित समुदायको हकमा लागू हुने एउटा कार्यक्रम हो। लामो समयदेखि पछाडि पारिएका समुदायलाई सहानुभूतिपूर्वक दिएको उत्थानको नीति हो। सीमित रुपमा सिमित पछाडि पारिएका समुदायलाई सिमित समयसम्म उपस्थित हुन ल्याइएको नीतिगत व्यवस्था हो। साथी तिमि यो आरक्षणको सम्बन्धमा नेपाललाई मात्र नहेर बिश्व भारतसँगै धेरै मुलुक छन जसले उत्पीडित समुदायलाई आरक्षणको नीति लागू गरेका छन। अब तिमी भन्छौ हामीलाई किन आरक्षण नदिएको भनेर ? भने ध्यान दिएर हेर अब तथ्यगत विषयमा प्रवेश गरौं ः

ऋग्वेदमा उल्लेख भए अनुसार निम्न अनुसार बर्गिय व्यवस्थाबाट जात व्यवस्थाको सुरु भयो। कामको आधारमाः
१) ब्राह्मण : नीतिनिर्माण गर्ने, ज्ञान आर्जन गर्ने, भनेर तोकियो।
२) क्षेत्री : शासन र प्रशासन चलाउने भनेर तोकियो।
३) बैस्य : सेवामूलक ब्यापार गर्ने, ब्यवस्थापन गर्ने भनेर तोकियो।
४) शूद्र : श्रम गर्ने र भौतिक चिनाएका काम गर्ने भनेर तोकियो।

अब इतिहासलाई गहिरो तरिका हेर? साथी ब्राह्मण, क्षेत्रीले आरक्षण पाएका रहेछन् कि रहेनछन् ? अब त थाह भो होला नि ब्राह्मण र क्षेत्री कुन तहमा रहेछ्न मथिको संरचना हेर त? अझै भन्छौ आरक्षण या कोटा पिडित भयौ भनेर? ब्राह्मण पुराण पढे, ज्ञान आर्जन गरे नीतिनिर्माण गर्ने पहुँचमा पुगे, यत्तिकै ब्राह्मण भएकै आधारमा हेर त । तर शुद्ध (दलित) ले पुराण ,वेद पढ्न खोज्दा जिब्रो काटियो। शिक्षाबाट वञ्चित गरियो। सामन्ती शासनको प्रयोग गरि हाम्रो जमिन खोस्यौ।दास बनायौ। शासन प्रशासनमा क्षेत्रीको हालीमुहाली भयो। व्यापारमा तिनले नै गरे। शुद्र (दलित) समुदायलाई थिचोमिचो पारेर अहिलेको अवस्थामा आएका होइनौं ? इतिहास यति छिटै बिर्सन्छौ। अनि अध्ययन नगरी अरूको आत्मसम्मानमा अपमान गर्ने यो कस्तो प्रवृत्ति हो साथी?

अनि अहिले दलित समुदायले जम्मा ९% प्रतिशत आरक्षण कोटा पाउँदा तिमीलाई त्यस्तो ज्यादती हुन्छ। अनि अहिले भन्छ कोठामा लगेर कोटामा जोड्ने ताइनतुइको कुरा किन गर्ने? सामान्य सुजवुज भएको ब्यक्तिले त्यति कुरा नबुज्ने? अनि तिमीलाई दलित समुदायले पाएको आरक्षणले तिमि संकट पा¥यो पनि राष्ट्रलाई घात भयो हामी असक्षम देखियौ? पात्र होइन प्रणाली बनाउनलाइ आरक्षण दिएको हो। इतिहास देखेनौ तिमीले दलितले भन्दा ब्राह्मण क्षेत्रीले सयौं गुणा आरक्षण खाएर दोहोन गरी र यो व्यवस्थामा आएका हुन् ।टुप्पी कसेर मात्रै होइन इतिहास हेर्नु आरक्षणकै ब्यवस्थामा टेकेर आएका हुन् ब्राह्मण पनि यो व्यवस्थामा सम्म। आरक्षण किन , कसलाइ,कसरि ,के को लागि दिने भनेर पहिले अध्यान गर्नु पर्यो नि यतिकै बोल्ने?

इतिहास वर्तमानलाई विश्लेषण गरौं। अनि मात्रै अभिव्यक्ति प्रस्तुत गरौं बोल्ने स्वतन्त्रता तिमीलाई र मलाइ पनि छ । सहज सबैलाई छ । तर कसैको स्वाभिमानमा चोट पुर्याउने गरेर बोल्ने अपमान गर्ने कसैलाई छुट छैन। यस्ता काम बन्द गर्नुपर्छ बरु बुझिएन भने बहस गरौं हैन पनि अपमान अन्त्य गरौं ।१९१० को मुलुकी एनेमा जातको आधारमा विभेदकारी दण्ड सजायँ र कानुनको व्यवस्था तोकियको थियो। २०२०को नयाँ मुलुकी ऐनमा जातीय भेदभावलाई प्रशय दिने कानूनको अदलको महल १०(क)मा विभेदकारि दफा थियो । जसमा सनातनदेखि चलिआएको परम्परालाइ छुवाछुत मानिने छैन। भनेर उनले उल्लेख थियो। पछि मानबहादुर विश्वकर्माले नेपाल सरकार कानुन न्याय संसदीय मन्त्रालय विपक्षी बनाएर मुद्दा हालेर त्यो महल खारेज गरियो ।

एक्काइसौं शताब्दीमा पनि कानुनमै यस्ता कुराले प्रशय दिँदै आएको तिमी विभेदकारी सोँचको ब्यवहार त गर्ने नै भयो होइन ? अब यो लडाई पात्रसँग भन्दापनि प्रवृत्ति, जात व्यवस्थामा आधारित संरचना र राज्य संग को हो। हो रूपा सुनार विभेदको विरुद्ध लड्ने साहास गरिन्। रुपा सुनार एकजना व्यक्तिले विभेदकरी व्यवस्थाको पात्रको विरुद्धमा आवाज उठाउँदा लड्ने कार्य स्वागतयोग्य छ र, प्रेरणाको रूपमा रहनेछ। अनि किन १० हात उफ्रन्छौ? अब त कोही पनि विभेद सहेर बस्ने होइन अन्यायको लड्ने हो ।

हो म स्वीकार्छु दलित भित्र पनि विभेद छ। र ब्राम्हण भित्र पनि विभेद छ।उपाध्याय र जैशिको। अब दलितले दलितलाई गरिने विभेद होस् या गैरदलित दलितलाई गर्ने विभेद या उपाध्यायले जैसीलाई गर्ने विभेद जोसुकैले विभेद गरेपनि अब यसलाई बहिष्कार गर्नका लागि कानुन अनुसार त्यसलाई कारवाही गर्नुपर्छ अनि मात्रै कानूनको कार्यान्वयन हुनेछ र व्यवहारको के कमी आउनेछ ।

त्यसैले आउ तिमी र म यो विभेद ,छुवाछूतको विरुद्धमा हातेमालो गर्दै आवाज उठाउँ, कलम निरन्तर चलाउँ, बहस गरौं समाधानको निम्ति आफू बाटै सुरु गरम। अनि परिवार ,समाज र देशम विभेद छुवाछूत अन्त्य पक्कै परिवर्तन हुनेछ । हामी सुन्दर नेपालको एउटा घरमा बसेको भाइचारा जस्तै मिलेर बसौं । अब पनि मैले छोएको तिमलाई किन नचल्ने , तिम्रो चेलिबेटिलाइ प्रेम गर्दा ,विवाह गर्दा हामी मर्न नपरोस्, तिम्रो चेली हामीले स्वीकारने तिमीले किन नस्विकार्ने ! आउ अब मिलेर यो विभेद अन्त्य गरौं। अन्यायको विरुद्ध लडौं। तिमी पराई , म पराई किन आउ संगै मिलेर हाम्रो सुन्दर घर नेपाल निर्माण गरौं। साच्चै गौतम बुद्धले दिएको ज्ञानको ज्योति जस्तो, सगरमाथाको उचाइ जस्तो विश्वमा हाम्रो पहिचान र स्वाभिमान कायम कायम गरौ ।

प्रिय साथी, तिमिले यो पढ्यौ होला। आशा छ तिमिले पक्कै केहि सोचाई र व्यबहार परिवर्तन गर्नेछौ। मैले लेखेको शब्दमा कुनै तिमिलाई नराम्रो भनेको होइन यो सिङ्गो दलित समुदायको भोगाइ हो। त्यो तिमी बुझ्छौ। तिमीलाई कहिँûकतै गल्ती भनेको भय क्षमा प्राप्ति छु।
उहि तिम्रो वर्षौदेखि विभेद सहेको , अब परिवर्तन गर्ने मार्गमा हिडेको दलित समुदायको साथी।

(लेखक हाल नेपाल ल क्याम्पसमा बिए .एलएल .बि कानुन अध्यनरत विद्यार्थी )