ताजा अपडेट »

कोपा अमेरिकाको क्वाटरफाइनल समीकरण पूरा

मंगलबार, १५ असार २०७८

काठमाडौं । ब्राजिलमा भइरहेको ४७औं संस्करणको कोपा अमेरिका फुटबलको कवाटरफाइनल समीकरण पूरा भएको छ । मंगलबार समूह ‘ए’ अन्तर्गत अन्तिम दुई खेल सकिएपछि क्वाटरफाइनल समीकरण तय भएको हो । विश्वकै सबैभन्दा पुरानो फुटबल प्रतियोगिता कोपामा यस पटक दक्षिण अमेरिकाका १० टिमले प्रतिस्पर्धा गरेका थिए जसमा ८ टिम क्वाटरफाइनल पुग्दा दुई टिम मात्र समूह चरणबाटै बाहिरिए ।समूह ‘ए’ बाट बोलिभिया तथा समूह ‘बी’ बाट भनेजुएला बाहिरिएका हुन् ।

अन्तिम खेलमा बोलिभियालाई ४-१ ले पराजित गर्दै अर्जेन्टिना समूह ‘ए’ को विजेता बन्यो । अर्को खेलमा पाराग्वेलाई १-० ले पराजित गर्दै उरुग्वे समूह उपविजेता बन्यो । यस्तै पाराग्वे तेस्रो तथा चिली चौथो बन्दै क्वाटरफाइनल पुगे ।समूह ‘बी’ बाट आयोजक ब्राजिल समूह विजेता बन्यो । पेरु दोस्रो, कोलम्बिया तेस्रो र इक्वेडर चौथो बन्दै क्वाटरफाइनल पुगेका छन् ।

अब क्वाटरफाइनलमा समूह ‘ए’ को विजेता अर्जेन्टिनाले समूह ‘बी’ को चौथो स्थानमा रहेको इक्वेडरसँग खेल्नेछ । यस्तै समूह ‘बी’ को विजेता ब्राजिलले समूह ‘ए’ को चौथो स्थानको चिलीसँग खेल्नेछ ।समूह ‘ए’ मा दोस्रो भएको उरुग्वेल समूह ‘बी’ को तेस्रो भएको कोलम्बियासँग तथा समूह ‘ए’ को तेस्रो भएको पाराग्वेले समूह ‘बी’ को दोस्रो भएको पेरुसँग खेल्नेछ । अर्जेन्टिना र इक्वेडर तथा उरुग्वे र कोलम्बियाबीचको खेलको विजेताले सेमिफाइनल खेल्नेछ । यस्तै ब्राजिल र चिली तथा पाराग्वे र पेरुबीचको खेलको विजेताले अर्को सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछन् ।फाइनल खेल जुलाई १० मा माराकाना स्टेडियममा हुनेछ ।