साउन ६,
ग्लोबल आवाज
बुटवल । नेपाली कांग्रेसका संस्थापक तथा नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको ३७ औं स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइदै छ । दिवसका अवसरमा नेपाली कांग्रेस र उसको भ्रातृ संस्थाहरूले विभिन्न कार्यक्रम गर्दैछन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । सोमबार बिहान सामाजिक सञ्जाल ट्विटमार्फत कोइरालाप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनले यस अवसरमा समृद्ध नेपाल अभियानमा सहभागी हुन आह्वान गरेका हुन् । प्रधानमन्त्रीले आफ्नो ट्विटरमा लेखेका छन् –नेपालको प्रजातान्त्रिक आन्दोलनका शीर्ष व्यक्तित्व, प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा ख्यातिप्राप्त साहित्यकार बिपी कोइरालाको ३७ औं स्मृति दिवसका अवसरमा स्वर्गीय कोइरालाप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दछु ।

प्रधानमन्त्री ओलीले समृद्ध नेपाल निर्माण अभियानमा अग्रसर हुन यस अवसरमा सबैलाई आव्हान गरेका छन् । प्रथम जननिवाचित प्रधानमन्त्री कोइरालाको योगदानको स्मरण गरी ३७ औँ स्मृति दिवस आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
विपी स्मृती दिवसको अवसरमा आज रुपन्देहीमा पनि विविध कार्यक्रमहरु आयोजना गरीएका छन् । बुटवल उपमहानगर समितिले बी.पी.चोकमा रहेको स्व बी पी कोईरालाको शालिकमा माल्यार्पण गरी बीपीलाई सम्झेको छ । यस्तै नेपाली कांग्रेस जिल्ला कार्यसमितिले तिलोत्तमाको वडा नम्वर १७ विपि ग्राम सेवा केन्द्रमा बृक्षारोपण कार्यक्रम आयोजना गरेको छ ।
नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर सङ्घर्ष गरेका कोइरालाको २०३९ साउन ६ गते निधन भएको थियो । उनले नेपाली साहित्यका क्षेत्रमा पनि महत्वपूर्ण योगदान पुर्याएका छन् । कोइरालाको जन्म १९७१ भदौ २४ गते भएको थियो ।
प्रतिक्रिया