साउन ६,
बुटवल । आज श्रावणको पहिलो सोमबार । साउन महिना शिवको महिना पनि भनिन्छ । यस महिना शिवको पूजा–आरधना गर्दा अन्य महिनाको तुलनामा धेरै पुण्य मिल्ने विश्वास छ । साउनमा पनि सोमबार विशेष मानिन्छ ।यसै क्रममा यस क्षेत्रका शिवालयहरुमा बिहानैदेखि श्रद्धालु भक्ततजनहरुको घुइँचो लागेको छ । स्यम् उत्पत्तिमान एकमात्र बोलबमधाम पर्रोहा बोलबमधाम, मुक्तिधाम, सिद्धबाबा धाम,लगाएतका शिवालयहरुमा भक्तजनको भिड लागेको छ ।
भगवान् शिवको प्रिय महिना साउन र प्रिय बार सोमबार मानिन्छ । यस दिनमा शिवलाई मनपर्ने बेलपत्र, जल, पञ्चामृतद्वारा पूजाअर्चना गरिन्छ । मुलुकभरका शिवालयमा साउन ६ गते पहिलो सोमबार परेको छ । यो महिना र दिन शिवको स्तुति मानव तथा चराचर जगत्का लागि निकै कल्याणकारी रहन्छ भन्ने शास्त्रीय मान्यता रहिआएको छ ।
साउने सोमबारका दिन सबैभन्दा बढी श्रद्धालु आउने पशुपतिनाथमा नै हो । यो दिनका लागि विशेष तयारी गरेको पशुपति विकास कोषले जनाएको छ । कोषका अनुसार सोमबार बिहान ३ः३० मा नै दर्शनार्थीका लागि मन्दिरको ढोका खुला गरिने भएको छ । पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक रमेश उप्रेतीका अनुसार भक्तजनको सुरक्षाका लागि पर्याप्त सुरक्षाकर्मीको व्यवस्था गरिएको छ । रुद्रगाडेश्वर वासुकीतर्फ, भुवनेश्वरी भएर दक्षिणढोकातर्फ र पूर्वी ढोकाबाट भक्तजनले मन्दिर प्रवेश गर्न सक्ने व्यवस्था गरिएको पशुपतिनाथका कोटवाल पूर्णनारायण जोशीले जानकारी दिए ।
भक्तजनलाई चन्दन तथा पञ्चामृतसमेत प्रदान गर्ने व्यवस्था योपल्ट गरिएको छ । बोलबम तीर्थयात्रीको आगमन भने साउन महिनाको अन्तिम दुई सोमबारका लागि तय भएको छ । ओम बोलबम काँवरिया सङ्घका अध्यक्ष सुनिल ठाकुर (बारा)का अनुसार उडिसास्थित वैद्यनाथ धामबाट योपल्ट धेरै बोलबम यात्री यहाँ आउँदैछन् । बोलबम यात्रा व्यवस्थापनका लागि उपत्यकामा रहेका यात्रा आयोजक संस्थाबीच विमर्श भइरहेको छ ।
ललितपुरको सुनाकोठीस्थित भृङ्गारेश्वर महादेवमा पहिलो सोमबार नै बोलबम यात्रीको प्रवेश हुँदै छ । सिद्धरस तीर्थको जललाई कलशमा ल्याएर यहाँ यो यात्रा हुने गरेको छ । भृङ्गारेश्वर महादेव क्षेत्र सुधार समितिका अध्यक्ष रामचन्द्र महर्जनका अनुसार सुनाकोठीका सबै यो यात्रामा सहभागी हुँदै छन् ।
प्रतिक्रिया