काठमाडौँ । जारी १६औं संस्करणको युरोकप फुटबलको नकआउट चरणमा आज दुई खेल हुँदैछ ।
नकआउट चरण अन्तर्गत सोमबार हुने पहिलो खेलमा स्पेन र क्रोएसिया भिड्दै छन् । डेनमार्कको पार्केन स्टेडियममा हुने स्पेन र क्रोएसियाबीच खेल नेपाली समयानुसार राति ९ः४५ बजे सुरु हुनेछ । दुबै टिम जित निकाल्दै अन्तिम आठमा पुग्न चाहन्छ ।
स्पेनले समूह चरणमा उत्कृष्ट प्रदर्शन गरेको थियो । युवा खेलाडी रहेको स्पेन समूह ई’को उपविजेता बन्दै अन्तिम १६ मा पुगेको हो । ३ खेलमा ५ अंक जोडेको थियो ।
समूह चरणको पहिलो खेलमा स्पेनले स्विडेनसँग गोलरहित बराबरी खेलेको थियो । यस्तै दोस्रो खेलमा पनि स्पेनले पोल्याण्डसँग १-१ को बराबरी खेलेको थियो । अन्तिम खेलमा स्लोभाकियालाई ५-० गोल अन्तरले पराजित गर्दै स्पेन समूह उपविजेता बनेको हो ।
यता, क्रोएसिया पनि बलियो टिम मानिन्छ । समूह चरणमा क्रोएसियाले ठुला देशसँग राम्रो प्रर्दशन गरेको थियो । क्रोएसियाले ३ खेलमा ४ अंक जोडेको थियो ।
समूह चरणको पहिलो खेलमा क्रोएसिया इंल्याण्डसँग १-० ले पराजित भएको थियो । क्रोएसियाले दोस्रो खेलमा चेक रिपब्लिकसँग १-१ को बराबरी खेलेको थियो । तेस्रो खेलमा क्रोएसियाले स्कटल्याण्डलाई ३-० ले पराजित गरेको थियो ।
युवा खेलाडीको बाहुल्यता रहेको दुवै टिम अहिलेसम्म ८ पटक आमुनेसामुने भएका छन् । जसमा स्पेन ४ पटक विजयी भएको थियो भने क्रोएसिया ३ पटक विजयी भएको थियो । १ खेल बराबरीमा रोकिएको थियो ।
आजै हुने दोस्रो खेलमा फ्रान्स र स्विजरल्याण्ड भिड्दैछन् । रोमानियको नेशनल एरेनामा हुने फ्रान्स र स्विजरल्याण्डबीचको खेल नेपाली समयानुसार राती १२ः४५ बजे सुरु हुनेछ ।
फ्रान्स समूह ‘एफ’को विजेता बन्दै नकआउट चरणमा पुगेको हो । फ्रान्सले ३ खेलमा ५ अंक जोडेको थियो । फ्रान्स राम्रो लयमा रहेको छ ।
समूह चरणमा फ्रान्सले पहिलो खेलमा जर्मनीलाई १–० ले हराएको थियो । यस्तै, दोस्रो खेलमा फ्रान्स हंगेरीसँग १-१ को बराबरीमा रोकिएको थियो । अन्तिम खेलमा फ्रान्सले पोर्चुगलसँग २-२ को बराबरी खेलेको थियो ।
स्विजरल्याण्ड पनि उत्कृष्ट प्रदर्शन गर्दै नकआउट चरणमा पुगेको हो । स्विजरल्याण्डले समूह चरणको पहिलो खेलमा वेल्सलाई १-१ को बराबरीमा रोकेको थियो । तर, दोस्रो खेलमा इटलीसँग ३-० ले पराजित भएको थियो । अन्तिम खेलमा टर्कीलाई ३-१ ले हराउँदै स्विजरल्याण्ड नकआउट चरणमा पुगेको हो ।
फ्रान्स र स्विजरल्याण्डबीच अहिलेसम्म ३८ पटक प्रतिस्पर्धा भएको छ । जसमा फ्रान्सले १६ खेल जितेको छ भने स्विजरल्याण्डले १२ खेल । १० खेल बराबरीमा रोकिएको छ ।
प्रतिक्रिया