बुटवल । विश्वव्यापी रुपमा फैलिएको कोरोना (कोभिड १९)को कारणले विश्वनै आक्रान्त परेको समयमा होटल व्यवसायीहरू पनि धराशायी बनेका छन् । कोरोनाको नयाँ भेरियण्ट थपिँदै जाँदा निषेधाज्ञा हुन थालेपछि अघिल्लो लकडाउनबाट केही उठ्न थालेका होटल व्यवसायी पुनः थला परेका हुन्।
लुम्बिनी प्रदेश सरकारले प्रदेशलाई आर्थिक हबको रुपमा विकास गर्ने भनेपनि निषेधाज्ञाकै कारणले होटल व्यवसाय तथा पर्यटन क्षेत्र निकै थला परेको यस क्षेत्रका पर्यटन व्यवसायी बताउँछन् । डेरामा बसेर सामान्य व्यवसाय सञ्चालन गर्ने व्यवसायीहरू पलाएन समेत भइरहेको व्यवसायीहरू बताउँछन् । मध्यम खालका होटलहरु पनि निकै समस्यामा छन् भने ठूला र तारे होटलहरुलाई निकै मर्कामा परेको व्यवसायीहरू बताउँछन् । तारे होटलमा पुग्ने ग्राहकहरू अधिकतम विदेशी नै भएकोले विश्व नै सहज नहुँदासम्म तारे होटल सञ्चालनको लागि निकै कठिन भएका छन् ।
होटल व्यवसायी संघ नेपालका पूर्व केन्द्रीय अध्यक्ष तथा होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रूपन्देहीका पूर्व अध्यक्ष माधव नेपालले लुम्बिनी प्रदेशमा होटलको संख्या बढिरहेको भएपनि सरकारले व्यवसायीलाई टिकाउने पहल गर्नुपर्ने बताउँछन् । उनले अघिल्लो पटकको कोरानाको समयमा कहालीलाग्दो अवस्थामा पुगेको स्मरण गर्दै यसपटकपनि चपेटामा परेको बताए । उनले लुम्बिनी प्रदेशको रूपन्देहीमा राजधानी, अन्तराष्ट्रिय स्तरको सभाहल र विमानस्थलको कारणले धेरै होटलहरु सञ्चालनमा आएपनि राजधानी दाङ तोकिनु र कोरोनाले एकैपटक थिच्नुले व्यवसायीहरू पलाएन हुन सक्ने सम्भावना बढ्दै गएको बताए ।
उनले व्यवसायीहरूलाई यही पेशा व्यवसायमा स्थायित्व बनाउनको लागि सकारले पुनःउत्थान नीति ल्याउनुपर्ने बताउँदै यसो नभए पर्यटन क्षेत्रबाट धेरै पलायन हुने अवस्था आउने सम्भावना बढेको बताए ।उनले नीतिमा बैंकिङ्ग सहुलियत कर्जा, कर छुट लगाएतका कुराहरूलाई समावेश गर्नुपर्ने बताउँदै यसले भोलिको दिनमा होटल तथा पर्यटन व्यवसाय जोगिने बताए।
पूर्वअध्यक्ष नेपालले अहिलेको अवस्थाबाट सामान्य अवस्थामा फर्किनका लागि समय लाग्ने बताउँदै तत्काल व्यवसाय सञ्चालन गर्न दिएपनि सामान्य बन्नको लागि न्यूनतम पनि २ वर्ष लाग्ने बताए । उनले व्यवसायीलाई टिकाउनको लागि नीति ल्याउनु आवश्यक रहेको बताउँदै यो नै एकमात्रै विकल्प रहेको सुझाए ।
होटल संघ नेपालका केन्द्रीय सदस्य एवम् ड्रिमल्याण्ड गोल्ड रिसोर्टका सञ्चालक गोपाल रानाले अन्य क्षेत्रकोसंगै पर्यटन क्षेत्र धराशायी बनेको बताउँछन् । उनले अघिल्लो लकडाउनको समयमा निकै समस्या भएको सम्झँदै अहिले पुनः त्यो भन्दा नाजूक अवस्था भोग्नुपरेको बताए । उनले जग्गा लिजमा लिई व्यवसाय गर्ने पलायननै हुने अवस्था आएको र आफ्नै जग्गामा ब्वयसाय गर्नेलाई पनि आन्तरिक खर्च तथा बैंक ब्याजले थिचिरहेको बताए ।
उनले देशको अर्थतन्त्रसँगै पर्यटन गतिविधि चलायमान नबनाउँदासम्म कुनैपनि व्यवसाय अगाडि बढ्न नसक्ने बताउँदे त्यसतर्फ सरकारले ध्यान पुर्याउनु पर्नेमा जोड दिए । ‘कोरोनाको उपचारमा सबैभन्दा अचुक औषधि भनेको खोप हो, यो खोप यथासिघ्र ल्याएर देशको आर्थिक अवस्था चलायमान बनाउनु पर्दछ ।’–रानाले भने –‘ होटल तथा पर्यटन व्यवसाय चल्नको लागि विश्वमानै आर्थिक चलायमान हुनुपर्दछ, तर नेपालमा त्यसतर्फ पहल भइरहेको छैन् ।’
उनले सरकारले अघिल्लो पटक दिने भनेको विद्युत डिमाण्ड शुल्क छुटको कुरा कार्यान्वयन नभएको गुनासो गर्दै देशको अर्थतन्त्रमा होटल तथा पर्यटन क्षेत्रको सहभागिता उच्च रहेकोले सरकारले अझै केही सहुलियत दिनुपर्ने माग गरे । अहिलेको नीति कार्यक्रम र बजेटले होटल तथा पर्यटन व्यवसायलाई उत्पादनमूलक उद्योगको सूचीमा दर्ता गर्न लाग्नु स्वागतयोग्य रहेको बताउँदै निर्णय र स्वीकृत गरेका कुराहरूलाई कार्यान्वयन गर्न सरकारलाई उनको सुझाव छ ।
होटल एसोसियशन नेपालका केन्द्रिय सदस्य, सिद्धार्थ होटल संघ अध्यक्ष एवम् नान्स होटलका सञ्चालन चन्द्र प्रकाश शर्माले होटल व्यवसायी निकै मारमा परेको बताउँदै आउँदै गरेको मौद्रिक नीतिमा होटल तथा पर्यटन व्यवसायको क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्ने बताउँछन् । होटल तथा पर्यटन व्यवसायीलाई महामारीको अन्त्यपछि पनि बैंक तथा वित्तिय संस्थाको सावा व्याज तिर्नका लागि सरकारले न्यूनतम पनि २ वर्षको समय सिमा बनाउन आग्रह गर्दै उनले यसो नभए अधिकतम होटलहरु लिलाम हुने अवस्था आउने बताए ।
बिदेशमा सबै नागरिकले खोप लगाईसकेको पनि नेपालमा समस्या कायमै रहेकोले विदेशी पर्यटकहरु नेपाल नआउने हुँदा तारे होटलहरुलाई समस्या पर्ने बताए । उनले सरकारले यथाशिघ्र कोरोना बिरुद्धको खोप सबै नागरिकलाई व्यवस्थापन गर्नुपर्ने बताए। सरकारसँग छुटको माग गर्दा बजेटमा सम्बोधन गरेपनि कार्यान्वयन हुन नसक्दा निकै समस्या रहेको बताउँदै उनले सरकारले बोलेका कुराहरु कार्यान्वयन तहमा लैजानुपर्ने बताए । ‘ विद्युत डिमाण्ड शुल्क छुट भन्यो सरकारले तर विद्युतमा पैसा तिर्न जाँदा जरिवाना लाग्छ, छुटको कुनै पत्र आएको नआएको प्राधिकरण बताउँछ ।’–उनले भने –‘ सरकारले छुट भन्ने कार्यान्वयन नहुने गर्दा हाम्रा व्यवसाय लिलाम हुने डर बढ्दै जान्छ।’
रुपन्देहीमा साना तथा ठुला गरि ४५ सय भन्दा धेरै होटल व्यवसायीहरु रहेका छन्। होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देही मातहतमा १२ सय होटल व्यवसायीहरु रहेको होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीका निवर्तमान अध्यक्ष समुन्द्र जीसीले जानकारी दिए।
कोभिडकै कारणले जिल्लामा १० जना होटल व्यवसायीहरुको ज्यान गएको बताउँदै उनले निषेधाज्ञाको कारणले जिल्लामा करिब ६० जना बिस्थापित भएको जानकारी दिए।१५ हजारले प्रत्यक्ष रुपमा रोजगारी पाएकोमा अहिले २५ प्रतिशत कर्मचारीहरुमात्रै रहेको उनले जानकारी दिए ।
प्रतिक्रिया