साउन ४,
नेपालगन्ज । कुनै बेला १३ हजार रुपियाँको लगानीमा घरमै सुरु गरिएको कस्मिरा खातुनको सिलाइकटाइ व्यवसाय अहिले तीन करोड रुपियाँ पुँजीको गार्मेन्ट उद्योगमा परिणत भएको छ ।
एक जना मुस्लिम महिलाले हासिल गर्नुभएको यो सफलताका लागि १८ वर्ष कठोर परिश्रम भने गर्नु पर्यो । कस्मिराको सफलताबाट जस्तोसुकै अवस्था आए पनि हरेश नखाई निरन्तर मेहनत गर्ने हो भने सफलता अवश्य प्राप्त हुने शिक्षा लिन सकिन्छ । नेपालगन्ज घरबारी टोलस्थित लुम्बिनी गार्मेन्ट उद्योगकी सञ्चालिका कस्मिराले घरमै पेटिकोट सिलाएर व्यवसाय सुरु गर्नुभएको हो ।
व्यापारको सिलसिलामा अर्घाखाँचीबाट नेपालगन्ज आउनुभएकी खातुनसँग १८ वर्षअघि साथमा एक कौडी पनि थिएन । उहाँले बल्लतल्ल ऋण काढेर १३ हजार रुपियाँ लगानीमा घरमै व्यवसाय सुरु गर्नुभयो । त्यही व्यवसाय फस्टाउँदै अहिले तीन करोड रुपियाँको लगानीमा विस्तार भएको उहाँ बताउनुहुन्छ ।
कस्मिराको लुम्बिनी गार्मेन्टले उत्पादन गरेका तयारी कपडा काठमाडौँ, पोखरा, बुटवल, धनगढी, महेन्द्रनगरलगायत साविकको मध्य र सुदूरपश्चिमका अधिकांश ठाउँमा पुगिरहेका छन् । उद्योगमा अहिले धेरैले रोजगारी पाएका छन् । उहाँ भन्नुहुन्छ, “म आफैँले पेटिकोट सिलाएर व्यवसाय सुरु गरेँ, अहिले ७० जनाले काम पाएका छन् । उद्योगले उत्पादन गरेको कपडाको माग बढिरहेकाले थप कामदार राख्नुपर्ने अवस्था छ ।”
कस्मिराले व्यवसाय आरम्भ गरेको सम्झँदै भन्नुभयो, ‘त्यति बेला एउटा पेटिकोट सिएबापत पाँच रुपियाँ र म्याक्सी सिएको १० रुपियाँ लिन्थेँ । दिनमा पाँच सय रुपियाँ कमाउन दर्जनौँ पेटिकोट सिलाउनुपथ्र्यो । त्यसका लागि दिनरात मेहनत गरेँ ।’ - सिराजुद्दिन खान/ गोरखापत्र
प्रतिक्रिया