गुल्मी। ‘नमस्कार । मेरो नाम पदम पाण्डे । पेशाले म रेसुङ्गा बहुमुखी क्याम्पसको उप–प्राध्यापक र नागरिक समाज गुल्मीको अध्यक्ष ।’ फेरी कुनै कार्यक्रममा अर्का एक ब्यक्ति पनि उठेर त्यसरी नै परिचय दिन्छन्– ‘नमस्कार । म गुणनिधी शर्मा । पेशाले म रेसुङ्गा बहुमुखी क्याम्पसको उपप्राध्यापक र नागरिक समाज गुल्मीको अध्यक्ष ।’ एउटै क्याम्पसका यी दुई उप–प्राध्यापक एउटै कार्यक्रममा भने प्रायः कम देखिन्छन् । अलग–अलग कार्यक्रममा भने उनीहरुले त्यसरी परिचय दिएर नागरिक समाजको प्रतिनिध्व जनाउँछन् । त्यसरी अध्यक्ष भनि सकेपछि त्यस संस्थाको उपाध्यक्ष , सचिव कोषाध्यक्ष लगायतका पदाधिकारी र कार्य समिति सदस्य पनि हुनुपर्ने तर, त्यो नागरिक समाजका अरु पदाधिकारी र सदस्यहरुको कुनैपनि कार्यक्रममा प्रतिनिधित्व भएको पाइँदैन ।
यस बारे जिज्ञासा राख्दा उपप्राध्यापक पाण्डे भन्छन्–‘ यो कुनै संस्था होइन, यो एउटा अभियान हो । २०६२÷०६३सालको जनआन्दोलन सफल पार्न राजनीतिक दलहरुले मात्र सम्भव नभए पछि नागरिक आन्दोलनको अभियान छेडिएको हो । त्यही आन्दोलनले स्थापित गरेकाहरुलाई नागरिक समाजका अगुवा भनिएको हो । मुलतः नागरिक समाज भनेको २०६२ ÷०६३ सालको जनआन्दोलनको विरासत हो । ’ त्यही विरासत कै आधारमा एक जिल्ला दुई नागरिक समाज छ गुल्मीमा । मुलतः ब्यक्ति छ, संस्था छैन । संस्था नै नभए पछि समावेशिताको त झन कुरै छाडौं । नागरिक समाज भनेको सबै वर्ग , जातजाति , धर्म पेशा र विभिन्न क्षेत्रका विज्ञ सहित हुनु पर्ने । अनि त्यस नागरिक समाजको निष्पक्षताको सवाल पनि उठ्नुपर्ने ।
संस्थाको विधि विधान हुनु पर्ने,सिमित अवधी तोकेर साधरण सभा गरिनुपर्ने र अधिवेशन पनि गरेर कार्य समिति चुनिनु पर्ने । यस्तो सवाल उठाउँदै स्वघोषित नागरिक समाजका अगुवा भनेर आलोचना पनि गर्ने गरिएको छ । यस सम्वन्धमा उप प्रध्यापक पाण्डे थप्छन्–‘जनआन्दोलन ताका कृष्ण पाहडी , देबेन्द्रराज पाण्डे लगाएत आउनु भयो र मलाई नागरिक आन्दोलनको संयोजन गर्न भन्नु भएको हो । त्यस यता हामीले नागरिकहरुका समस्या उठान गर्दै आएका छौं , अधिवेशन गर्ने कार्य समिति चुन्ने कुरा हुँदैन ,जो जसले नागरिकहरुको सवाल उठाउछ उहि नागरिक अगुवा हो ।’ त्यसो भए एक जिल्ला किन दुई नागरिक समाज त ? भन्ने प्रश्नमा उनले अर्को नागरिक समाज एनजिओले गठन गरेको हुन सक्ने बताए ।
नागरिक समाजमा कानुन ब्यवसायी, मानवअधिकारकर्मी , पत्रकार , विभिन्न धर्म समुदाय र विभिन्न संघ–संस्था र विज्ञहरु हुनु पर्ने धारणा पाण्डेको पनि छ तर राजनीतिक कारणले नै एकले अर्कोलाई नेतृत्व स्वीकार गर्न सक्ने अवस्था नरहेको नागरिक अगुवा पाण्डेले खुलस्त पारे । उनी वामपन्थी राजनीतिमा आश्था राख्छन् । अर्का नागरिक समाजका अगुवा शर्मा नेपाली कांग्रेसमा आस्था राख्छन् । उनले आफूहरु २०५५/०५६ साल तिरैबाट नागरिक आन्दोलनको अगुवाई गरेको दावी गर्दछन् ।
उनले नेपाल नागरिक समाज गुल्मी जिल्लामा वैधानिक रुपमा तत्कालिन प्रमुख जिल्ला अधिकारी फर्शराम अर्यालका पालामा २०६७ सालमा जिल्ला प्रशासन कार्यालय गुल्मीमा दर्ता भएको बताए । समितिमा आफू अध्यक्ष , श्यामकुमार पाण्डे , सिद्धबाबा माध्यामिक विद्यालयका प्रधानध्यापक डोरविक्रम श्रीस् , उपप्रध्यापक शशी पन्थी लगाएतका शिक्षक बुद्धिजिवीहरु रहेको बताए।
त्यस नेपाल नागरिक समाजको केन्द्रिय अध्यक्ष खेमराज रेग्मी रहेको र गुल्मीको हकमा २०६१/०६२ को जनआन्दोलनको संयोजक उपप्राध्यापक प्रेमनाथ अर्याल रहेको उनले बताए । संस्थागत रुपमै दर्ता भएको त्यस नेपाल नागरिक समाजको पनि हालसम्म अधिवेशन भएको छैन । नागरिक समाजलाई संस्थागत गर्न राजनीतिक आस्था भन्दा माथि उठेर सर्वपक्षिय भेलाले नेतृत्व चयन गर्नु पर्ने सरोकारवालाले आवाज उठाउन थालेका छन् ।
२०६२ ÷०६३ सालको जनआन्दोलमा नागरिक समाज गुल्मीको संयोजक अर्याल र सचिव पदको जिम्मेवारीमा पाण्डे रहेको जानकारहरु बताउँछन् । जुन गणतन्त्र घोषणासंगै उक्त नागरिक समाज निष्कृय भएको थियो । त्यस यता नागरिकहरुका समस्या उठान , न्याय र मानवअधिकारका पक्षमा पाण्डेले निरन्तर आवाज उठाउँदै आएका छन् ।
प्रतिक्रिया