बुटवल । केहि खुकुलो भएतापनि रुपन्देहीको निषेद्याज्ञा जारी छ । निषेद्याज्ञामा सभा–समारोह गर्न वा २५ जना भन्दा बढीको जमघट गर्न –गराउन निषेधित छ । तर,नियम,कानून बनाउने र पालना गर्न निर्देशन गर्ने निकाय तथा तहहरुले नै उक्त निर्देशनको ठाडो उल्लंघन गरेका छन् । रुपन्देहीका अधिकांक स्थानीय तहहरुले निषेधाज्ञा उल्लंघन गर्दै वृहत सभा–समारोह गरी नीति तथा कार्यक्रमहरु र बजेट सार्वजनिक गरेका छन्।
निषेधाज्ञा खुकुलो बनाउँदै कुनै सभा, समारोह, भिडभाड हुने कार्यक्रम लगाएत नगर्न र २५ जनाभन्दा धेरै जम्मा नहुन निर्देशन दिएपनि कार्यक्रमहरुमा भने १ सय जना भन्दा बढी नै जम्मा भएका छन् । असार १० गतेभित्र नीति कार्यक्रम र बजेट ल्याइसक्नुपर्ने भएकोले जिल्लाका अधिकांश स्थानीय तहले बिहीबार(हिजो)मात्रै नीति कार्यक्रम र बजेट ल्याएका हुन्।
जिल्लाका १६ स्थानीय तह मध्ये १ पालिकामा बिबादका कारणले बजेट आएन भने एक पालिकामा बिबादकै बीचमा बजेट पेश भयो । जिल्लामा ओमसतिया गाउँपालिकाले बिबाद भएकै कारणले बजेट ल्याएन । अधिकांश कार्यपालिका सदस्यले बहिस्कार गरेकोले बजेट रोकिएको हो ।
जिल्लाको एकमात्रै उपमहानगर बुटवलले नीति कार्यक्रम पनि पार्टी प्यालेस(होटल)मै पुगेर नीति कार्यक्रम र बजेट ल्याएको छ । नगरप्रमुख शिवराज सुबेदीले नीति कार्यक्रम र उपप्रमुख आचार्यले बजेट वाचन गर्दा सभाहल खचा–खच भरिएको थियो। कार्यक्रममा २५ जनाभन्दा धेरैको सहभागिता रहेको थियो । तर,उपमहानगरले भने एन्टीजेन परीक्षण गराएर मात्रै कार्यक्रममा सहभागि बनाएको दाबी गरेको छ ।
यता तिलोत्तमा नगरपालिकाले पनि होटलमै गएर नीति कार्यक्रम र बजेट प्रस्तुत गरेको छ । यहाँ नीति कार्यक्रम प्रस्तुत गर्दा पनि कार्यक्रम स्थलमा उल्लेख्य ब्यक्तिहरुलाई देख्न सकिन्थ्यो। मञ्चमा जनप्रतिनिधिहरुले शुरुवातमा मास्क लगाएपनि कार्यक्रम चल्दै गर्दाभने सहभागिले केहीले मास्क लगाएका थिएनन् । कार्यक्रमस्थलमा २५ जना भन्दा बढी थिए ।
सैनामैना नगरपालिकाले पनि होटलमै पुगेर नीति कार्यक्रम र बजेट सार्वननिक गर्यो । मास्क सेनिटाईजरको ब्यवस्था गरेपनि २५ जनाभन्दा धेरैको सहभागितामा कार्यक्रम सम्पन्न भएको थियो ।
जिल्लाको देबदह नगरपालिका, सिद्धार्थनगर नगरपालिका, कोटहीमाई गाउँपालिकाले पनि होटलमा पुगेर नीति कार्यक्रम र बजेट सार्वजनिक गरे । हुँदा सामाजिक दुरी कायम राखिएको भएपनि सहभागिको संख्या भन्दा प्रशासनले तोकेभन्दा धेरै नै छ ।
यता जिल्लाको लुम्बिनी सांस्कृतिक नगरपालिकाले भने आफ्नै पालिकाको कार्यालय सभाहलमा नीति कार्यक्रम प्रस्तुत गरेको छ । आफ्नै हलमा कार्यक्रम गरेपनि सामाजिक दुरी, माक्स र सेनिटाईजर राखिएको भएपनि कार्यक्रमस्थलमा १ सय भन्दा धेरै जनाको उपस्थीति रहेको थियो ।
जिल्लाका कञ्चन, सियारी, गैडहवा, मायादेवी, मर्चवारी, रोहीणि, सुद्धोधन, सम्मरीमाई, कोटहीमाई, गाउँपालीकाले भने आफ्नै कार्यालय परिषरमा कार्यक्रम गरि नीति कार्यक्रम प्रस्तुत गरे । कार्यक्रममा केहीपालिकामा सामाजिक दूरी समेत कायम भएको थिएन भने प्रशासनले तोकेको भन्दा धेरै ब्यक्तिहरु सहभागि थिए । मास्क,सेनिटाइजर र सामाजिक दूरीको प्रयोग गरिएको भएपनि सहभागिताको संख्या २५ भन्दा धेरै भएकोले निषेधाज्ञा उल्लंघन गरिएको भन्न सकिन्छ ।
तोकिएको समयमा नीति तथा कार्यक्रम र बजेट ल्याउनु र सार्वजनिक गर्नु परेतापनि जारी निषेद्याज्ञा र महामारीको जोखिममा स्थानीय तहले गरेका कार्यक्रम र भिडले निषेद्याज्ञा उल्लंघन मात्रै होइन । संक्रमणको जोखिम पनि बढेको छ । विभिन्न पार्टी प्यालेस,होटलमा भीडका साथ समारोह नगरी आफ्नै तहका भवन-हल बाट वैकल्पिक माध्यम वा सञ्चारका माध्यमबाट पनि नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गर्न सकिने स्वास्थ्यकर्मी तथा सरोकारवाला बताउँछन् ।
प्रतिक्रिया