भैरहवा । रुपन्देहीका केहि स्थानीय तहको आगामी वर्षको बजेट बिबादित बनेका छन् । असन्तुष्टिका बीच उनिहरुको नीति तथा कार्यक्रम र आगामी वर्षको बजेट सार्वजनिक भएको छ । प्रायः गाउँपालिकामा वडाअध्यक्ष, वडा सदस्य र गाउँपालिका अध्यक्षमा वडामा दिइने बजेट सिलिङको बारेमा असन्तुष्टि रहेको पाइएको छ । पालिका सदस्यहरुमा असन्तुष्टि रहेपनि कतिपय पालिकामा बहुमतको आधारमा बजेट ल्याइएको छ। जिल्लाको ओमसतिया गाउँपालिकामा बजेट र नीति तथा कार्यक्रम नै हुन पाएन ।
अहिले अन्तिम बजेट भएको भन्दै वडा अध्यक्षहरु निर्धारित बजेटको अधिकांश रकम मागेपछि ओमसतियाको गाउँसभा नै प्रभावित बनेको छ । निर्धारित समयमा गाउँसभाका सदस्यहरु उपस्थित नभएपछि गणपुरक संख्या नपुगेको बताउँदै गाउँपालिकाले सभा अर्को मिति सम्मको लागि स्थगित गरेको छ । ओमतियामा ६ जना वडा अध्यक्ष सहित २५ गाउँसभा सदस्यले गाउँसभा बाहिष्कार गरेको बताएका छन् । बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी उनिहरुले अध्यक्षले आफ्नो तानाशाही नीति नसच्याएसम्म सभा गर्न नदिने चेतावनी दिए ।
ओमसतिया गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष शिवकुमार धवलले गाउँपालिका अध्यक्ष हिरा केवट आफ्नै मनोमानी तरिकाले गाउँपालिका सञ्चालन गर्न खोजेपछि सभा बहिष्कार गरेको बताए । गाउँपालिका अध्यक्षसहित प्रमुख प्रशासकिय अधिकृत दुर्गा पौडेल, लेखा अधिकृत कमल शर्माको मिलेमतोमा सूचना लुकाउने तथा आर्थिक अनियमितता गरेकोले विगतको आयब्यय विवरण प्राप्त नभए सम्म गाउँसभा बहिष्कार गर्ने उनिहरुको चेतावनी छ ।
यता गाउँपालिका अध्यक्ष हिरा केवटले भने वडा अध्यक्षहरुले वडामा २ करोड बजेट छुट्टै बजेट माग गरेको र गाउँपालिकाको बजेट १५ करोडको हाराहारीमा मात्र रहेको हुदा उनिहरुको माग पूरा गर्न नसकेको कारण सभा हुन नपाएको दाबी गरे । जेठको २७ गते देखि नै बैठक बोलाएर सहमतिको प्रयास गरिरहेको उनको भनाई छ । ‘बैठकमा आएपनि उपस्थितिमा तत्काल हस्ताक्षर नगर्ने र पछि हस्ताक्षर गर्ने गरेका छन् ।’ गाउँपालिका अध्यक्ष केवटले भने ।
ओमसतियाको मात्र हैन रुपन्देहीको दक्षिणी क्षेत्र मर्चवारको पालिकाहरु पनि बजेट सिलिङकै मारमा परि बहुमतको आधारमा नीति तथा कार्यक्रम र बजेट पेश गरेका छन् । मर्चवारी गाउँपालिकाका ७ वटै वडा अध्यक्षहरुले गाउँसभा बहिष्कार गरेका छन् । गाउँपालिका अध्यक्ष केशवनन्द बनियाँले सभाबारे जानकारी नै नदिई सभा गरेको उनिहरुले आरोप लगाए पनि त्यसको चुरो कुरा बजेट सिलिङ नै रहेको गाउँपालिका अध्यक्ष बनियाको भनाई छ ।
बिहीबार भएको गाउँसभामा एक जना पनि वडा अध्यक्ष कार्यक्रममा देखिएनन् । कार्यक्रम स्थलको केही दुरीमा बसिरहेका वडा अध्यक्षहरुले आफुलाई गाउँपालिकाले औपचरिक जानकारी नदिएको गुनासो गरे । वडा अध्यक्षहरुले सभाबारे जानकारी नदिएर सभामा नगएको बताई रहदा मुख्य कुरा बजेट सिलिङ र क्वारेन्टाईन ब्यवस्थापनमा वडाबाट भएको खर्च भुक्तानी नहँुदासम्म गाउँसभामा भाग नलिने उनिहरुको भित्रि अडान रहेको बुझिएको छ ।
वडा अध्यक्षहरुले गरेको बहिष्कारका बीच नै मर्चवारी गाउँपालिका अध्यक्ष केशवनन्द बनियाले नीति तथा कार्यक्रम र बजेट पेश गरेका थिए । बजेटबारे कुरा नमिल्दा मर्चवारकै कोटहीमाई गाउँपालिकाले जिल्ला सदरमुकाम भैरहवाको होटल पौवामा आफ्नो गाउँसभा कार्यक्रम सम्पन्न गरेको छ । केही स्थानीय जनप्रतिनिधिले गाउँपालिकामा सभा गर्न नदिन गाउँपालिकामा नै तालाबन्दी गरिए पछि भैरहवाको होटलमा गाउँसभा सम्पन्न गरिएको छ । तर, कोटहीमाई गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत दिनेश कुमार गौडले गाउँपालिका निर्माणाधिन अवश्थामा रहेको र त्यहा सामाजिक दूरी पालन गरि कार्यक्रम गर्ने स्थल नरहेको हुदा जिल्ला सदरमुकाममा कार्यक्रम गर्नु परेको बताए ।
कोटहीमाई गाउँपालिकाले ४४ करोड ३४ लाख १२ हजार ५ सय बराबरको बजेट सार्वजनिक गरेको छ । बजेट र निति तथा कार्यक्रम सार्वजनिक गर्दै गाउँपालिका अध्यक्ष चन्द्रभुषण यादवले ‘शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधार, समृद्ध कोटहीमाईको मूल आधार’ भन्ने नारा लिएको बताए । यस बाहेक जिल्लाका अन्य स्थानीय तहहरुमा निर्धारित समय भित्र नै नीति तथा कार्यक्रम र बजेट पेश भएको छ । १६ वटा स्थानीय तह रहेको रुपन्देहीमा १ वटा उपमहानगपालिका, ५ वटा नगरपालिका र १० वटा गाउँपालिका रहेका छन् ।
प्रतिक्रिया