गुल्मी । २०७१ साल मंसिर १५ गते गुल्मीको रिडीमा तिनमुखे पुलको शिलान्यास गर्न खनिएको खाडल केहि वर्षसम्म खाडल मै सिमिति रह्यो । पछि त त्यही खाडलको समेत नामोनिशाना हरायो । उक्त पुलको नेपाल सरकारका तत्कालिन मुख्य सचिव लिलामणी पौड्याल र तत्कालिन गुल्मी क्षेत्र नम्बर २ का सांसद चन्द्र भण्डारीले संयुक्त रुपमा शिलान्यास गरेका थिए ।
‘खेत हुनु कहाँ छ,कहाँ हत्तपत्त खले गरो’ भन्ने नेपाली उखान जस्तै हतार–हतार शिलान्यास गरिएको उक्त पुल कस्तो बन्ने, बनाउने ? भन्ने कुराको अत्तोपत्तो थिएन। अर्थात् तिनमुखे पुलको डिजाइन नै गरिएको थिएन । निर्माण कम्पनीका अनुसार पुल शिलान्यास भएको डेढ वर्षपछि बल्ल पुलको डिजाईनिङ्ग भएको थियो । तर, शिलान्यास समारोहमा तत्कालिन सांसद चन्द्र भण्डारीले उक्त पुल दुई वर्ष मै सम्पन्न गरिने उद्घोष गरेका थिए । तर, त्यस अवधीसम्म अलपत्र बन्यो।
अहिले भने उक्त पुल निर्माण कार्य झण्डै अन्तिम चरणमा पुगेको छ । त्यसैले होला यति बेला सामाजिक सञ्जालमा तिनमुखे पुल निर्माणको जस लिन खोज्नेहरुको भ्याई–नभ्याई छ । त्यस्ताहरुलाई यस्तो प्रश्न गर्न मन लाग्छ कि – शिलान्यास गरेको ३ वर्षसम्म उक्त पुल निर्माण कार्य अलपत्र पर्दा त्यसको अपजसको जिम्मा कसैले लिएका थिए ?
प्रत्यक्षदर्शीको पत्यार नलागे ३–४ वर्षसम्म अलपत्र पुलको लिखित प्रमाण साँछी छ । जबकी तिन मुखे पुल निर्माण कार्य अलपत्र परेपछि २०७२ साल चैत्र १२ मा कान्तिपुर दैनिक र २०७४ पुष २० गते गोरखापत्र दैनिकमा त्यस पुलको निर्माण कार्यलाइ ‘तिब्रता दिन निर्माण ब्यवसायीलाई ताकेता गरेको सूचना समेत प्रकाशित गर्नु परेको थियो । २०७१ साल मंसिर १० गतेका दिन तीन वर्ष भित्र सम्पन्न गर्ने सम्झौता भएको उक्त पुल अन्ततः तीन वर्ष भित्रमा सम्पन्न गर्न नसकिने भएपछि २०७७ जेठ २० गतेसम्मका लागि म्याद थपिएको थियो ।
अलपत्र पुल निर्माण कार्यलाई तिब्रता दिने खास मान्छे चाँही बोलेकै छैन । हेक्का राखौं कसरी त्यो पुल सहित पछिल्लो चरण गुल्मीमा कति वटा पुल निर्माण भएर हुने चरणमा छन् ? नेपाल सरकारको १४ करोड ३६ लाख १२ हजार ५ सय ३३ रुपैयाँ ६८ पैसा लागतको उक्त पुल भ्याट कटाएर ९ करोड २६ लाख ३ सय ३२ रुपैयाँ खर्चमा सम्पन्न हुँदै छ ।
निर्माण कार्यको जिम्मा पाएको नयाँ बाटो रविना मना जेभी कन्ट्रक्सनका इञ्जिनियर महेन्द्र अधिकारीका अनुसार त्यस पुलको डिजाइनिङ्ग गर्न मात्रै डेढ वर्ष लागेको थियो । उनले त्यो पुल नेपालमा मात्रै नभएर दक्षिण एशिया मै नमुना पुल रहेको दाबी गरे । उनले स्याङ्गजा , पाल्पा र गुल्मी तिनैतिर पिलर उठाई लुठा तान्ने काम भइसकेको , नदिको सतहबाट २७ मिटर उचाईमा भ्यू टावर बन्ने , रातको समयमा झकिझकाउ बत्ति बल्ने तिनमुखे पुल हेर्नकै लागि पनि मानिसहरु रिडी आउने गरि निर्माण कार्य भइरहेको बताए । ‘यसै असार महिना मै सक्ने लक्ष्य थियो । तर, लकडाउन सुरु भयो त्यस कारणले यस अवधीमा सम्पन्न गर्न सएिन , अब एक महिना मात्रै काम गरियो भने सकिन्छ । साउन भित्रमा सम्पन्न गरिने छ ’– इञ्जिनियर अधिकारीले ग्लाेवल आवाजसंग भने ।
को हुन तिनमुखे पुलका रचयिता ?
निसन्देहः गुल्मीका केहि गौरवका योजनाहरुमा नेपाल सरकारका तत्कालिन मुख्य सचिव लिलामणी पौड्याल , अर्का गुल्मेली तत्कालिन राष्ट्रिय योजना आयोगका सदस्य सचिव युवराज भुसाल लगायतका केहि उच्च पदस्थ अधिकारी दाहिने हात बनेका थिए । चाहे त्यो कालिगण्डकी कोरिडोर होस् , चाहे सालझण्डी पटौती खज्र्याङ्ग तम्घास दु्रत मार्ग होस् , चाहे बलेटक्सारको भण्डारेडाँडामा नेपाल कै पहिलो कफी अनुसन्धान केन्द्र स्थापना गर्ने कुरा होस् यस्ता थुप्रै ठूला योजनाहरुमा प्रमुख पात्र यी दुई जना बनेका थिए र अझै गुल्मीको विकासमा उनिहरु सक्रिय छन् ।
नेकपा माओवादी केन्द्रका नेता बुद्धि जिसीले विगतको स्मरण गर्दै भने–‘ गुल्मीका तत्कालिन सिडियो कविन्द्र नेपाल र म राष्ट्रिय योजना आयोगका तत्कालिन सदस्य सचिव युवराज भुसालको कार्यकक्षमा पुग्दा तिनमुखे पुलको उहाँले (भुसालले ) ब्रिफिङ्ग गर्नु भएको थियो । उहाँहरु सहित जिल्लाबाट फाईल पठाउने र केन्द्रलाई घचघचाउने कार्यमा अर्का गुल्मेली अर्थात साविक जिल्ला विकास समितिका एलडियो हरिप्रसाद ज्ञवालीको पनि तीनमुखे पुल निर्माणमा योगदान छ ।’
यद्यपी गुल्मीका नेताहरुले केहि गरेका छैनन् र होइनन् भन्न खोजिएको होईन् । उनीहरुको पनि कतै न कतै भूमिका अवश्य छ । जनप्रतिनिधि भई सकेपछि उनिहरुको जिम्मेवारी पनि हो । तर,कतिपय नेताका कार्यकर्ताहरुले लाजै नमानी राजनीतिक फाइदा लिने मनशायका साथ मेरै नेताले गरेको हो भन्ने जिकिरका साथ फेसबुकबाजी गरिरहेका छन् । रचयिता खास मान्छे पौड्याल र सम्बन्धित अन्य मान्छे भने बोलेकै छैनन्।
कहाँबाट आयो तीनमुखे पुलको कन्सेप्ट ?
तीनमुखे पुलका मुख्य रचियता नेपाल सरकारका तत्कालिन मुख्य सचिव लिलामणी पौड्यालसँग कसरी आयो रिडीमा तिनमुखे पुलको कन्सेप्ट भन्ने प्रश्नमा उनले भने–‘त्यो एउटा यातायातको साधन पनि होस् र पर्यटकिय गन्तब्य पनि बनोस् भन्ने खोजीका क्रममा त्यो कन्सेप्ट ल्याइएको हो । म महाकाली स्थित चाँदनी दुधधारामा रहेको नेपाल कै सबैभन्दा लामो पुल हेर्न पुगेको थिएँ । जुन पुल यातायातको साधनका रुपमा बनाइएको थियो । तर, त्यो यातायातको साधन मात्रै बनेन पर्यटकीय गन्तब्य पनि बन्यो । त्यस कारणले रिडीमा पनि तिन जिल्लाको भावना जोड्ने र यातायातको साधनसँगै पर्यटकिय गन्तब्य पनि बनोस् भन्नका लागि सुरु गरिएको हो ।’
मुख्य सचिवबाट अवकास लिएपछि चीनको राजदुत भएर गएका र गत वर्ष त्यहाँबाट फर्किएका पौड्यालसँग तपाईले शिलान्यास गरेको बर्षऔं पछि बल्ल सम्पन्न हुने चरणमा छ नि ? भन्ने प्रश्न गर्दा उनले भने –‘ म चिनमा पुगेर पनि त्यस पुल निर्माणको कामलाई पछ्याएको थिएँ र गत बर्ष फर्केर आए पछिपनि अहिलेसम्म पछ्याईनै रहेको छु ।
चीनमा छँदा ग्रामिण विकास पूर्वाधार विभागका पदाधिकारी र महानिर्देशकसँग त्यो पुल निर्माणमा किन ढिलाई भयो भनेर सोधखोज गरिरहन्थे । ठेकेदारकै कारणले ढिलाई भएको हो भने त्यो ठेक्का रद्द गरेर अर्कोलाई जिम्मा दिनुस् भनेको थिए । होइन सर अब छिट्टै हुन्छ भन्दै हुनुहुन्थ्यो । लाष्ट ईअर म फर्केपछि अब धेरै ढिलो गर्न हुँदैन है भन्दै आएको छु र अहिलेसम्म पछ्याई नै रहेको छु ।’
उनको कार्यकालमा रिडीमै वृद्धा आश्रम निर्माण भएको थियो । किरियापुत्रीको लागि काजकिरिया गर्ने घर बनाइयो । युवाहरुलाई लक्षित गरि कभर्डहल बन्यो । ऋषिकेश मन्दिर क्षेत्रको जिर्णोद्दार गरियो । रुरु कन्याका पौराणिक कथा झल्किने गरि देवदत्त पार्क पनि उनैको कार्यकालमा निर्माण भएको थियो । नेपालीमा अर्को एउटा उखान छ –‘गर्ने–पर्ने हनुमान काज पाउने गुना ।’ ठिक त्यस्तै केहि गर्नेहरु ओझेलमा छन् । प्रचार प्रसारको सहाराबाट जस लिनेहरु चर्चामा छन् ।
प्रतिक्रिया