ताजा अपडेट »

ठूलो पानी नपर्ने ,सतर्कता आवश्यक

बुधबार, ०१ साउन २०७६

साउन १,

काठमाडौं। अविरल वर्षा गराउने मनसुनी न्यून चापिय रेखा आजदेखि नेपालबाट हटेकाले वर्षा कम हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार उक्त रेखा बिस्तारै दक्षिणतर्फ सर्दै आजदेखि भारत प्रवेश गरेकाले अब वर्षा कम हुनेछ । मौसमविद् विभूति पोखरेलले पूरै वर्षा भने नरोकिएको जानकारी दिए । न्यून चापीय रेखा अहिले भारतको उत्तर प्रदेशतिर रहेको मौसमविद् पोखरेलको भनाइ छ । तर त्यो रेखा तलमाथि सरिरहने भएकाले पुनः नेपाल आउने सम्भावना पनि छ ।

वर्षा कम भएपनि पहिलेकै वर्षाले जमिन गलिसकेकाले थोरै वर्षाले पनि बाढीपहिरो जाने सम्भावना रहने भएकाले सतर्कता अपनाउनुपर्ने उनले बताए । महाशाखाका अनुसार आज देशको पूर्वी भेगमा सामान्य बदली छ भने मध्य र पश्चिमी भेगमा आंशिकदेखि सामान्यसम्म बदली हुनेछ । आज पनि देशका केही स्थानमा वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।