ताजा अपडेट »

गुरु पूर्णिमाको अवसरमा आश्रममा समागम कार्यक्रम

मंगलबार, ३१ असार २०७६


गुरुपूर्णिमाले सबै जात–जातीमा सम्मान र सद्भाव बढाउँछ : सभामुख घर्ती


असार ३१,

ग्लोबल आवाज
बुटवल । गुरु पूर्णिमाको अवसरमा नेपाल मानव धर्म सेवा समिति अन्र्तगतश्री हंसयोग आश्रम बुटवलको आयोजनामा आध्यात्मिक समागम कार्यक्रम सम्पन्न भएको छ । बिहान ७ बजेदेखि सुरु भएको कार्यक्रम ५ बजेसम्म चलेको थियो । कार्यक्रम आश्रमकी प्रमुख महात्मा चाँदना बाईजीको अध्यक्षता, प्रदेश ५ का प्रदेश सभामुख पूर्ण बहादुर घर्तिको प्रमुख आतिथ्यता र आश्रम समितिका अध्यक्ष चेतनारायण गौतमको स्वागत मन्तव्यमा भएको थियो ।

सो अवसरमा बोल्दै प्रमुख अतिथि सभामुख घर्तिले गुरुपूर्णिमाले गुरुप्रति सम्मानसँगै सबै जात–जातीमा समान व्यवहार र सद्भाव बढाउने बताए । उनले भने ‘विद्यालय पढाउनेदेखि सिकाउने सबै गुुरु हुन् । गुरु–शिष्यको सम्बन्ध अटुट र अमुुल्य हुन्छ । गुरुहरुलाई सम्मान प्रकट गर्ने यस दिनले सबै जात–जातीमा पनि समान सद्भाव राख्न मद्दत गर्दछ ।’


गुरु पूर्णिमालाई विशेष दिनका रुपमा मनाउन भन्दै आश्रमले बिहानैदेखि लक्ष्यवती बत्ती प्रज्वलन तथा हवनपुजा गरी विधिवत रुपमा कार्यक्रम सुरु गरेको थियो । कार्यक्रम अन्तर्गत प्रवचन,भजन तथा बालकलाकारद्वारा नृत्य प्रर्दशन लगाएतका गतिविधिहरु रहेका थिए । त्यसैगरी गुरुप्रति सम्मान दर्शाउँदै भक्तजनद्वारा गुरुहरुलाई वस्त्रदान समेत गरेका थिए ।

पूर्णिमाकै अवसरमा आश्रम अन्तर्गतको युवा समूूहले ‘मिशन एजुकेशन’ मार्फत अनाथ,असहाय तथा गरिब बालबालिकाका लागि कापी संकलन कार्यक्रम गरेको मिशन एजुकेशनका संयोजक दिपक पंगेनीले बताए । कार्यक्रममा करिब २ हजार कापी संकलन भएको र त्यति संख्यामा थप गरी लक्षित विद्यार्थीलाई वितरण गरिने सह–संयोजक शित्तल गौतमले बताइन् । कार्यक्रमको सञ्चालन शिवराज गौतमले गरेका थिए ।