ताजा अपडेट »

बोलबमधाममा एकमहिने श्रावणी मेला सुरु हुँदै

मंगलबार, ३१ असार २०७६

५ लाख भक्तजनद्वारा जलार्पण गर्ने लक्ष्य

असार ३१,
ग्लोबल आवाज
बुटवल । आजदेखि रुपन्देहीको सैनामैना स्थित बोलबमधाममा एक महिने जलार्पण कार्यक्रम सुरु हुँदैछ । स्वयम् उत्पत्तिमान श्री पर्रोहा परमेश्वर बोलबमधाममा हरेक वर्ष जस्तै यस वर्षपनि एक महिने बोलबम शुरु हुँदैछ । हरेक वर्ष गुरुपूर्णिमाका दिनदेखि जनैपूर्णिमासम्म एक महिना लाग्ने बोलबम जलार्पण तथा यात्रा कार्यक्रमको औपचारिक उद्घाटन प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले गर्ने कार्यक्रम रहेको धामले जनाएको छ ।


धामले सोमबार पत्रकार सम्मेलन गरी यस वर्षको श्रावणी मेलाको सम्पूर्ण तयारी भएको जानकारी गराएको हो । धामका अध्यक्ष रामवली चौधरीले विगतका वर्षहरुमा जस्तै यस वर्षपनि धामले सोमबारदेखि श्रावणी मेलाको सुरुवात गर्ने बताउँदै सफल बनाउन सबैमा आग्रह गरे । त्यसैगरी उनले यस वर्ष ५ लाख श्रद्धालु भक्तजनलाई धाममा जलार्पण गर्ने लक्ष्य राखिएको बताए ।

कार्यक्रममा धामका सल्लाहकार रामप्रसाद अधिकारीले धामको धार्मिक महत्वका बारेमा प्रकाश पार्दै थप विकास र प्रचार–प्रसार हुनुपर्नेमा जोड दिए । उनले भने ‘स्वयम् उत्पत्तिमान धार्मिक तथा ऐतिहासिक महत्वको यस धामको अतुलनिय महत्व रहेको छ । यसको विकास र प्रचारप्रसारमा सबै एकजुट हुन आवश्यक छ ।’ त्यसैगरी धामका महासचिव प्रेमलाल भुसालले यस वर्षको श्रावणी मेलाको लागि विगतका कमी कमजोरीहरुलाई सुधारेर थप व्यवस्थित बनाउँदै योजना बनाइएको बताए । श्रावणी मेलाको अवसरमा धामले हरेक वर्ष विभिन्न यात्राहरु पनि आयोजना गर्नै आएको छ । यस वर्षपनि निरन्तरता दिँदै पहिलो यात्रा मंगलबार कपिलबस्तु स्थित लक्ष्मणघाटबाट हुने अध्यक्ष चौधरीले बताए ।


२ दशक अघिदेखि सुरु भएको बोलबम जलार्पण क्रममा स्वदेशका सबै जिल्लाहरुबाट बाग्मती,त्रिवेणी,गण्डकी,रिडी,जलेश्वर,नारायणी लगाएत विभिन्न नदी तथा घाटबाट जल ल्याई बोलबमधाममा अर्पण गर्न हजारौं संख्यामा श्रद्धालु भक्तजनहरु आउने गर्दछन् भने छिमेकी राष्ट्र भारत लगाएत अन्य देशहरुबाट आउने गर्दछन् । प्रदेश ५ को राजधानी बुटवलबाट ११ किलोमिटर पश्चिम रानीबगिया र रानीबगियाबाट २ कि.मि.दक्षिणमा अवस्थित यो धाम धार्मिक आस्थाको केन्द्रबिन्दु हो ।


यसलाई पश्चिमको पशुपति पनि भन्ने गरिन्छ । एक महिना चल्ने बोलबममा हेँलो तथा गेरु वस्त्र पहिरेर विभिन्न नदि,घाट तथा घरबाट पैदलयात्राद्वारा जल ल्याई जलार्पण गर्ने परम्परा रहेको छ । खाली खुट्टा बोलबम ! बोलबम !! बोलबम !! उच्चारण गर्दै जलार्पण गरे पाप क्षमा हुने र अनन्य पुण्य कमाइने विश्वास छ ।