ताजा अपडेट »

शिक्षक–कर्मचारीलाई खोप उपलब्ध गराउन प्याब्सन रुपन्देहीको माग

सोमबार, ०७ असार २०७८

बुटवल। निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) रुपन्देहीले आफ्ना शिक्षक–कर्मचारीहरुलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउन भन्दै जिल्लाका सबै पालिकाहरुमा ध्यानाकर्षण पत्र बुझाएको छ । शिक्षकहरु विद्यार्थीको प्रत्यक्ष सम्पर्कमा रहनुपर्ने भएकोले सबै शिक्षक–कर्मचारीहरुलाई यथाशीघ्र खोपको व्यवस्था गर्न पालिकाहरुमार्फत सरकारसँग माग गरेको हो ।आफ्ना पालिकास्तरीय कमिटीहरुमार्फत जिल्लाका १६ वटै पालिकाहरुमा असार ६ र ७ गते बुझाइएको ध्यानाकर्षण पत्रमा कुनै विद्यार्थी एउटा विद्यालयबाट अर्को विद्यालयमा स्थानान्तर हुँदा मार्कसिट र स्थानान्तरण प्रमाणपत्र अनिवार्यरुपमा लिनुपर्ने व्यवस्था लागू गर्नसमेत माग गरिएको छ ।

यसैगरी सम्पूर्ण गाउँपालिका भरि फ्रि–इन्टरनेट जोन बनाई अनलाइन पठनपाठन हुने वातावरण बनाउन, सेनेटरी प्याड, सेनेटाइजर, माक्स आदि सामग्री उपलब्ध गराउँदा संस्थागत र सामुदायिक विद्यालयमा विभेद नगर्न, संंस्थागत विद्यालयमा अध्यापन गर्ने शिक्षक–कर्मचारीहरुका लागि पनि वृत्ति विकासका लागि उपलब्ध गराइने तालिमको लागि बजेट विनियोजन गर्नुपर्ने लगायतका ७ बुँदे माग राखिएका छन् ।

यसअघि सोही माग लिएर प्याब्सन रुपन्देहीले जिल्ला शिक्षा विकास तथा समन्वय इकाईमा असार ६ गते ध्यानाकर्षण पत्र बुझाइएको थियो । प्याब्सन केन्द्रिय उपाध्यक्ष विष्णु पन्थी, जिल्ला अध्यक्ष लेखनाथ पौडेल, सचिव लक्ष्मण ज्ञवालीलगायतका पधाधिकारीहरुको टोलीले समन्वय इकाईका प्रमुख दीपेन्द्र ढकालसमक्ष ध्यानाकर्षण पत्र बुझाएको हो । ध्यानाकर्षण पत्र ग्रहण गर्दै समन्वय इकार्य प्रमुख दीपेन्द्र ढकालले प्याब्सनका मागप्रति आफू सकारात्मक रहेको भन्दै उपयुक्त माग पूरा गर्न तत्काल पालिका स्तरीय शाखामा पत्राचार गरिने बताए ।