भैरहवा । यस बर्ष समयमै मनसुन भित्रिएको छ । झरिसंगै तराईका खेतहरु मलिला भएका छन् । समयमै मल र बिउ विजन पाएका किसान पनि यस पटक समयमै रोपाई गर्न पाईनेमा हर्षित छन् । तराईमा बिकासे काममा असारे चटारो भैराख्दा अहिले किसानलाई खेतीकै चटारो लागेको छ । पौरखी हातहरू ब्याडमा रहेका धानका बिउँ छिमल्न व्यस्त छन् । यही त हो समय जहाँ माना रोपेर मुरी फलाउनु पर्छ । माना रोपेर मुरी फलाउन पौरखी हातहरू अहिले सक्रिय भएका छन् ।
यिनै मध्येका हुन तिलोत्तमा नगरपालिका वडा नम्बर १३ सेमरीका किसानहरु । केही समय पहिला रकम दिएर पनि खेतमा काम गर्नेहरु पाउन धौ धौ हुने गरेको थियो । गाउँका काम गर्ने युवायुवती अधिकांश बैदेशिक रोजगार गएको कारण जसोतसो खेतहरु रोपाइ हुने गरेको थियो । तर अहिले सेमरी गाउँको अवश्था फेरिएको छ । ४ बर्ष अघि स्थापना भएको थारु जागृति आमा समूहले सामूहिक रुपमै रोपाई सुरु गरे पछि अहिले काम गराउने किसान मात्र नभई काम गर्ने आमा समूहका सदस्यहरु पनि सन्तृष्ट देखिन्छन् ।
४ बर्ष अघि दैनिक ज्यालादारीमा काम गर्ने थारु महिलाहरु अहिले प्रति घण्टाको दरले रोपाई गर्ने गरेका छन् । समूहमा आवद्ध करिब ३५ जना थारु महिला मध्ये २० जनाको समूहले सामूहिक रोपाई गर्ने गरेको छ । बिउ काढेर र खेत जोतेर तयार पारेका किसानहरुको खेतमा यो टोली पसे पछि १ घण्टामै १ बिगहा जति खेत रोपिने गरेको किसानहरु बताउछन् ।
थारु जागृति आमा समूहको कारण बिगत ४ बर्ष देखी खेतीपाती धेरै सहज भएको स्थानिय कृषक गोविन्द प्रसाद उपाध्याय बताउछन् । रोपाइको बेलामा मानिस नै नपाइृने अवश्था भएको अवश्थामा यो टोलीले रोपाई सहज बनाई दिएको उनको भनाई छ ।
थारु जागृति आमा समूहका महिलाहरु समूहमा आवद्ध सदस्यको रोपाई गर्दा प्रतिघण्टा १ सय र समूह बाहिर रोपाई गर्दा प्रतिघण्टा १ सय ५० रुपैयाका दरले शुल्क तोकेका छन् । यसरी रोपाईबाट आउने शुल्क एकमुष्ठ जम्मा गर्ने र पछि केही रकम समूहमै जम्मा गरि बाँकी रकम रोपाइमा सहभागी महिलाहरुलाई प्रदान गर्ने गरिएको छ ।
सामूहिक रोपाईले पहिलेको काम भन्दा अहिले सहज भएको समूहकी रोपाई कार्यक्रम संयोजक लाल कुमार थारुको भनाई छ । पहिला दिन भरि काम गर्नु पर्ने हुन्थ्यो भने अहिले केही घण्टामै रोपाइ सकिने भएकोले प्रयाप्त आराम गर्ने समय पनि पाईने गरेको उनको भनाई छ । साहुलाई पनि खेताला खोज्ने, खाजा खुवाउने लगायतका झण्झटबाट मुक्ति मिलेको उनको भनाई छ । साझ समूहका महिलाहरु मिलेर कहा रोपाई गर्न जाने भन्ने बिषयमा निर्णय गरेर मात्र बिहान रोपाई गर्न जाने गरेको थारुको भनाई छ ।
थारु जागृति आमा समूहको यो कामबाट सेमरी मात्र हैन त्यस वरपरका किसानहरुलाई पनि सहज भएको छ । भनेको समयमा रोपाई गर्न पाउदा समय र रकमको समेत बचत हुने गरेको उनिहरुको प्रतिक्रिया रहेको छ ।
थारु परम्परागत पहिरनमा हिलै हिलो भएको खेतमा यो टोली रोपाई गर्ने गरेको छ । यति मात्र हैन असारे भाकामा पराम्परागत गीत गाउदै रोपाई गरि रहेको यो समूहले आफ्नो संस्कृति पनि जोगाउने प्रयास गरेको छ ।
सामुहिक रुपमा अन्त पनि काम गरेको देखेर यसरी काम गर्ने उत्प्रेरणा पाईएको थारु जागृति आमा समूहकी अध्यक्ष सोना कुमारी चौधरीको भनाई छ । स्थानिय किसानको समस्या समाधान हुने, आय आर्जन हुने र संस्कृतिको पनि जगेर्ना हुने भए पछि ४ बर्ष देखी निरन्तर यो काम गरिरहेको चौधरीको भनाई छ ।
कोही खेतमा ट्रयाक्टरले खेत जोत्दै छन्, कोही मल छर्दै छन् । ब्याडबाट धानको विउ उखैलेर खेतमा पु¥याउन कोहीलाई भ्याई नभई छ । रोपाईको असारे गीत गाउँदैं यो समूह धान रोपाईंमा व्यस्त हुदा सामूहिक काम गरे जुन सुकै कामलाई पनि सजिलै पार गर्न सकिने सन्देश प्रवाह भएको छ ।
प्रतिक्रिया