असार २५,
बुटवल । गोष्ठि र सेमिनारका नाउमा राज्यको ठुलो धनराशी खर्च गर्ने परिपाटी अन्त्य गर्नुपर्ने प्रदेश ५ का प्रदेश सभा सदस्यले जोड दिएका छन् । आईतबार बसेको प्रदेशसभा बैठकमा बिशेष समय लिएर बोल्दै प्रदेशसभा सदस्य तुलाराम घर्ती मगरले प्रदेश सरकारले असार महिनाको १५ दिनको अबधिमा डेढ अर्ब बढि रकम गोष्ठि र सेमिनारका नाउमा खर्चभएको दाबी गरे ।
उनले गोष्ठि र सेमिनारका नाउमा एक अर्ब ५५ करोड खर्च गरिएको बताए । समयमै ठेक्का लागेका योजनाहरुको काम समेत ठेकेदारहरुले असार महिनामा आएर मात्रै शुरु गर्ने पुरानो परम्पराका कारण योजनाहरु गुणस्तरीय नहुने र राज्यलाई घाटा लाग्ने गरेको भन्दै सत्ता पक्ष नेकपाकै प्रदेशसभा सदस्य घर्तीले प्रदेश सरकारले असारे बिकासको परिपाटी अन्त्य गर्ने तर्फ कदम चाल्न माग गरे ।
सिद्धार्थ राजमार्गको बैकल्पीक सडक खण्ड बुटवलको धागो कारखाना चरङ्गे हुँदै झुम्सा चौकी भन्ज्याङ्ग सडकको काम सुस्त गतिमा भएको भन्दै प्रदेशसभा सदस्य घर्तीले जेठ महिना भित्रै काम सम्पन्न गर्ने व्यवस्था मिलाउन र समयमा काम नगर्ने ठेकेदारलाई कारबाही गर्ने व्यवस्था गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराए । प्रदेशसभाको अर्को बैठक यही असार ३१ गते दिउसो १ बजे बस्नेगरी स्थगित भएको छ ।
प्रतिक्रिया