ताजा अपडेट »

अविरल वर्षाका कारण कम्तीमा ५० जनाको मृत्यु

आइतबार, २९ असार २०७६

असार २९,
काठमाण्डौं । अविरल वर्षाको कारण शुक्रबारदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी आइतबार दिउँसोसम्म ५० जनाको मृत्यु भएको छ । उक्त बाढी पहिरोमा परी काठमाडौंमा तीन जना, ललितपुरमा र भोजपुरमा पाँच/पाँच जना, ओखलढुङ्गामा चार जना, मकवानपुर, खोटाङ, काभ्रे र सिन्धुलीमा तीन/तीन जना, धादिङ, झापा, बारा, धनुषा र डोल्पामा दुई/दुई जना को मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ

यस्तै ईलाम, उदयपुर, सुनसरी, पर्सा, रौतहट, महोत्तरी, सिराहा, रामेछाप, चितवन, पाल्पा र दाङमा एक/एक जना गरी जम्मा ५० जनाको मृत्यु भएको हो । मृत्यु हुनेमध्ये २२ जना महिला २८ जना पुरुष रहेका छन् ।


एक हजार १०४ को उद्धार
बाढी पहिरोमा परेका काठमाडौंमा १८५ जना, ललितपुरमा आठ , उदयपुर १० , रौतहटमा दुई सय, महोत्तरीमा पाँच सय, सिराहामा दुई , सर्लाहीमा एक सय जना, सप्तरीमा २५ जनालाई उद्धार गरी सुरक्षित स्थानमा पु¥याइएको छ । यस्तै सिन्धुलीमा ७० तथा भक्तपुर, सुनसरी, मकवानपुर र खोटाङमा एक/एक जना गरी जम्मा एक हजार १०४ जनाको सकुशल उद्दार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।


३५ जना वेपत्ता
बाढी पहिरोमा परी डोल्पामा ११ जना, सिन्धुलीमा छ जना, ईलाम र मोरङमा तीन÷तीन जना तथा काठमाडौं, ललितपुर, पाँचथर, झापा, उदयपुर, सुनसरी, पर्सा, महोत्तरी, रौतहट, सिराहा, धनुषा, र धादिङमा एक÷एक जना गरी ३५ जना वेपत्ता भएका छन् । वेपत्ताको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

२५ घाइते
यस्तै मकवानपुरमा चार जना, ललितपुर र धनकुटामा तीन/तीन जना, भोजपुर, सुनसरी, काभ्रे र सिन्धुलीमा दुई/दुई जना तथा काठमाडौं, भक्तपुर, खोटाङ, रामेछाप, धादिङ, दोलखा र चितवन एक/एक जना गरी जम्मा २५ जना घाइते भएका छन् । घाइतेमध्ये १० महिला र १५ पुरुष रहेका छन् । घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको प्रहरीले जनाएको छ ।
वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुवानबाट प्रभावित स्थानहरूमा भएको क्षति न्यूनीकरण र उद्दारमा सम्बन्धित प्रदेशका प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब महानिरीक्षक लगायतका प्रहरी कर्मचारी उद्धारमा सक्रिय रुपमा संलग्न रहेका छन् ।

गृह मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रकी शाखा अधिकृत रमा घिमिरेका अनुसार विभिन्न जिल्लामा अहिलेसम्म बाढी र पहिरोका कारण झन्डै ३० जना बेपत्ता भएकाले मृतकको सङ्ख्या बढ्न सक्ने सम्भावना रहेको छ। तराईका विभिन्न जिल्ला डुबानमा परेका छन् भने पानीको बहाव उच्च भएकाले कोशी ब्यारेजका सबै ५६ वटा ढोका खोलिएका छन्।

बाढी, पहिरो र डुबानबाट प्रभावित स्थानमा क्षति न्यूनीकरण र उद्धारका लागि सुरक्षाकर्मी खटाइएको अधिकारीहरूले बताएका छन्। नेपाल प्रहरीका अनुसार ११ सयभन्दा बढी व्यक्तिको उद्धार गरिएको छ। प्रहरीबाट प्राप्त विवरणका अनुसार काठमाण्डू उपत्यकाको ललितपुरमा पाँच र काठमाण्डूमा तीन जनाको गरी कुल आठ जनाको ज्यान गएको छ भने पूर्वी नेपालको भोजपुर जिल्लामा पाँच जनाको मृत्यु भएको छ।

त्यसैगरी ओखलढुङ्गामा चार; खोटाङ, काभ्रे, सिन्धुली र मकवानपुरमा तीन‍-तीन; झापा, बारा, धनुषा, धादिङ र डोल्पामा दुई-दुई तथा इलाम, उदयपुर, सुनसरी, पर्सा, रौतहट, महोत्तरी, सिराहा, चितवन, पाल्पा र दाङमा एक-‍एक जनाको मृत्यु भएको छ। वर्षाका कारण घर, गोठ वा पर्खाल भत्किएर, पहिरोले घर बगाएर, खोलामा डुबेर र बाढीले बगाएर मानवीय क्षति भएको बताइएको छ । प्रहरीका अनुसार सुनसरीमा माछा मार्न गएको अवस्थामा बगाई मृत्यु भएको एक जना र उदयपुरमा खोलाले बगाएर ल्याएको एउटा शवसमेत समावेश गर्दा मृत्यु हुनेको सङ्ख्या ५० पुगेको छ। डोल्पामा सात जना, सिन्धुलीमा पाँच तथा मोरङ र इलाम तीन‍-तीन जना हराइरहेका छन्।