असार २९,
काठमाडौं । नेपालमा वि.स. २०७२ वैशाख १२ र २९ गते गएको विनाशकारी भूकम्पपछि भूकम्प पीडितका नाममा सहयोग स्वरुप उठेको रकम दुरुपयोग भएको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी दर्ता गरिएको छ । भूकम्प पीडितको नाममा उठेको रकम व्यक्तिगत खर्चमा प्रयोग गरिएको भन्दै ललितपुर निबासी नबीन श्रेष्ठले काठमाडौं जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका हुन् ।
श्रेष्ठले काठमाडौंस्थित ‘सोसाइटी अफ एक्स बूढानीलकण्ठ स्टुडेन्ट्स (सेब्स) र अमेरिकामा दर्ता भएको सेब्स नर्थ अमेरिकाविरुद्ध उजुरी दिएका छन् । बूढानीलकण्ठ स्कुलमा पढेका तीन हजारभन्दा बढी पूर्व विद्यार्थी सेब्समा आवद्ध छन् । उजुरी दिने श्रेष्ठ समेत यो संस्थाका सदस्य हुन् ।‘भूकम्प पीडितका नाममा अमेरिकामा नियमविपरीत नेपाली र अमेरिकी नागरिकले रकम उठाई आफ्नो व्यक्तिगत खर्च एवं नेपाल पठाई सो रकम हिनामिना गरेकोले आवश्यक छानबिन गरी कानुनी कारबाही गरीपाऊँ’, श्रेष्ठको उजुरीमा लेखिएको छ ।
भूकम्पलगत्तै सेब्स नर्थ अमेरिकाले भूकम्प पीडितलाई सहयोग गर्न भन्दै विभिन्न व्यक्ति तथा संस्थाबाट ४ लाख ६८ हजार ५ सय ६८ अमेरिकी डलर (करिब ५ करोड रुपैयाँ) संकलन गरेको थियो ।सेब्स नर्थ अमेरिकाका तत्कालीन अध्यक्ष किरण सिटौलाको नेतृत्वमा उक्त रकम संकलन गरिएको थियो । ५ करोडमध्ये करिब साढे तीन करोड रुपैयाँ संस्थाका तत्कालीन पदाधिकारीहरुले आफूखुसी खर्च गरेको र बाँकी रकममात्र नेपाल पठाएको श्रेष्ठको दाबी छ ।
प्रतिक्रिया